संस्था, नीति र नेतृत्व

शुक्रबार, २२ पुष २०७३, ११ : ०६ गोपीनाथ मैनाली


राष्ट्रिय योजना आयोगमा सदस्यको नियुक्ति पाएर आएका एकजना विद्वान्ले पदबहाली तथा स्वागत कार्यक्रममा एउटा गम्भीर प्रश्न उठाए– 'अब पनि आयोगको आवश्यकता छ र? यसको औचित्य कति?' त्यही कार्यक्रममा रहेको पंक्तिकारले भनेको थियो– 'आयोगको औचित्य यहाँहरु जस्तो व्यक्तिको क्षमता र व्यक्तित्वमा निर्भर गर्छ। हामीले राम्रो काम गरेमा आयोगको आवश्यकता झनै देखिन्छ, राम्रो काम गर्न नसके आयोगको औचित्यको प्रश्न सधैँ हाम्रासामु तेर्सिन्छ र आयोगमा कसैको नियुक्ति 'जागिर' हो भने त्यस अवस्थामा आयोग रहनु/नरहनुको कुनै औचित्य रहँदैन।'

व्यक्तिहरु पनि आफू संस्थाभित्र रहँदा कुनै कमी/कमजोरी नदेख्ने र संस्थाबाट बाहिर जानेबित्तिकै आफैँले केही अघिसम्म काम गरेको सङ्गठनको थुप्रै कमजोरी देख्ने र आलोचनामात्र होइन, सत्तोसराप गर्न पछि पर्दैनन्।

पदाधिकारीहरु पदसँग नगाँसिइ वा पद र सङ्गठनको गरिमा नबुझी त्यत्तिकै पनि लोकप्रियताका लागि अभिव्यक्ति दिन्छन्। छिमेकी मुलुकमा योजना आयोगको औचित्यमाथि प्रश्न उठेपछि नेपालमा पनि यस विषयलाई धेरैतर्फबाट उठाइयो तर यसको कोण/प्रतिकोणको व्याख्या विश्लेषण भने गरिएन। कतिपय सन्दर्भमा आयोगले प्रणाली बसाउन खोज्दा पनि आयोगको विकल्प र औचित्य सतहमा नआएको होइन। कतिपय सन्दर्भमा भने आयोगले राम्रो गर्न नसक्दा आयोगको कार्यप्रणाली परिस्कार र पुनर्वोधका लागि पनि विकल्प र बहस उठे। धेरै अवस्थामा भने अरुको आलोचना र आक्रमणका लागि यस्ता सवाल उठाउने गरिएको छ। यो सन्दर्भ प्रतिनिधि उदाहरणमात्र हो। सबैजसो संस्था यही नियतिमा छन्। संस्थामा जिम्मेवारी पाउने व्यक्तिको ओझ, व्यक्तित्व र इमानदारिताका सापेक्षमा रहेर ऊ संलग्न संस्थाको औचित्यमाथि बहस गर्ने परिपाटी रहँदै आएको छ।

संस्थालाई व्यक्तिको बजारीकरण वा वृत्ति विस्तार गर्न उपयोग गर्दा अल्पविकसित मुलुकका संस्थाहरु संस्था नबनी सङ्गठनमात्र बन्ने गरेका छन्। व्यक्तिहरु पनि आफू संस्थाभित्र रहँदा कुनै कमी/कमजोरी नदेख्ने र संस्थाबाट बाहिर जानेबित्तिकै आफैँले केही अघिसम्म काम गरेको सङ्गठनको थुप्रै कमजोरी देख्ने र आलोचनामात्र होइन, सत्तोसराप गर्न पछि पर्दैनन्। प्रायः 'भूपूहरु' 'वर्तमान' प्रति निकै आलोचक र आक्रामक बनिरहेका छन्। यो वास्तविकताभन्दा पनि इर्ष्या र आग्रहको मनोविज्ञानबाट प्रेरित रहँदै आएको छ। ती भूपूहरु आफू वर्तमानमा रहँदाको कामको समीक्षा गर्नमात्र सामर्थ्यहीन छैनन् कि आफू अघिका भूपूहरुबाट त्यसरी नै अभिशिक्षित बनेकाले फगत आलोचना उनीहरुको प्रवृत्ति बनेको हो। आफूले जिम्मेवारीमा रहँदा गर्न नसकेको कामको क्षतिपूर्ति वर्तमानमा रहेकाहरुको आलोचनाबाट हुने मनोविज्ञान पनि विकास भएको हुनुपर्छ। अरुको धुवाँधार आलोचना गर्दा आफ्नो अकर्मण्यता र कमजोरी छायामा पर्छ र क्षणिकरूपमा भए पनि आत्मरति मिल्छ र वाहवाही पाइन्छ भन्ने सोच पनि विकास भएको हुनुपर्छ। होइन भने नीति नेतृत्व लिने व्यक्तिहरु नैतिक दायित्वबाट विषयान्तर बन्ने थिएनन्।

