coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कास्की र झापामा बंगुरका नमुना फार्म

काठमाडौं- सरकारले बंगुरपालनमा व्यवसायीकरण गर्न मुलुकका दुई जिल्लामा नमुना फार्म निर्माण गर्ने भएको छ। निजी क्षेत्रसँगको सहकार्यमा कास्की र झापामा फार्म निर्माण गर्न लागेको हो। सो कार्यक्रमको लागि सरकारले करिब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

मासुमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले मासु आयातमा प्रतिस्थापन गर्दै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न बंगुरमा नयाँ कार्यक्रम ल्याएको पशुपक्षी विभागले जनाएको छ। एकै ठाउँमा बंगुरका बच्चा, मासु उत्पादन, प्याकेजिङ गरेर विदेश निर्यात गर्ने योजना रहेको विभागले जनाएको छ। 'दुई जिल्लामा बंगुरपालनको विशेष फार्म तयार गरिने छ,' पशु विभागका पशु विकास अधिकृत मोती लामिछानेले भने, 'जनसहभागितामा योजनाले पूर्णता पाउनेछ।'

मन्त्रालयले कार्यविधि तयार गरेर स्थानीय लगानीकर्तालाई पनि अवसर दिनेछ।दुई जिल्लामा व्यावसायिक बंगुरपालनमा अग्रसर हुने र लगानी गर्न सक्ने किसानसँग साझेदारी गर्ने विभागको योजना छ। बंगुरको मासु विदेश आयात गरेर वैदेशिक मुद्रा अर्जन गर्ने राम्रो अवसर भएकोले त्यसलाई पनि प्राथमिकतामा राखेको विभागले जनाएको छ। 'एउटै फार्मभित्र बंगुर काटेर मासुको प्याकेजिङसम्म गर्ने व्यवस्था मिलाउछौं,' लामिछानेले भने, 'गुणस्तरीय मासु उत्पादन प्राथमिकतामा छ।' त्यसको लागि कार्यविधि बनाएर कार्यान्वयन चरणमा ाजने सरकारी योजना छ।

सरकारले १५ जिल्लामा व्यावसायिक बंगुरपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ। झापा, सुनसरी, काभ्रे, चितवन, कास्की, तनहुँ, बाँके, बर्दिया, दाङ, कैलाली, धनकुटा, मकवानपुर, नवलपारसी, सुर्खेत, कञ्चनपुर जिल्लामा विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्ने भएको छ। विभिन्न जिल्ला किसानले बंगुर पाल्दै आएको भए पनि सरकारले यो व्यवसायलाई थप प्रोत्साहित गर्न नयाँ कार्यक्रम ल्याएको पशुपक्षी विभागले जनाएको छ। मूल्य शृंखलामा आधारित यस कार्यक्रममा किसानलाई बंगुरको खोर निर्माण, जैविक सुरक्षा, दाना बनाउन लगायतमा आर्थिक र प्राविधिक सहयोग गर्ने कार्यक्रम छ। लक्षित किसानले ४ लाख रुपैयाँसम्म अनुदान पाउने छन्।

मासुका लागि बंगुरपालन सजिलो र राम्रो आम्दानी हुने भएकोले बंगुरपालन प्रवर्द्धनमा टेवा पुर्‍याएको पशुपक्षी मन्त्रालयले जनाएको छ। सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले किसान पनि आकर्षित छन्। पुरानो फार्म सुधार गर्दै, नयाँ फार्म स्थापनासहित व्यवसायीकरण गर्न सहयोग गरिएको हो।

तीमध्ये दुई जिल्लामा बंगुर व्यवसाय फार्म नमुनाको रुपमा अघि बढाइने छ। नेपालमा करिब १२ लाख ३ हजार बंगुर पालेको पशुपक्षी विभागले जनाएको छ। वार्षिक २० हजार १ सय ३५ मेटि्रक टन मासु उत्पादन हुन्छ। बंगुर विगतमा जनजाति समुदायले मात्र पाल्दै आएकोमा पछिल्लो समय अन्यले पनि व्यावसायिक रुपमा पाल्न थालेका छन्। नेपालमा खपत हुने मासुको करिब ६ प्रतिशत बंगुरले ओगट्ने सरकारी अधिकारी बताउँछन्।

यहाँ च्वाँचे, हुर्रा, बामपुड्के, जंगली बँदेल, पाख्रीबास, पिग्मी बँदेल, धराने कालो बंगुरलगायत स्थानीय जात पालिँदै आएको छ। स्थानीय जात छाडा छाडेर पाल्न सकिने, आफैं आहार खोजेर खाने, स्थानीय वातावरणसँग घुमलिम हुन सक्छन्।

त्यसै गरी ल्यान्डरेस्, योर्कसायर, ह्याम्पसायर, टेमवर्थ, ड्युरोक, मेगसान वा नागपुरी लगायत उन्नत जातका बंगुर रहेका छन्।  विशेष गरी जनजातिले बंगुरपालन गर्ने गरेका छन्। विदेशबाट फर्किएका युवाहरु पनि यो पेसामा आकर्षित भएका छन्।

प्रकाशित: २४ पुस २०७३ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App