७ वैशाख २०८१ शुक्रबार
कला

धुर्मुस–सुन्तलीद्वारा मुसहर बस्तीको शिलान्यास, वैशाख १ मा हस्तान्तरण गरिने

महोत्तरी– धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ। फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो।

हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाईका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन्।

बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठी पनि मुसहर बस्ती पुगेका थिए।

बस्ती शिलान्यास कार्यक्रम बोल्दै हरिवंश आचार्यले सीताराम कट्टेले नेपाल आमाको सपुत भएको बताए । “यो भन्दाअघि सिताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम ग¥यो,” उनले भने, “अहिले मुसहर बस्तीमा उज्यालो छर्दै छन्, यो संगै सिंगै देशमा खुसी छरुन्।”

त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए । “पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुंदैनथ्यो,” उनको भनाई थियो ।

बस्ती शिलान्यासमा बोल्दै कलाकार सीताराम कट्टेल धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए । “म पहिलोपल्ट पूर्वपश्चि राजमार्ग सरसफाइका लागि यहां आइपुग्दा निकै भक्कानिएको थिएं । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमुना बस्ती बनाउन पोलिरह्यो ।

त्यसैगरी कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुसीयाली छर्न पाउंदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन् ।

यसैगरी अभियन्ता यादवले मुसहर बस्ती तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम भएकोमा धुर्मुस, सुन्तलीलाई धन्यावाद दिए ।

“यो तराई– पहाडमा सद्भाव छर्ने काम हो,” उनको भनाइ थियो ।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ ।  नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए ।  

यसअघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयांबाट निर्माण प्रारम्भ गरिएको उनको भनाई छ । बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरेका छन् । त्यस्तै पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले रु १० लाख सहयोगको घोषणा गरेका छन् । बस्ती निर्माणका लागि मह जोडीले रु एक लाख सहयोगको वचनवद्धता व्यक्त गरेका छन् । शिलान्यास कार्यक्रममै कलाकार किरण केसीले रु १० हजार र पत्रकार राजकरण महतोले रु दशहजार पँंच हस्तान्तरण गरेका थिए ।

“यो मानवता र सद्भावको कार्य हो,” धुर्मुसले आग्रह गरेका छन्, “बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।

शिलान्यास कार्यक्रममा  मुसहर समूदायले कलाकारहरूलाई फूल मालाले भव्य स्वागत गरेका थिए । शिलान्यास कार्यक्रममा सहभागी हुन कठमाडौंबाट आएका कलाकारहरूको स्वागतार्थ, महिला, केटाकेटी र वयोवृद्धसमेत हातमा फूल माला बोकेर बिहानैदेखि लामवद्ध थिए ।

बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने फाउन्डेसनको लक्ष्य छ ।
 

प्रकाशित: २५ पुस २०७३ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App