वर्तमान अवसर हो, विगत अनुभवमात्र। विगतको अनुभव र वर्तमानको अवसरको उपयोग गरेर नै भविष्यको मार्ग सुनिश्चित गर्न सकिन्छ। व्यक्तिले बोल्ने, भन्ने र गर्ने भनेको अनुभव, आकडा र विवेकले हो। वर्तमानलाई अवसर बनाउन भुपूहरुले आफूहरु वर्तमानमा रहँदा के/कस्तो प्रणाली निर्माण गरे त्यो विषय भूपूहरुले त उठाएनन् उठाएनन्, आफूलाई 'पब्लिक इन्टेलेक्चुयल' भन्नेहरुबाट शायदै उठाइएको छ। वास्तविकता के हो भने आरोप र आलोचनाबाट मात्र प्रणाली बन्दैन, भविष्य सुनिश्चित हुँदैन, संस्थाहरु स्वचालित बन्दैनन्। आफ्नै विषयमा पनि गहिरिएर वर्तमानले मनन गर्नुपर्छ, तब न प्रणाली वा वर्तमान (आफू) लाई सुधार्न सकिन्छ। भविष्य निर्माण साझा दायित्व हो। भविष्य लेखिए वा देखिएजस्तो हुँदैन, न कितावका पाना वा सार्वजनिक उपभोगको भाषण जस्तो नै हुन्छ। तर भविष्य नदेखिए पनि त्यसको तयारी गर्न सकिन्छ। त्यो नै वर्तमानबाट गरिएको अपेक्षा हो। सार्वजनिक जिम्मेवारी लिने, सार्वजनिक शक्ति, साधन, स्रोत र ओहोदाको अभ्यास गर्नेले सधैँ गर्वमा रहेर अवसरको उपयोग गर्नुपर्छ। आलोचना, गुनासो, एक्स्क्युज वा भग्नासामा रमाउनुहुन्न। लालसा, तृष्णा र इर्ष्याको तुष राख्नुहुन्न। पद र संस्थाको औचित्य कर्म र निष्ठाबाट मात्र सिद्ध गर्न सकिन्छ। त्यसो नगर्नेहरु वा गर्न नसक्नेहरु सस्तो आलोचनामा रमाउँछन् र प्वाक्क भनिदिन्छन्– त्यो संस्थाको औचित्य छैन, उसले त्यो काम गर्नै सकेन आदि। उनीहरुबाट यसो गर्नुपर्छ, पहिला यति गरिएको थियो भन्ने सुझाव र विश्लेषण आउनुपर्ने हो, त्यो नैतिक दायित्व पनि हो। रणनीति र दृष्टिकोणबिनाको आलोचनाले समाजलाई थप दिग्भ्रमित बनाउँछ, संस्कृति बिथोल्छ र नकारात्मक सोचमात्र निर्माण गर्छ।

प्रशासनविद् विड्रो विल्सनले भनेका थिए– 'सबै व्यक्ति सार्वजनिक जिम्मेवारीका लागि समानरूपमा योग्य हँुदैनन्।' सार्वजनिक जिम्मेवारी सापेक्षिक योग्यता र इमानदारिताको ओहोदा हो। योग्य र इमानदार व्यक्ति नै राज्यलाई नैतिक संस्था बनाउने नैतिक अभिकर्ता बन्न सक्छन्। अयोग्यहरुले कथम् जिम्मेवारी पाए पनि स्वीकार्नुहुन्न संस्थाको औचित्यका लागि। हैसियत र क्षमताभन्दा बृहत् जिम्मेवारी स्वीकार्नु पनि सानोतिनो अपराध नै हो, नैतिक अपराध। दार्शनिक एरिस्टोटल र प्लेटोले त सार्वजनिक पदका लागिमात्र होइन, नागरिक जीवनका लागि पनि योग्यता तोकेका थिए, यसका लागि उनीहरुले प्राचीन एथेन्स नगरीमा विश्वविद्यालयको कल्पना गरेका थिए। यदि अयोग्य व्यक्ति नीति वा संस्था नेतृत्व लिने स्थानमा पुग्छ भने उसले आफूलाई त दुरुपयोग गर्छ/गर्छ, आफ्नो परिवेश, संगति, मातहत संयन्त्रलाई पनि उपयोगभन्दा दुरुपयोग नै गर्न पुग्छ। भनिन्छ, पहिलो स्तरको नेतृत्वले कम्तीमा दोस्रो स्तरको अनुयायी खोज्छ, यदि नेतृत्व नै दोस्रो स्तरको पर्‍यो भने चौथो स्तरको अनुयायी खोज्छ। जसको मूल्य संस्थाले चुकाउनुपर्छ, सर्वसाधारणले चुकाउनुपर्छ, समाजले चुकाउनुपर्छ, यो निकै महँगो हुन्छ।

