१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवन महोत्सव सुरु

चितवन- चितवन उद्योग वाणिज्य संघको आयोजनामा सोमबारबाट नारायणगढ नारायणी नदी किनारमा ११औं चितवन महोत्सव सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको उक्त महोत्सव माघ पाँच गतेसम्म सञ्चालन हुने छ।

महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आर्थिक क्षेत्रमा चितवनको विशेष सम्भावना भएको बताउँदै चाँडै नै प्याकेज घोषणा गर्ने बताए। 'कृषि र पर्यटनका लागि यो जिल्लाको जति महŒव छ अरु क्षेत्रमा पनि उत्तिकै सम्भावना छ,' प्रधानमन्त्री दाहालले भने, 'यो सम्भावनालाई ख्याल गरेर मैले चितवनका लागि विशेष प्याकेज बनाएको छु। जो चाँडै नै घोषणा गर्ने योजनामा पनि छु।'

प्रधानमन्त्री दाहालले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने तयारीमा सरकार रहेको बताए। 'शक्तिखोरमा औद्योगिक क्षेत्र बनाए त्यसले पूर्व–पश्चिम सबैतिर सुविधा हुन्छ,' प्रधानमन्त्री दाहालले भने। साथै नारायणगढदेखि नारायणी नदी किनार हुँदै गोलाघाटसम्म तटबन्ध निर्माण गर्ने उनले बताए। तटबन्धले बाढी र नदी कटानको सम्भावना रोकिने र तटबन्धनमाथि बाटो पनि बनाइने हुँदा यातायात र पर्यटनमा पनि टेवा पुग्ने उनले बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले लोडसेडिङको समस्या समाधानतर्फ अगाडि बढेको हुँदा आर्थिक क्षेत्र तरंगित भएको बताए। 'यस्तो बेलामा सरकार, निजी क्षेत्र र विकासका अन्य निकाय एकापसमा मिलेर योजना बनाउँदै अगाडि बढेमा आर्थिक उन्नति गर्न गाह्रो छैन,' महासंघ उपाध्यक्ष गोल्छाले भने।

महासंघका अर्का उपाध्यक्ष किशोर प्रधानले कृषि उपजमा ७० प्रतिशतभन्दा धेरै उत्पादन बाहिरबाट आयात गर्नुपर्ने बाध्यतालाई बुझेर सरकारले यसलाई कम गर्ने योजना ल्याउनु पर्ने बताए। अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्र केही उत्साहित भएको वर्तमान अवस्थामा सरकारले कलकारखाना व्यापार चल्ने सहज वातावरण बनाए रोजगारी बढ्ने र युवा विदेसिने बाध्यता हट्ने बताए।

चितवन उद्योग वाणिज्य संघले २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको अन्य आयोजकमा चितवन जिल्ला विकास समिति र भरतपुर उपमहानगरपालिका पनि रहेका छन्। महोत्सवमा पाँच सयवटा व्यावसायिक स्टल रहेको आयोजक समितिका संयोजक एवं चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले जानकारी दिए।

चितवनमा फस्टाउँदो अवस्थामा रहेको केराखेती प्रवर्द्धनका लागि महोत्सवमा विशेष व्यवस्था गरिएको छ। महोत्सवमा केराका विभिन्न परिकार उपलब्ध हुने छन्। साथै केराको मूर्ति र नमुना केरीखेती समेत महोत्सव परिसरमा राखिएको छ।

महोत्सव परिसरमा जिल्लाका कृषि उत्पादन मह, डेरीका साथै प्लास्टिक उद्योगका विभिन्न विशेष स्टल रहेका छन्। आदिवासी जनजातिका घरहरु, खानाहरु, माछा पोखरी पनि महोत्सव परिसरमा छन्। महोत्सवकै अवसरमा पुस २८ देखि माघ २ गतेसम्म क्याम्पाचौरमा फुड फेस्टिबल पनि सञ्चालन हुने छ।

महोत्सवका स्टलमा दैनिक उपभोग्य वस्तुका साथै प्रविधिसँग सम्बन्धित यन्त्र उपकरण पनि बिक्रीमा राखिएका छन्। महोत्सवमा अटो परिसर पनि छ। मंगलबारबाट स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारले गीत, नृत्य र हास्य–व्यंग्यात्मक प्रहसन पनि प्रस्तुत गर्ने छन्। चितवनको आर्थिक पक्षसँग जोडिएका विभिन्न पाँच विषयमा गोष्ठीसमेत सञ्चालन हुने छन्।

महोत्सवको अवलोकन पाँच लाखले गर्ने आयोजक समितिका संयोजक राजन गौतमको अनुमान छ। महोत्सव अवधिभर २० करोड रुपैयाँको कारोबार हुने अनुमान आयोजकले गरेका छन्। नदी किनारमा महोत्सव हुने भएका कारण पानी र बालुवासँग सम्बन्धित खेलकुद लगायत गतिविधि पनि सञ्चालन गर्ने योजना रहेको आयोजकको भनाइ छ।

प्रकाशित: २६ पुस २०७३ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App