७ वैशाख २०८१ शुक्रबार
विचार

राष्ट्रिय संस्कृति निर्माणमा दल

सकारात्मक संस्कृति भनेको यथास्थितिमा रहेको समग्र अस्तब्यस्तता अन्त गरी एक समुन्नत, समृद्ध र जिम्मेवार एवम् जवाफदेही समाज निर्माण गर्ने परम्परा थालनी हो। यो समग्र समाजका सदस्यको साझा प्रयासले वा भनौँ सामाजिक संघ/संगठनको प्रयासबाट मात्रै सम्भव हुन्छ। स्वाभाविकरूपमा मानिस समाजिक प्राणी हो र मानिसका सबै क्रिया/प्रतिक्रिया वा अन्तरक्रियाहरु समुदाय वा समाजसँग नै हुन्छन्। सदस्यको चेतनाले समाजको चरित्र निर्धारण गर्छ। विशेषतः समाजका दुई प्रकारका चरित्र हुन्छन्। पहिलो, स्वभावले समाज गतिशील हुने भए पनि शिक्षा र चेतनाको अभावमा यस्ता प्रकारका समाज यथास्थितिलाई निरन्तरता दिन्छन् र अन्धविश्वास, परमपरागत मान्यता दैवी शक्ति, भाग्यवाद जस्ता कुराले यस्तो समाजलाई जगडेर राखेको हुन्छ। दोस्रो, शिक्षित र वैज्ञानिक समाज जसले परिवर्तनलाई स्वीकार गरेर तद्नुरूपका सामाजिक चालचलन र नीतिनियम अवलम्बन गर्ने गर्छ।

जबसम्म सामाजिक मुद्दा राजनीतिक पार्टीका मूल एजेन्डा बन्दैनन् तबसम्म समाज रूपान्तरण हुन सक्दैन।

समाजका सदस्य जति जति शिक्षित हुन्छन् समाज त्यति नै गतिशील हुन्छ। समाज जति गतिशील हुन्छ विकास त्यति नै द्रुत गतिमा हुन्छ। जनताको चेतनाको स्तरले नै विकासको गति निर्धारण गर्छ। चेतनाको न्यूनताले मानिसले प्रविधि उपयोग गर्न सक्दैन, आधारभूत हक अधिकार उपयोग गर्न सक्दैनन्। यस्तो अवस्थामा जानेर वा नजानेर परम्परालाई निरन्तरताको विकल्प हुँदैन र जीवनभर नरकीय जीवन जीउन बाध्य हुन्छन। बडो दुःखका साथ भन्नुपर्छ, २१औँ शताब्दीको विज्ञान, सूचना तथा प्रविधिको जमाना भनिए पनि नेपाली समाज आज पनि जातीय छुवाछूत, लैंगिक विभेद, छाउपडी, दाइजो, बोक्सी जस्ता कुप्रथाबाट जेलिएको छ। बर्सेनि यस्ता कुप्रथाका कारण नरकीय घटना भइरहेका छन्। नेपाली समाजमा यस्ता समस्या अपवाद हैन, नियमित भएका छन्। जब समाजमा अवाञ्छित घटना हुन्छन् तब समाज दुई भागमा विभक्त हुन्छ। एक पीडित, अर्को पीडक। पीडितको चेतनाको स्तर कमजोर हुन्छ र सदैव पीडकबाट प्रताडित भइ नै रहेको हुन्छ। यस्तो अवस्थामा कानुन र नियमको व्यापक उल्लंघन हुन्छ।

जतिसुकै राजनीतिक परिवर्तन भए पनि पञ्चायतदेखि गणतन्त्रसम्म त्यही प्रकारका नियति नै दोहोरिइरहेका छन्। जबसम्म सबै जनताको चेतनाको स्तरमा आमूल परिवर्तन आउँदैन वा भनौँ सबै नागरिकमा भाग्यवादी सोचलाई वैज्ञानिक सोचले प्रतिस्थापन गर्दैन, तबसम्म नेपाली समाजको रूपान्तरण वा भनौँ नेपालको विकास असम्भव नै छ। विकास भनेको नेपालका भाग्य निर्माताहरु वा नीतिनिर्माताले भन्ने गरेको जस्तो भौतिक पूर्वाधार वा इमारतको निर्माणमात्रै होइन। भौतिक पूर्वाधार वा संरचना भनेको त व्यक्तिको योग्यता तथा क्षमताका उपज हुन्। नेपाल जस्तो गैरजिम्मेवार शासनसत्ता भएको देशमा जनताको चेतनाबिनाको भौतिक पूर्वाधारमा लगानी भनेको भ्रष्टाचारको अखडा निर्माण गर्नु नै हो। विगतमा बडो तामझामसहित शुरु गरिएका एकीकृत ग्रामिण विकास योजनाहरु त्यस प्रकारका चरम असफलताका उदाहरण हुन्।