आचार्य चाणक्यले मौर्य साम्राज्य सञ्चालनका लागि साह्रै योग्य र नैतिक पुरुषहरुको आवश्यकता औल्याएका थिए। सङ्गठनलाई संस्था बनाउन त्यहाँको नेतृत्वको कानुनीमात्र होइन, नैतिक दायित्व पनि रहने गर्छ। कतिपय सन्दर्भलाई कानुन र करारबाट मात्र हेर्नुहुँदैन, मूल्य र नैतिक आयाम झनै महत्वपूर्ण हो। कानुन र करारमा लेखिएको छैन त्यसकारण मैले यो काम गर्न पर्दैन भन्ने भन्दा पनि समाज र राष्ट्रको अपेक्षा र आवश्यकता अनि साङ्गठनिक मूल्यलाई उच्च प्राथमिकता दिएर नै नैतिक दायित्व पूरा गर्न सकिन्छ। हामीले गरेको काम हाम्रै मनभित्रको 'हरि' ले पनि ठीक भनिदिनुपर्छ। 'हरि' बाट अनुमोदित कामबाट नै सङ्गठनहरु संस्था बन्ने हुन्, व्यक्ति महान् बन्ने हो। त्यो नैतिक दायित्वबाट नै सङ्गठनको औचित्य पुष्टि हुने हो र सङ्गठनको नेतृत्व महान् बन्ने हो, सङ्गठनका सहभागी आदर्श बन्ने हुन्। महानता र आदर्श त्यत्तिकै प्राप्त हुने उपलब्धि होइन, न मागेर नै पाइन्छ। आफ्ना विषयमा बजार गर्दैमा प्राप्त हुन्छ। त्यो त लामो समयसम्मको क्रियाशीलता, निष्ठा र विवेकको नतिजा हो। नजाने क्षणकै विवेकहीनतामा त्यो महानता शून्यमा विलाउन पुग्छ। समकालीन समाजमा यस्ता उदाहरण हामीले देखेकै छौं।

भगवान कृष्णले गीतामा अर्जुनलाई उपदेश दिने क्रममा भन्नुभएको छ– 'ठूलोको वचन नीति' बन्छ। यसको अर्थ ठूला व्यक्ति आदर्श हुन्छन्, नीतिबाट निर्दिष्ट हुन्छन् वा उदाहरणीय रहन्छन् भन्ने हो। सार्वजनिक जिम्मेवारीमा रहने व्यक्ति आदर्श र 'रोल मोडेल' हो। उसका व्यवहार र कार्य समाजको चित्र बदल्ने सामर्थ्यमा रहन्छन्। त्यसैले ऊ न हलुका हुनुहुन्छ न विलासी नै। एक प्रसंगमा नेपाली राजनीतिका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईले भनेका थिए– 'मेरालागि मेरो आस्था र विश्वास अपरिवर्तनीय छन्, तिनलाई म कुनै रणनीतिका लागि फेर्न सक्दिन।' सत्य र सिद्धान्तलाई प्राविधिक विषयमात्र ठान्ने समकालीन नेपाली राजनीतिलाई भट्टराईको यो अभिव्यक्तिको अर्थ साह्रै गहन छ। प्रशासन सुधार र सुशासनका आआफ्नै परिभाषामा रमाउने समकालीन प्रशासनलाई सुशासनको अर्थ अनुभूतिमा खोजिन्छ परिभाषामा होइन भनेर कसले सम्झाउने? आफ्नो कामलाई सुशासन भन्ने हामीहरु (वर्तमान वा भूतपूर्व जो हौ) प्रणाली निर्माणमा चाहिँ हामीले के गर्‍यौँ वा गर्न सकेनौँ को यथार्थ समीक्षा गर्न सकेमा मात्र पनि राष्ट्र, समाज र प्रणालीलाई केही दिएको ठहर्छ। सबैले के बुझ्नुपर्छ भने पद अवसर होइन, जिम्मेवारी हो र जिम्मेवारी जागिर होइन, कर्तव्य हो।

यौन क्रान्ति केले ल्यायो?

