केपीसँग कवि-कलाकार

आइतबार, २४ पुष २०७३, ०९ : ३५ रामेश

फोन समातेँ।

'तपाईंको फोननम्बर दिनुहुन्छ कि भनेर फोन गरेको...!'

'को हुनुहुन्छ? किन? कहाँबाट?'

 'केपीओलीज्यूले तपाईंहरूसँग भेट गर्न चाहनुभएको छ।' 

मन अशान्त भयो।  जटिल अवस्थामा छ मुलुक।  दक्षिणी भेग सर्लक्क छुट्याएर देशै अलग पार्ने अभियानमा छन् केही आफ्नै सन्तान।  अर्काको घरमा भाँडभैलो मच्चाएर आफ्नो स्वार्थ सिद्ध गर्न छिमेकी उत्तिकै सल्बलाउँदो छ। सँँाच्चै दुःख र संकटमा छ देश।

'उपत्यका बन्द।' दिन पनि त्यस्तै पर्‍यो। हिजो सेभ गरेको फोनमा समस्या बताएँ। 'हामी व्यवस्था गर्छाैं नि सर।' नभन्दै केही समयमा  गाडी लिन आइपुग्यो। आनन्ददेव भट्ट र यादव खरेललाई समेत  बटुलेर  बालकोट फर्क्यो गाडी। भर्‍याङको शीरमा हुनुहुन्थ्यो केपीओेली। हार्दिक हात मिलाइपछि पछाडि फर्केर सोध्नुभयो– 'चिन्छौ उहाँलाई?' 'किन नचिन्नु रामेशदाइलाई!' मैले भनेँ 'पञ्चायती व्यवस्थाका कठिन दिनहरूमा हामी माले पार्टीभित्रै थियौँ।' राधिका बहिनीको हेराइ उहिलेको जस्तै सरल र आत्मीय थियो।

केपीले भन्नुभयो– 'मेरो जीवन राष्ट्रका लागि पूर्णसमर्पित छ। आश र त्रासले मान्छेलाई बिगार्छ। म देशको सेवाखातिर इमानदारीपूर्वक बाँकी जीवन बिताउन चाहन्छु। पार्टी पनि यही अडानमा छ।'

घमाइलो बरन्डाका कुर्सीमा हामीलाई बस्न अनुरोध गरियो। अघि नै आइसक्न्ुभएको रहेछ बैरागी काइँला दाइ , नगेन्द्रराज शर्मा, रोचक घिमिरे, गोपीरमण, मन्जु काँचुली अनि अलि पर डीपी अधिकारी, उहाँकी श्रीमती र छोरी। प्रायःसबैका केस फुलिसकेका। अनुहारमा धर्सा गहिरिइरहेका। उमेर सोधासोध चल्यो निकैबेर। श्रीमती डीपी अधिकारी फर्स्याइलो,  प्रष्ट बोली। उहिलेका कम्युनिस्टहरूको बेलिविस्तार, बयान र बखान सुन्दा  'ओहो...' भन्न मन लाग्ने। केपीले मनिर आएर भन्नुभयो 'मञ्जुलजीलाई पनि बोलाएको... उहाँ बिरामी भएर आउन नसक्ने खबर आयो।'

