८ वैशाख २०८१ शनिबार
कला

नेपथ्यको आवाज टुँडिखेलमा

तस्बिर : प्रबिन कोइराला

काठमाडौं-  'कुरूप अनुहार हो यहाँ कोही साथी छैन, बेरूप अनुहार हो यहाँ कोही साथी छैन' सांगीतिक ब्यान्ड नेपथ्यले साहित्यकार सरुभक्तको यो गीत प्रस्तुत गर्दा दर्शकले ताली बजाएर साथ दिए। शनिबार दर्शकले भरिभराउ राजधानीको टुँडिखेलमा गायक अमृत गुरुङ नेतृत्व नेपथ्यले साहित्यकार सरुभक्तको गीत प्रस्तुत गर्‍यो। दुई घन्टा चलेको 'नेपथ्य लाइभ पल्सर डेयर भेन्चर' कन्सर्टमा पुसको जाडो नभनी दर्शकले साथ दिए भने नेपथ्यले नयाँ तथा पुराना गीत प्रस्तुत गर्‍यो।

सरुभक्तले ०३९ मा युवालाई प्रोत्साहन गर्न लेखेको गीतलाई सांगीतिक ब्यान्ड नेपथ्यले आफ्नै लोकशैलीमा प्रस्तुत गरेको थियो। आफ्नो गीत स्टेजमा प्रस्तुत हुँदा साहित्यकार सरुभक्त भावुक देखिए। 'सकारात्मक चिन्तनले निराशावादी सोचबाट छुट्कारा पाउन प्रोत्साहित गर्छ। मैले युवा अवस्थामा तन्नेरी जोशमा लेखेको यो गीत अहिलेका युवालाई कोेसेली स्वरुप दिँदै छु,' साहित्यकार सरुभक्तले भने, 'गीतलाई आत्मा दिन संगीतले महŒवपूर्ण भूमिका खेलेको छ। सांगीतिक ब्यान्ड नेपथ्यले यस गीतलाई जीवन्त बनाइदिएको छ।'

यस गीतमा विक्रम गुरुङले संगीत दिएका हुन्। उनले आँखाको निद खोसी लाने, भुलुँभुलुँ लाग्यो मलाई र कतै टाढा तिमीबाट पुगेँ भनेँ म लगायत गीत तयार गरिसकेका छन्। नेपथ्यले यसअघि साहित्यकार सरुभक्तको खान्न म त लामपाते सुरती, यानिमाया र सरुमा रानीको आँसुको कसम गीत गाइसकेको छ।

'राजनीतिक अस्थिरताले गर्दा हामी नेपालीले धेरै दुःख पाइरहेका छौँ। यसले सबैप्रति निराशवादी भाव तयार गरिरहेको छ,' गायक अमृत गुरुङले भने। कन्सर्टको आयोजना बजाज मोटरसाइकल्सले गरेको थियो।

गत वर्ष नेपथ्यले जावलाखेल ग्राउन्डमा भूकम्पपीडितको सहयोगार्थ 'फेरि उठ्नेछ नेपाल' नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो। नेपथ्यले मेरो देश, भेडाको ऊनजस्तो, ऐना झ्याल लगायत एल्बम सार्वजनिक गरिसकेको छ।

नेपाली मौलिक संगीतका कारण युवा पुस्तामा चर्चित नेपथ्य, दुई दशकभन्दा बढी नेपाली संगीतमा सक्रिय ब्यान्ड हो। गाउँगाउँमा लोप हुँदै गएको लोक भाकालाई आधुनिकीकरण गरेर छुट्टी पहिचान बनाउन नेपथ्य सफल छ। कन्सर्टमा सांगीतिक नेपाली ब्यान्ड नेपथ्यले जोमसोमे बजार, भेडाको ऊनजस्तो, तालको पानी, छेक्योछेक्यो, मार्‍यो प्रीतिले, रेशम, आमा र यो जिन्दगानी लगायत गीत प्रस्तुत गरेको थियो। 

प्रकाशित: २४ पुस २०७३ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App