‘हिन्दू’को परिचय

सोमबार, २५ पुष २०७३, ०९ : ५८ डा. तारानाथ शर्मा

हाम्रो नेपाल वेदभूमि हो। चारै वेदको र तिनका उपनिषद्हरूको रचना हाम्रै पवित्र मातृभूमिमा भएको हो। कुनै वेदको कुनै ऋचामा (अर्थात् श्लोकमा) पनि तथा कुनै पनि उपनिषद्मा कतै पनि ‘हिन्दू’ शब्द र त्यसको अर्थ, इतिहास वा व्याख्या पाइँदैन। पाइयोस् पनि कसरी? त्यो त त्यसबाट निर्मित ‘हिन्दी’ पनि हाम्रो संस्कृत परम्पराबाट विकसित शब्दै होइन।

केही वर्षअघि नेपाली भाषाकी सुप्रसिद्ध कवयित्री श्रीमती भारती गौतमले उहाँको कवितासङ्ग्रह (अहिले मैले त्यसको शीर्षक बिर्सें) को विमोचन संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स् भन्ने राज्यको बोस्टन (अमेरिकालीहरू यसलाई ‘बास्टन’ भन्न रुचाउँछन्) भन्ने नगरमा गराउन मलाई बोलाउनुभएको थियो। हार्भर्ड भन्ने प्रसिद्ध विश्वविद्यालय पनि त्यहीँ छ। त्यहाँका अंग्रेजी भाषीहरु ‘भारती’को उच्चारण गर्न जान्दा रहेनछन्। ‘भारती’ (‘सरस्वती’को पर्यायवाची शब्द)मा प्रयुक्त ‘भ’को उच्चारण अङ्ग्रेजी मातृभाषा हुनेले ‘ब..अह्..’ गर्दोरहेछ र ‘भारत’ भन्दा उसले ‘बआह्रट्’ र ‘भारती’ भन्नुपर्दा ‘बआह्रटी’ भन्दोरहेछ। अर्थात् अंग्रेजीको ‘भी’ वर्ण हाम्रो ‘भ’ होइन रहेछ। त्यसैले ‘भारत’लाई अंग्रेजी भाषीहरु ‘इन्डिया’ वा ‘हिन्दुस्टान’ भनेर बोलाउँछन्। यसका ऐतिहासिक कारणहरू छन्।

वैदिक आर्यहरू पश्चिमतिर बसाइँ सर्दै सिन्धुनदीका किनारमा स्थित मैदानमा पुगेर बस्न थाले। ती जनता सिन्धु किनारामा बस्ता त्यो ठाउँ भारतकै अधीनमा थियो। त्यस क्षेत्रको छिमेकमा अरबी जनता बस्थे। तिनमा इराकी, सिरियाली, इरानीमसेत थिए। अरबी मूलका जनता ‘स’को उच्चारण गर्न नसकी त्यसलाई ‘ह’ भन्छन्। २०२५/२६ सालतिर म जुम्लाहुम्ला पुगेको थिएँ। त्यहाँका हाम्रा जनतालाइृ पश्चिमस्थित अरबी प्रभाव हुनाले उनीहरू ‘सक्नुपर्छ’लाई ‘हक्नुपर्छ’ भन्थे। म आफैँले अनुभव गरेको हुँ।

सिन्धुनदीको किनारमा बस्ने वैदिक आर्यहरूलाई तिनका पश्चिमी छिमेकीहरूले ‘स’लाई ‘ह’ र ‘ध’लाई ‘द’ पारी ‘हिन्दु’ शब्दले सम्बोधन गर्न थाले। यसरी भारतको अधीनका आर्यहरू अरबी प्रभावले सिन्धु नदीको किनारमा बस्ने हुनाले ‘हिन्दू’ भए। कहाँम्म भने तिनको धर्मसमेत ‘हिन्दू’ भनिन लाग्यो र तिनको भाषासमेत हिन्दी भनियो र भनिदै नै छ।

एउटा अचम्मको कुरो के भइदियो भने ती अरबी, सिरियाली, इराकी, इरानी आदि जातिहरूले समेत संस्कृत भाषाको ‘स्थान’लाई टपक्क टिपेर आफ्ना विभिन्न ठाउँहरूलाई ‘उज्बेकिस्तान’, ‘तुर्कमेनिस्तान’, ‘अफगानिस्तान’ र पछि गएर ‘पाकिस्तान’समेत बनाए। सिन्धुकिनारका जनतालाई अरबहरूले जितेपछि र पछि पाकिसतान जन्मेपछि ती ‘हिन्दू’ भनिएका जनता भारततिर आए र एउटै ‘राजस्थान’ले चाहि आफ्नो संस्कृत परम्परागत स्थानलाई अझै बचाइरहेको छ।