केही समयअघिसम्म गर्भनिरोधक औषधि पत्ता लगाइनाका कारणले समाजमा यौन सम्बन्धमा खुलापन बढेको मानिदै आएको थियो। केहीले यस किसिमको यौनिक खुलापनलाई यौन क्रान्तिसमेत भन्ने गरेका छन्। इतिहासकारहरुका अनुसार यो सन् १९६० को दसकबाट सुरु भएको थियो। तर एउटा नयाँ शोधले निकै रोचक दाबी गरेको छ। दाबीअनुसार समाजमा यौन सम्बन्धको खुलापनको प्रमुख कारण गर्भनिरोधक औषधि होइन, पेनिसिलिन थियो। सन् १९५० को दशकमा पेनिसिलिनको बढ्दो उपयोगका कारण समाजमा यौन सम्बन्धको आतुरता अझ बढेर गएको हो।

अमेरिकाको एटलान्टास्थित एमरोय विश्वविद्यालयका अर्थशास्त्री एन्ड्रयु फ्रान्सिसले उनको शोधमा लेखेका छन्, ‘सामान्य रुपमा गर्भनिरोधक औषधिका कारण समाजमा यौन सम्बन्धमा खुलापन अपनाउन थालियो तर योभन्दा पनि महŒवपूर्ण कुरा चाहिँ पेनिसिलिनको ठूलो मात्रामा उपयोगले यौनसम्बन्धमा खुलापन आएको थियो।’

एन्ड्रयु फ्रान्सिसको शोध रिपोर्ट ‘आर्काइभ्स अफ सेक्सुअल बिहेभियर’ जर्नलमा हालै प्रकाशन भएको हो। रिपोर्टका अनुसार सन् १९५० को दशकमा संसारभरि नै पेनिसिलियनका उपयोग तीव्र गतिमा बढ्यो। पेनिसिलिनले यौन सम्बन्धबाट सर्ने यौन रोग नियन्त्रण गर्न ठूलो भूमिका खेलेको थियो। यसले सिफलिस (भिरिङ्गी) नियन्त्रण गर्न ठूलो भूमिका खेल्यो।

पेनिसिलिनको खोज सन् १९२८ मा भएको थियो र १९४१ मा चिकित्सकीय उपयोगका लागि अनुमति दिइयो। दोस्रो विश्वयुद्धअघि भने यसको प्रयोग वृहद् हुन सकेको थिएन। दोस्रो विश्वयुद्धका बेला अमेरिकाले संसारभर युद्ध लडिरहेका आफ्ना सेनालाई सिफलिसको रोग फैलिएको देखी पेनिसिलिनको औषधि उपचारका रुपमा अपनायो। यसले भिरिङ्गीको रोग निकै अंशमा नियन्त्रित भयो।

यसपछि भिरिङ्गीको उपचारका लागि संसारभरि नै पेनिसिलियनको चक्की प्रयोग गर्ने क्रम बढेर गयो। यी औषधिको असर यस्तो प्रभावकारी भयो कि १९४७ देखि १९५७ को एक दशकमै सिफलिसको गुनासो ९५ प्रतिशतले कम हुन पुग्यो।

एन्ड्रयु फ्रान्सिसको शोध रिपोर्टमा त्यो बेलाका चिकित्सकहरुको आँकलनलाई पनि ठाउँ दिइएको छ, जसले पेनिसिलिनको प्रयोगले संसारभरि नै अनैतिक यौन सम्बन्ध बढेको आशंका गरिएको थियो।

सन् १९५० को दशकमा नै स्पेनका चिकित्सक इडुआर्डो मार्टिनेज ओलोन्सोले लेखेका थिए, ‘पेनिसिलिनको प्रयोग बढ्दै जाँदा अनैतिक यौन सम्बन्ध राख्ने चाहना बढ्नेछ किनभने उनीहरूलाई अब सिफलिसको डर हुने छैन।’

एन्ड्रयु फ्रान्सिसले १९५० को दसकको अमेरिकी समाजको अध्ययन गर्दै भनेका छन्, ‘मैले तीन वटा महŒवपूर्ण पाटोलाई ध्यान राखेर अध्ययन केन्द्रित गरेको थिएँ।’ तीन महŒवपूर्ण पाटोमा– अवैध सन्तानको जन्म बढ्नु, कम उमेरमै यौन सम्बन्धका घटनामा बढोत्तरी हुनु र तेस्रोमा यौन संक्रमणका अन्य रोग गोनोरिया तीव्र रुपले बढ्नु।

शोधका अनुसार सिफलिसको मामिला कम हुँदै जाँदा अमेरिकी समाजमा एचआइभीको संक्रमण तीव्र रुपमा बढेको थियो। शोधकर्ता अर्थशास्त्री फ्रान्सिसको दाबी निकै हदमा तर्कसङ्गत देखिएको छ र पेनिसिलिनको प्रयोग बढ्दै जाँदा सर्वसाधारणमा यौन सम्बन्धमाथिको प्रतिबन्ध खुकुलिँदै जान थालेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...