प्रचुर स्रोत, साधन र सम्भावनाका बाबजुद पनि न्यून चेतनाका नागरिकको वर्चस्व भएका कारण नै देशमा आज यतिका धेरै बेराजगारी छ  भने देश भ्रष्टचारको दलदलमा छ। सार्वजनिक निकायहरुको सेवा र कार्यक्रमहरुबाट जनतामा चरम असन्तुष्टि छ भने केन्द्रदेखि स्थानीय स्तरका नेतृत्वसम्म घृणा र रोष छ। यस्तो अवस्थामा समाजमा मूल्य र मान्यता ह्रास भएर गएका छन्। जब समाजमा मूल्य र मान्यता हराएर जान्छन् तब समाज दिशाहीन हुन्छ, बेथिति बढेर जान्छ र सरकारलगायतका कुनै पनि संघ/संस्थाको प्रभाव निष्प्रभावी हुन्छ। यस्तो अवस्था सानोभन्दा साना घटनाले पनि सामाजिक द्वेष, रोष र द्वन्द्व वीजारोपण गर्छ अनि यस्तो अवस्थाले सिंगो देशलाई नै थला बनाउँछ र यिनै कारणले वर्तमानमा नेपाल थलिएको अवस्थामा छ।

यस्तो अवस्थावाट बाहिर निस्कन नेपालमा नयाँ सोच र सामाजिक संस्कृतिको आवश्यकता छ। कुनै पनि देश वा समाज २ प्रकारका सोचबाट निर्देशित हुन्छ। एक सामाजिक मूल्य/मान्यता एवं परम्परा, अर्को राजनीति नियम कानुन। नेपाल जस्तो वैज्ञानिक चेतनाको स्तर कमजोर भएको परम्परा, दैवीशक्तिमा विश्वास राख्ने व्यक्तिहरुको बाहुल्यता भएको देशमा सामाजिक मूल्य/मान्यता र चालचलनले नै समाजको गतिशीलता निर्धारण गर्छन्। अतः नेपाली समाजको आमूल रूपान्तरणको सवाल भनेको नै यहाँ सामाजिक मूल्य/मान्यता, चालचलन र विश्वासका नयाँ आधार निर्माण गरी सोहीअनुसारको जीवन र व्यवहार निर्माण गर्नु हो। सबै दिन, सबै व्यक्ति, सबै समुदाय, सबै भूगोल, सबै संस्कृति, सबै पेशा महान् र अमूल्य छन् भन्ने सोच, विश्वास, मूल्य र मान्यता निर्माण गरी ती मूल्य र मान्यतामा आधारित जीवन व्यवहार निर्माण गरेर नयाँ सामाजिक संस्कार विकास गर्न सकिन्छ। स्मरण रहोस्, पुँजीको पर्याप्तता सँगसँगै भौतिक निर्माण त सहज हुन्छ तर नयाँ संस्कृति निर्माण भनेको निरन्तर नयाँ सोच र ज्ञानको अभ्यासबाट मात्रै सम्भव हुन्छ।

अब हामीले गम्भीररूपमा समिक्षा गर्ने बेला भएको छ। अहिलेसम्म हामीले अपनाउँदै आएको पद्धतिले के हामी नेपाली समाज रूपान्तरणको सही मार्गमा छौँ? अहिलेसम्मको हाम्रो प्रगतिको गति हेर्दा के प्रमाणित भएको छ भने नेपालमा आमरूपमा सोच, कार्यशैली, कार्यपद्धतिमा आमूल परिवर्तन गरी नयाँ संस्कृति विकास गर्न जरुरी छ। समाजका सबै वास्तविकता परिवर्तनशील हुन्छन् र जनताको चेतना वृद्धिसँगै नयाँ समाजिक वास्तविकता निर्माण हुन्छन् र त्यस्ता नयाँ वास्तविकतासँगै हामीसँग भएका सबै स्रोत, साधन, सम्भावना, संघ/संस्थाहरुको अधिकतम सदुपयोग गर्न सक्ने मार्ग खुल्छन् र यो समाज चामत्कारिकरूपमा रूपान्तरण हुन थाल्छ। समाज रूपान्तरणका लागि संगठन, एजेन्डा र ती एजेन्डा लागु गर्ने कार्ययोजना चाहिन्छ। संगठनहरु छरिएर रहेका जनताका मूल्य र मान्यतालाई एकीकृत गरेर साझा मूल्य र मान्यता निर्माण गर्ने आधार हुन्। यस्ता संघ/संगठन औपचारिक र अनौपचारिक दुवै हुन्छन। वार्ड, गाविस, नगरपालिका, जिविस, सेवा केन्द्रहरु, गैरसरकारी संघ/संस्था, समुदायमा आधारित संगठन, राजनीतिक पार्टी र तिनका भातृ संगठन एवं शाखा आदि सबै संघ/संगठन हुन् र यिनीहरुले सञ्चालन गर्ने क्रियाकलापले नै नयाँ सामाजिक मूल्य, मान्यता र प्रचलन निर्माण हुन्छन्। समाजमा धेरै प्रकारका संघ/संगठन हुने भए पनि राजनीतिक संगठनका एजेन्डाले नै अन्य संघ/संगठनका क्रियाकलापलाई प्रभाव पारेको हुन्छ। त्यसकारण राजनीतिक संघ/संगठनले स्थानीय स्तरमा जे कुरामा बढी ध्यान दिन्छन् र ग्रामीण जनतालाई निरन्तर सहभागी गराउँछन् तिनै कुरा नै सामाजिक वास्तविकता हुन्छन्।

