१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजा दहीको राज

भक्तपुर दरबार क्षेत्रमा जुजु धौको स्वाद लिँदै अस्ट्रियन नागरिक मार्टिना नोभर्टनी ।

काठमाडौं–अस्ट्रियन नागरिक मार्टिना नोभर्टनी डेढ महिनादेखि भक्तपुरमा बस्दै छिन् । स्वयंसेवकका रुपमा नेपाल आएकी उनी भक्तपुरका सांस्कृतिक सम्पदा निकै मन पर्ने सुनाउँछिन् । भक्तपुरसँग भिज्दै आएकी उनको चाख यतिबेला भक्तपुरे दहीप्रति बढेको छ ।

जुजु धौको (राजा दही) नामले परिचित भक्तपुरे दहीको नाम सुन्नैबित्तिकै उनी रमाउँछिन् । यसले उनको मन हरेको छ । त्यसैले उनी हरेक दिन लन्चमा दही लिन्छिन् । कहिलेकाहीँ दही खाँदै भक्तपुरका सम्पदा नियाल्छिन् । ‘वाउ योगर्ड आई लाइक सो मच । इट्स भेरी भेरी टेस्टी ।’ खाँदै गरेको जुजु धौबारे उनले सुनाइन् । अर्थात्, अहो मलाई दही निकै मन पर्छ किनकि यो निकै स्वादिलो छ ।

पाटनका नरेश महर्जन पनि दहीका पारखी हुन् । उनी पनि भक्तपुरे दही खानैका लागि प्रायः भक्तपुर धाउँछन् । दही पाटनमा पनि पाइन्छ तर ३१ वर्षीय महर्जन राजा दहीको पारखी भएको एक दशक भइसकेको बताउँछन् । ‘भक्तपुरको कला संस्कृति नियाल्दै जुजु धौ खानुको मज्जा बेग्लै छ,’ उनी भन्छन्, ‘त्यसमाथि यहाँको दहीको स्वादै लोभलाग्दो छ ।’

मार्टिना र महर्जनले भनेजस्तै जुजु धौको स्वादले धेरैलाई भक्तपुरसम्म डो¥याएको छ । भक्तपुर घुम्न आउने आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटक समेतलाई यहाँको दहीले मोहनी लगाएको छ । पछिल्लो समय चिनियाँ पर्यटक पनि निकै स्वाद मानेर दही खाँदै गरेका भेटिन्छन् ।

‘ख्वप जुजु धौै’ पसलकी रेखा श्रेष्ठ नयाँ पुस्ता नियमित रूपमा जुजु धौै खान आउने गरेको सुनाउँछिन् । ‘भक्तपुर घुम्न आएका विदेशी पर्यटक माटोको भाँडामा चम्चाले दही खान मन पराउँछन्,’ उनी भन्छिन्, ‘उनीहरु दहीबारे थप जानकारी समेत लिन चाहन्छन् ।’

काठमाडौंबाट दही किन्न आएकी लीला केसी अन्य ठाउँको भन्दा भक्तपुरकै दही स्वादिलो हुने सुनाइन् । ‘खै के हो, यहाँको दही खाएपछि अन्य ठाउँको दही नै मिठो लाग्दैन,’ उनले भनिन्, ‘जुजु धौैैले सबैको मन हरेको छ ।’
 

किन मीठो जुजु धौै ?

भक्तपुर सूर्यविनायकस्थित अजिमा दही भण्डार सञ्चालक गणेशकुमार न्याखुसी दही बनाउने परम्परागत तरिका, यहाँको हावापानी र दूधको गुणस्तरमा सम्झौता नगरिएकाले जुजु धौै लोकप्रिय भएको बताउँछन् । दही बनाउने परम्परागत तरिका अझै कायम रहेको उनले सुनाए । ‘जुजु धौ तयार पार्न चारदेखि पाँच घन्टा लाग्छ,’ उनी भन्छन्, ‘गाई वा भैंसीको दूधलाई बाक्लो हुने गरी तताउने र त्यसपछि भुसमा बिछ्याइएका माटोको कतारोमा खनाएर जमिनमा सेलाउने प्रक्रियाबाट जुजु धौ तयार हुन्छ ।’

पछिल्लो समय दूधको गुणस्तर भने केही फरक भएको उनको बुझाइ छ । ‘बाक्लो भएर मात्र हुँदैन, कस्तो खानेकुरा खाएको गाईवस्तुबाट आएको भन्ने कुराले पनि प्राकृतिक स्वादमा फरक पर्छ,’ उनले भने, ‘दाना खुवाएको गाईको र सेउला खुवाएको गाईको दूधले दहीको स्वादलाई पनि फरक पार्छ ।’ स–साना कुरालाई ध्यान दिएकाले नै भक्तपुरे दही मौलिक भएको उनले सुनाए ।
 