केहीबेरपछि  सबैसँग कुर्सीमा बस्दै केपीले भन्नुभयो– 'अरु भेटघाट त चली नै रहन्छ। देशका लागि धेरै योगदान दिनुभएका कवि–कलाकारहरूसँग धेरै दिनदेखि भेटघाट गरुँ भन्ने इच्छा राखेर समय मिलाएको। फेरि कताबाट आजै 'उपत्यका बन्द' परेर धेरै जना आउन सक्नुभएन। जति आयौँ आज पुुसको न्यानोसँगै घाम ताप्दै एकआपसमा आत्मीयता बाडौँ।' सबैको मुहार हँसिलो देखियो। एकजनाबाट मनका कुरा मुखबाट फुत्त निस्कियो– 'अँहँ, म कहीँ–कसैले बोलाउने बित्तिकै जाने मानिस पटक्कै होइन, तर उहाँको निम्तो पाउने बित्तिकै  मनले 'नाइँ' भन्नै सकेन।' 'मलाई पनि त्यस्तै भो बु‰नुभो ...।' अर्काले थपे।  अनि अरुहरूले पनि  थपे– 'म पनि त्यस्तै भएँ ...।' केही बेरपछि केपीले भन्नुभो– 'राजनीतिबाट म अब थाकिसकेँ, अब हार्मोनियम बजाउने रहर पो पलाउन थाल्यो। गीत–संगीतप्रतिको प्रेम उहिल्यैदेखिको हो। समय नै पाउन सकिएन। अब राजनीतिबाट विश्राम लिएर संगीतको आनन्दतिर लाग्ने पो हो कि भन्दैछु।' 'पाउनु हुन्न हजुरले यस्तो भन्न' श्रीमती डीपीले कड्केर भन्नुभो– 'अब दस वर्षसम्म हजुरले राजनीतिबाट सन्यास लिन पटक्कै पाउनु हुन्न। भारतले नाकाबन्दी गरेर नेपाली जनतालाई त्यत्रो सकस दिँदा कसले त्यसको फेस गर्न सक्यो? तपाईंले हैन? नेपाली जनताले तपाईंलाई पत्यायो। भूकम्पकोे त्यत्रो मारपछि फेरि नाकाबन्दीको अर्को मारमा पर्दा तपाईंका कुरा सुनेर, उत्तरतिरको तपाईंको कोसिस देखेर त्यत्रा जनताले क्यै उपद्रो नगरी मन थामेर बसे। हो कि होइन? अरु भएको भए के हुन्थ्यो? हुन्न, हार्मोनियम बजाएर बस्ने कुरै नगर्नोस्। संविधान संशोधन गरेर नेपाल टुक्राउन लागेका छन् तिनलाई एकातिर तह लाएर राम्रो नेपाल बनाउनेतिर लाग्नोस्। हिजो जे भयो–भयो  अब तपाईंहरू त्यस्तो गर्नु हुन्न। जनताले विश्वास गरेका छन्।' बडो स्मार्ट ढंगमा बोलिरहनुभयो भाउजु 'नेपालका कम्युनिस्टका इतिहास सबै कण्ठ छ मलाई। डीपीजीलाई म आफूले भान्साको जिम्मा लिएर राजनीति गर्न छाडिदिएँ र पो, नत्र म आफै राजनीतिमा उत्रन सक्छु, अझै पनि पूरा विश्वास छ मलाई।' डीपी वामपन्थी कित्ताका ठूला मार्क्सवादी विद्वान् भएको कुरा सर्वविदित थियो, तर अहिले आँखाले दुःख दिइरहेको उहाँको भावभंगिमाबाट प्रष्ट हुन्थ्यो।

छेउकै एकजना साहित्यकार मित्रले घरको धुरीमाथिको राष्ट्रिय झन्डा देखाउँदै ओलीसँग सोधे– 'यो झिकेर हँसिया हथौडाको झण्डा त राख्नु भएनछ नि...!' जवाफ आयो– 'प्रधानमन्त्रीको अवकाशपछि यो झण्डाचाहिँ झिक्न मन लागेन। त्यहीँ फर्फराइरहेको राम्रो लाग्यो।' 'साँच्चै दाइ, हँसिया हथौडा र चार तारे झण्डाप्रति अब नेपाली जनताको क्यै आस्था–विश्वास रहेन। कांग्रेसका चार ताराले देशलाई दिनु धोका दियो, कम्युनिस्टहरूका हँसिया हथौडाले पनि  निमुखालाई सताउनु सतायो, गरिब–दुःखीलाई मार्नु मार्‍यो। अब त लाग्छ चन्द्र–सूर्यको झण्डामा मात्र जनतालाई एकजुट बनाउने तागत छ। तर, त्यो शाही राजाहरूको चिह्न नभई समस्त नेपालीको पहिचान र परिचयको झण्डा हुनुपर्छ।' झण्डाकेै कुरा चल्दा रोचक घिमिरे दाइलाई एफएममा बोलेका एकजना स्रोताको भनाइ सुनाएँ।

घाम मधुरो हुँदै जान थाल्यो। केपीको अनुरोध थियो– 'अब एकछिन पर्खुं, राष्ट्रकविज्यू आउँदै हुनुहुन्छ।' केही समयपछि उहाँको आगमन भयो। हामी सबैले उठेर उहाँको स्वागत अभिवादन गर्‍यौँ। मनमा राष्ट्रिय गीत गुन्जिरहेको थियोे 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे...।'