नियमित हुने फरक प्रकारका संवाद, छलफल, प्रशिक्षण, औपचारिक तथा अनौपचारिक शिक्षाले स्थानीय जनतालाई नयाँ नयाँ जानकारी गराउँछ र नयाँ अवसर सिर्जना गराउँछ। नेपालमा हरेक वार्डदेखि केन्द्रसम्म सबै जनता कुनै न कुनै प्रकारका संगठन राजनीतिक पार्टी, गैरसरकारी संस्था, समुदायमा आधारित संगठन आदिमा आबद्ध छन्। नियमितरूपमा विभिन्न प्रकारका प्रशिक्षण/अध्ययनमा सहभागी हुन्छन्। यदि यस्ता संगठनले सामाजिक कुरीति र प्रचलनविरुद्ध जेहाद छेड्ने गरी कार्यक्रम सञ्चालन गर्ने हो भने आगामी केही वर्षभित्रै नेपालमा नयाँ सामाजिक मूल्य/मान्यतासहितको समाज निर्माण हुन्छ। यदि नेपालमा भएका सबै औपचारिक र अनौपचारिक संघ/संस्थाले जातीय छुवाछूत, छाउपडी, बोक्सी, दाइजो जस्ता कुप्रथाबीच आक्रामकरूपमा छलफल चलाउने र यस्ता कुप्रथालाई स्थानीय संघ/संस्थाबाटै सम्बोधन गर्ने गरी प्रशिक्षण तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने हो भने नेपाली समाजको संरचना निकै छिटो रूपान्तरण हुन्छ।

गैरसरकारी संस्था वा राजनीतिक पार्टीहरुले आह्वान गर्दा जनता सबै प्रकारका योगदान दिन तयार हुन्छन् भने माथि उल्लिखित छातीय छुवाछूत, छाउपडी, बोक्सी एवं दाइजो प्रथाविरुद्ध अह्वान गर्दा किन योगदान दिँदैनन्? के राजनीतिक पार्टीका अधिवेशनमा यी कुप्रथा उन्मूलन गर्नेबारे ठोस बहस र कार्ययोजना वा प्रशिक्षण कार्यक्रम हुन्छन्? के कुनै राजनीतिक पार्टी यी यस्ता कुप्रथालाई निरन्तरता दिने सदस्यलाई पार्टीबाटै निलम्बन गर्न सक्छन् त? राजनीतिक पार्टीहरुले सामाजिक कुरीतिविरुद्ध स्थानीय स्तरमा प्रशिक्षण कार्यक्रम गरेका छन्? जबसम्म सामाजिक मुद्दा राजनीतिक पार्टीका मूल एजेन्डा बन्दैनन् तबसम्म समाज रूपान्तरण हुन सक्दैन। स्मरण रहोस्, जब राजनीतिक पार्टीहरुले सामाजिक आन्दोलनलाई मूलप्रवाहीकरण गरेर केन्द्रदेखि स्थानीय स्तरसम्म तद्नुरूपमा कार्यक्रम सञ्चालन गर्छन् तब नेपाली समाजमा नयाँ सामाजिक संस्कृति निर्माण हुन्छ र समाज रूपान्तरणको दिशातर्फ उन्मुख हुन्छ। नयाँ सामाजिक संस्कृति निर्माण गरेर नेपालको दिगो शान्ति र समावेशी विकासका लागि नेपाली राजनीतिक पार्टीले दिगो शान्ति र समावेशी विकासलाई केन्द्रविन्दुमा राखेर राजनीतिक एजेन्डा तय गर्नुपर्छ। यदि नयाँ सामाजिक संस्कृति निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्ने हो भने यतिबेला सबै राजनीतिक पार्टीले आफ्ना भूमिका, आवश्यकता र औचित्यतामाथि पुनःपरिभाषित गर्न जरुरी छ। आशा गरौँ, नेपालको सकारात्मक रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न हाम्रा राजनीतिक पार्टीहरुले पनि अन्य विकसित देशका राजनीतिक पार्टीसरह नयाँ सामाजिक संस्कृति निर्माणको एजेन्डामा केन्द्रित रहनेछन् र यस देशका युवाका लागि नयाँ भविष्यका मार्गचित्र कोर्नेछन्।

कार्यकारी निर्देशक, सामुदायिक रेडियो प्रसारक संघ

प्रकाशित: २२ पुस २०७३ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App