६ वैशाख २०८१ बिहीबार
कला

'क्लाइमेक्स' चित्त नुबझेपछि फेरि सुटिङ

काठमाडौं- फिल्म 'दर्पण छाया २' को 'क्लाइमेक्स' फेरि सुटिङ गरिएको छ। पहिले नै सुटिङ भएको फिल्मको 'क्लाइमेक्स' चित्त बुझ्दो नभएपछि दार्जिलिङमा पुगेर फेरि 'क्लाइमेक्स' खिचिएको निर्देशक तुलसी घिमिरेले बताए। 'भिएफएक्स प्रयोग गरेर क्लाइमेक्स बनाउने योजना थियो। तर सोचेजस्तो परिणाम नआएपछि सम्बन्धित ठाउँमै गएर सुटिङ गरेका हौँ,' घिमिरेले भने। 

झन्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जिटिए सभाहलमा गरिएको छ। जुन दृश्यका लागि मात्रै दार्जिलिङका ३० संगीतकर्मी जम्मा भएका थिए। दृश्य सकेसम्म स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको घिमिरेले बताए। 'हामीले यही दृश्यलाई भिएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौँ। तर, यसको जिम्मा लिएका प्राविधिकले राम्रो गर्न सकेनन्,' उनले भने।

फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन्। उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने 'डान्स प्लस सिजन २' का फाइनलिस्ट हुन्। मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन्। सुटिङका क्रममा भेटिएका लेप्चाले भने, 'नेपाली फिल्ममा नृत्यको कोरियोग्राफी गर्न पाउँदा खुसी लागेको छ।' उनले यो फिल्मका लागि १० जना स्टेप डान्सर समेत सिक्किमबाटै ल्याएका थिए।

छायांकन रामेश्वर कार्कीले गरेका हुन्। फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन्। सहारा फिल्म्सको पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा. लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन्।

प्रकाशित: २४ पुस २०७३ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App