। गोपीरमणले मलाई सोध्नुभयो– ' युँजे पोत्तरको दुईसय वर्षगाँठको अवसरमा एउटा विशेष कार्यक्रम हुँदैछ। निम्तो पाउनुभो?' 'पाएँ गोपीजी। सुनेँ त्यहाँ एउटै लयमा जर्मन, अंग्रेजी, स्पेनिस, चिनियाँ, रुसी भाषामा कम्युनिस्ट इन्टरनेसनल गीत सुनाइनेछ साथै नेपालीमा पनि 'उठ जाग ए भोकानांगा, जाग संसारका दुःखी। सुन्दर संसार रचना गर्न न्यायका लागि गर्जी...।' तर के गर्नु गोपीजी,  नेपालमा निस्केका अनेक कम्युनिस्ट पार्टीहरूले सुन्दर संसार रचना गर्ने त कुरै छाडौँ आफ्नै सुन्दर देश पनि सुन्दर राख्न सकेनन्। खै  तिनले भोका–नांगाहरूका लागि, ज्यामी खेतालाका लागि के गरे? यत्रो भुइँचालोले पहाड, पर्वत, हिमाल हल्लायो। हज्जारौँ नेपाली मरे। खै त तिनलाई साथ सहयोग? के दिए? आफूले त दिएनन् नै अरुले दिएका पनि सबै खाइदिए, पचाइदिए। दुई वर्ष हुनलाग्यो वर्षा, जाडो, हिउँमा ती  गरिबगुरुवा भोकभोकै जिउँदै मरिरहेछन्। सत्तामा नेपाली कम्युनिस्ट पुगेकै छन्, खै त तिनले भन्ने गरेका अन्तर्राष्ट्रिय माया? राष्ट्रिय त छैन अन्तर्राष्ट्रिय!'

राष्ट्रकवि घिमिरेले आँखा नझिम्क्याइ एकछिन मलाई हेरिरहनुभयो र भन्नुभयो– 'गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ तपाईंले नै होइन गाएको?' अन्ठानब्बे वर्षको त्यो उमेरमा पनि त्यत्रो सम्झनाशक्ति...!   मैले जवाफ दिएँ– 'हो, सबैभन्दा धेरै नेपाली जनताले, सबैभन्दा बढी गाएको गीत यही 'गाउँगाउँबाट उठ' गीत हो। अनेकथरिका सर्वेक्षणबाट आएको तथ्य पनि यस्तै छ।' म सम्भि्करहेथेँ धेरै वर्षअघि 'घान्द्र्रक झलल' गीति एल्बम राष्ट्रकविले नै लोकार्पण गर्नुभएको थियो। जसमा रामबाबु सुवेदीको शब्द र मेरो संगीत थियो। सबै गीत सुनिसकेपछि उहाँले भन्नुभएको थियो– 'मलाई हिमालमा हिउँ तराईमा तोरी र रागरागिनीमा रमाउने मेरी छोरीलाई तपाईंको संगीतको 'ऋतुगीत' असाध्यै मन पर्‍यो।'

अस्ति राति अशेषमल्लबाट एउटा दुखद खबर फेसबुकमा आयो। 'याज्ञवल्क्य' नाटक हेर्दाहेर्दै राजाको भूमिकामा खेलिरहेका विष्णुभक्त फुयाँल अभिनय गर्दागर्र्दै मन्चमा ढल्नुभयो। हामीले त त्यो अभिनय मात्र नै सम्झेका थियौँ तर होइन रहेछ। त्यो त उहाँको निधन नै रहेछ।' त्यो खबरले दुःखको समुद्रभित्र डुबायो मलाई। एक घन्टा उहाँको सम्झनामा हराउँदै बसिरहेँ। फेसबुकबाट भावपूर्ण शब्दश्रद्धाञ्जलि अर्पण गरेँ। भोलिपल्ट उहाँको सम्झनामा सबैतिरबाट निरन्तर श्रद्धाभाव व्यक्त भइरह्यो। उहाँ सबैको हुनुहुँदोरहेछ। उहाँको बोलीबचन र व्यवहारले सबैको मन जितेछ। कुन पार्टीको? कुन जातको? कुन धर्मको? कुन क्षेत्र–इलाकामा बस्ने? कुन भाषा बोल्ने? कसैले सोधेनन्। उहाँ यी सबैभन्दा माथि रहेर कहिल्यै नमर्नेगरी सबैभित्र बाँच्न सक्नुभयो।' केपी पनि उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्न प्रज्ञा–भवन जाने तर्खरमा हुनुहुन्थ्यो।

केपीले छेउको एक युवकलाई बोलाएर केही अह्राउनुभयो। भाइले एउटा सानो प्याकेटबाट सानो आकारका केही चिज निकालेर त्यहाँ उपस्थित सबैलाई लगाइदिन खोज्नुभयो । यादव खरेल र अरु अलि हच्कँदै भने– 'यो तपाईंको पार्टीको लोगो हो भने माफ गर्नुस्, हामी कुनै पार्टीको मान्छेचाहिँ हुन चाहँदैनौ है।' मुसुमुसु हाँस्दै भाइले छातीमा लगाइदिँदै भन्नुभयो– 'यो पार्टीको हैन हजुर, देशको चिह्न हो।' तीनकुने आकारमा सूर्य–चन्द्रको त्यो गौरविलो प्रतीकचिह्न एकछिनपछि सबैको छातीमा लर्किएको देखियो। आहा कति  सुन्दर...!