अरबी र उर्दू भाषीहरूले ‘हिन्दू’ र ‘हिन्दी’ फिँजाएजस्तै ग्रिसेलीहरूले अर्थात् युनानीहरूले अलेक्जान्डर (सिकन्दर)ले गर्दा ‘इन्डस नदी’ र ‘इन्डिया’ फैलाए। युनानीहरू सिन्धुलाई ‘इन्डस’ भन्थे र इन्दसको किनारमा बस्ने जनता ‘इन्डियन’ भए र तिनको देश ‘इन्डिया’ कहलायो। अंग्रेजहरूले भारत लिएपछि ग्रीसेली भाषालाई हामीले संस्कृतलाई श्रद्धा गरेजस्तै गर्ने अङ्ग्रेजहरूले त्यस हिन्दू देशलाई ‘इन्डिया’ भन्न थाले र स्वतः ‘इन्डियन’ शब्द जन्म्यो। यसरी भारत ‘हिन्दुस्तान’ भयो, ‘इन्डिया’ भयो।

अब हामी नेपालीहरूले भारतका अर्थात् ‘मग्लान (मुगलहरूले जितेका राज्य’)लाइृ आदर्श मान्दै हाम्रो वैदिक जस्तो पवित्र धर्मलाई समेत भारतमा साढे चार सय वर्षजति अकबर, जहाँगीरजस्ता मोगल शासकहरूको मुग्लानी नाम ‘हिन्दुस्तान’ मान्नु र हामीले परम्परादेखि श्रद्धा गर्दै आएको इतिहास वा संस्कृतिलाई कुनामा पन्साएर ‘हिन्दु’ शब्द प्रयोग गर्नु अति वेदनात्मक कुरो हो। भारतीय बन्धुहरू पो उनीहरूका मुगल बादसाह र अङ्ग्रेजजस्ता शासकहरूबाट सयौँ वर्ष दासका रुपमा शासित भए र आफ्ना मालिकलाई रिझाउन ‘हिन्दू’ भए, ‘हिन्दुस्तानी’ भए र ‘हिन्दी’ बोल्दैछन्। हामी कुनै साम्राज्यवादी विदेशी शक्तिका ‘दास’ कहिल्यै भएका छैनौँ र हामी स्वतन्त्र नेपाली जनताले मान्ने परम्परागत देवनागरी लिपि हाम्रै पश्चिमी पहाडी अर्घाखाँची जिल्लाको पणेना गाउँमा जन्मे–हुर्केका र व्याकरण रचेका आफ्नै पाणिनिरचित नै गर्वसाथ प्रयोग गर्दैआएका छौँ।

चारै वेद सम्पादन गर्ने ऋषि वेदव्यास हाम्रै तनहुँको दमौलीमा जन्मेका र कार्यरत रहेका थिए। हाम्रै त्रिशूलीको देवघाटमा ‘अध्यात्म रामायण’जस्तो संस्कृतको पहिलो महाकाव्य वाल्मीकिले रचेका हुन्। उनी नवलपरासीका थिए। त्यहीँ पर्तिर कपिलवस्तुमा महान् सिद्धार्थ गौतम जन्मी बुद्धत्व प्राप्त गरेका हुन्। नेपाल त्यसैले बुद्धभूमि हो, वेदभूमि हो, ‘स्वर्गद्वारी’ (पिउठानमा) पनि यहीँ छ, किचकबध र महाभारतयुद्धको विराटनगर पनि यहीँ छ।

किराँतेश्वर महादेव र पार्वती माताद्वारा रक्षित हाम्रो भूमि वैदिक सनातनी हो। त्यसैले हामी ‘हिन्दू’ होइनौँ ‘वैदिक सनातनी’ हौँ।










यसमा तपाईको मत

Loading...

अन्य समाचार

‘द डभ साइमन’ फिल्म कार्यशाला सुरु

‘द डभ साइमन’ फिल्म कार्यशाला सुरु

हलिउड फिल्म विशेषज्ञ डभ साइमनको ‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुल राजधानीमा सुरु भएको छ। फिल्म निर्देशन, लेखन,...

आमासँगै रोए बद्री

आमासँगै रोए बद्री

समान्यतयाः यस्तो दृष्य दुर्लभ हुन्छ, जहाँ गायक र दर्शक सँगसँगै रोएका हुन्छन्। स्वर र शब्दको जादुमय शक्तिले जब मान्छेलाई रुन...

हामी सजाय भोग्न तयार छौँ :  दीपक-दीपा

हामी सजाय भोग्न तयार छौँ :  दीपक-दीपा

आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म 'छक्का पञ्जा' निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा...

थिएटर मलमा 'बेड नम्बर ९९'

थिएटर मलमा 'बेड नम्बर ९९'

सुन्धारास्थित थिएटर मलमा शुक्रबारदेखि नाटक 'बेड नम्बर ९९' मञ्चन भइरहेको छ। कथाकार महेशविक्रम शाहको कथालाई निर्देशक घनश्याम श्रेष्ठले नाटकीकरण गरेका ...