पर्यटकको स्वादिलो रोजाइ

भक्तपुर घुम्न आएका चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुखलाई अघिल्लो साता नेपाल मजदुर किसान पार्टीका सभासद् प्रेम सुवालले सगुनको रुपमा दहीको कतारो दिँदै फेरि भक्तपुर भ्रमणमा आउन निम्तो दिए । भक्तपुरवासीले सगुन र शुभ संकेतको रूपमा लिने जुजु धौ पर्यटकको पनि रोजाइमा परिसकेको छ ।
हाडा कोल्ड स्टोरका अनुज हाडा चिनियाँ पर्यटकले दही औधि मन पराउने बताउँछन् ।

चीनमा दही राम्रो नहुने भएकाले उनीहरुले मन पराएको उनको बुझाइ छ । अध्ययन सिलसिलमा चीन रहँदा आफूले त्यहाँ दही बनाएको तर नेपालको जति मीठो नभएको उनले सुनाए । ‘दहीका लागि हावापानी पनि सुहाउँदो हुनुपर्दो रहेछ,’ उनले भने, ‘सायद भक्तपुरको हावापानी दही अनुकूल भएको हो कि ?’
विश्व प्रसिद्ध गाइड बुक लोनली प्लानेटमा पनि जुजु धौबारे उल्लेख छ ।

‘यहाँको दहीबारे विश्वका विभिन्न भाषामा खबर प्रकाशित छन्,’ उनले भने, ‘यहाँ आएपछि मात्र हैन, आउनुअगावै धेरैले दहीबारे जानकारी लिइसकेको पाइएको छ ।’
भक्तपुरस्थित पर्यटक सूचना केन्द्र प्रमुख दामोदर सुवाल पनि भक्तपुर घुम्न आएका पर्यटक जुजु धौको स्वादमा रमाउने गरेको सुनाउँछन् । केन्द्रले भक्तपुर घुम्न आएका विशिष्ट अतिथिलाई कतारोमा राखेको जुजु धौ उपहार समेत दिने गरेको उनले बताए । ‘यहाँका कला–संस्कृति र सम्पदासँगै जुजु धौको पनि चर्चा हुन्छ,’ उनी भन्छन्, ‘सगुनको रुपमा चर्चित जुजु धौले धेरैलाई खुसी दिएको छ ।’

सबैको मन हर्ने यस्तो दही आफूले अन्य ठाउँमा नभेटेको स्थानीय सानिया दिस्टी सुनाउँछिन् । ‘विभिन्न जिल्ला भ्रमणका क्रममा मैले अन्य ठाउँमा पनि दही चाखेँ,’ उनी भन्छिन्, ‘तर दही मीठो भक्तपुरकै ।’

जुजु धोैको इतिहास

संस्कृतविद् ओम धौमडेल लिच्छवीकालदेखि नै जुजु धौै बन्न थालेको र मल्लकालमा लोकप्रिय भएको सुनाउँछन् ।
‘जुजु धौै कसले राम्रो बनाउने भनेर प्रतिस्पर्धा समेत हुने गरेको पाइयो । कतिपयले त टोकरीमा समेत दही जमाउँथे भन्ने किंवदन्ती छ,’ उनले भने, ‘यसले दही कति बाक्लो भन्ने प्रमाणित गथ्र्यो ।’

दहीबिनाको भोज अधुरो रहने बताउँदै उनले भोजहरुमा दहीको टीका लगाउने चलन समेत रहेको सुनाए । भक्तपुरको काठ क्षेत्रमा पाइने पोसिलो दूध, प्रजापति समुदायले बनाएका दही जमाउने माटाका मौलिक भाँडा, उपयुक्त हावापानी र दही बनाउने परम्परागत प्रविधिका कारण जुजु धौ राम्रो भएको उनी बताउँछन् । ‘पछिल्लो समय यसले मौलिकता गुमाउँदै छ,’ उनले भने, ‘भक्तपुरको संस्कृति र सम्पदाजस्तै यसलाई पनि जोगाउन जरुरी छ ।’ जन्मदेखि मृत्युसम्मका संस्कारमा चाहिने दही यहाँको सभ्यता र संस्कृतिसँग गाँसिएको उनले सुनाए ।
 

प्रकाशित: २३ पुस २०७३ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App