बिदा हुने बेला हुन आँट्यो। केपी श्रद्धाञ्जलि कार्यक्रम सकेर नआउञ्जेलसम्म राष्ट्रकवि घरमै बसिरहने कुरा भयो। आजको भेटघाटमा केही कुरा नपुगेजस्तै अनुभव भइरहेथ्यो मलाई। कोठाबाट सबै निस्कने बेलामा मैले भनेँ– 'आजको भेटघाटको विषयमा म केही भनँू कि!' सबैजना रोकिनुभयो। मैले हिजोदेखि मनभित्र घुमिरहेको कुरा भनेँ– 'आज केपीज्यूको निम्तोमा हामी आयौँ। भेटघाट भलाकुसारी भयो। तर, आजको यो भेटमा केही महŒवपूर्ण कुरा छुटेजस्तो लागिरहेछ। आज हाम्रो राष्ट्र ठूलै जोखिममा परेको बेला उहाँसँगको भेटघाटबाट केही महŒवपूर्ण कुरा हामी जान्न चाहन्छौँ। हामी यहाँ आउनुको उद्देश्य र अर्थ यो पनि हो कि इतिहासको यो नाजुक घडीमा केकस्ता योजना र प्रयत्नबाट देश जोगाउन सकिन्छ? तपाईं र तपाईंको पार्टीको राष्ट्र र राष्ट्रियताको सम्बन्धमा देखिएको दह्रो अडानले नेपाली जनता तपाईंहरूतिर आकर्षित छन्। यस विषयमा तपाईंहरूको कस्तो भूमिका रहनेछ?' सबैतिर हेर्दै गम्भीर भावमा केपीले भन्नुभयो– 'म विश्वस्त पार्न चाहन्छु। मेरो जीवन राष्ट्रका लागि पूर्णसमर्पित छ। आश र त्रासले मान्छेलाई बिगार्छ। मलाई कसैबाट न कुनै आश छ न त कुनै त्रास। सम्पूर्ण जीवन खर्च गरेर पाएको एउटै शिक्षा म बारम्बार भनिरहेको छु, म देशको सेवाखातिर इमानदारीपूर्वक बाँकी जीवन बिताउन चाहन्छु। मान्छे डराउने मृत्युसँग हो। मृत्युसँग नडराइ देशप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु।  यसमा कुनै शंका नगर्नु होस्। ढुक्क हुनुभए हुन्छ। जहाँसम्म पार्टीको कुरा छ, पार्टी पनि यही अडानमा छ।'

बिहान टिप्दैटिप्दै ल्याएको गाडीले अहिले छोड्दैछोड्दै गयो। स्वयम्भू पुलिसचौकी शान्त थियो अहिले। बिहान जनताको भीडले चौकी घेरेको थियो। सायद कोही बन्दकर्तालाई प्रहरीले पक्रेर ल्याएको थियो। जोडजोडले नारा लगाइरहेका थिए मुठ्ठी उचालेका मान्छे– 'जनताको घर भत्काउने सरकार– मुर्दावाद। पापी सरकार– मुर्दावाद। पाप गर्ने पापीहरू– मुर्दावाद। भीडको छेउमै एकजना बूढा चिच्याइरहेका थिए– 'पापीहरूलाई पापले पोलेको हेरेर मर्न पाउँ हे स्वयम्भूनाथ भगवान्...!'










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महोत्सवमा दर्शक तताउँदै कलाकार

महोत्सवमा दर्शक तताउँदै कलाकार

पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा...

अस्करमा कसले के जिते ?

अस्करमा कसले के जिते ?

गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ। लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड...

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

८९ औं एकेडेमी अर्वाड्स समारोह क्यालिफोर्नियाको डल्बी थिएटरमा गत राति सम्पन्न भएको छ। विश्वले चासोका साथ हेरेको यो समारोहमा एउटा...

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको सोमबार निधन भएको छ। उपचारको क्रममा बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको...