गणतन्त्रको गर्भाधान

मङ्गलबार, २६ पुष २०७३, १० : ५८ रामनारायण देव


२०१५ सालमा जननिर्वाचित संसद् र सरकारलाई राजा महेन्द्रले सैनिक बलमा 'कु' गरी विघटन गरी प्रजातन्त्रसमेतको हत्या गरे। प्रधानमन्त्री बिपी कोइराला, मन्त्री, सांसद, नेता र कार्यकर्तालाई खोजीखोजी कारागारमा थुने। त्यसका विरुद्ध तत्कालीन नेपाली कांग्रेसका सभापति सुवर्णशमशेरको नेतृत्वमा राजा महेन्द्रको निरंकुशताविरुद्ध तथा प्रजातन्त्र पुनर्स्थापनाका लागि सशस्त्र क्रान्ति आह्वान गरियो। २०१७ साल फागुन १५ गते प्रवासमा निर्वासित नेता/कार्यकर्ताको पटनामा भएको सम्मेलनमा सशस्त्र क्रान्तिको रणनीति पारित गरियो। त्यसअनुसार भारतीय सीमावर्ती क्षेत्र सिलगुडी, पूर्णिया, फारविसगंज, विरपुर, कुनौली, दरभंगा,मधुबनी, जयनगर, रक्सौल, नौतवना, रुपैडिया तथा वनबासा जस्ता शहरमा रहेका कांग्रेस कैम्पका हजारौं युवालाई सशस्त्र प्रशिक्षण दिइएको थियो। प्रवासमा रहेका नेपाली कांग्रेस नेता गजेन्द्रनारायण सिंह, मित्रलाल गिरी, वीरबल विराजी, केदारसिंह, हरिप्रसाद राय, भागवत यादव, जयन्तीप्रसाद शर्मा, खुशीलाल मण्डल, राधाकृष्ण थारू, बलबहादुर राई, सिके प्रसाई, रामेश्वर सिंहहरुले कांग्रेसका कैम्प सञ्चालन गरेका थिए।

गणतन्त्र नेपाल स्थापना गर्ने सुरुवातका दिन त्यही २०१७–१८ सालको सशस्त्र क्रान्ति नै थियो। अर्थात भनौं त्यही निरंकुश राजामाथिको बम प्रहार नै गणतन्त्र नेपालको गर्भाधानको पहिलो घटना थियो।

ती प्रशिक्षिक युवाहरु जो नेपालबाट पनि गएका थिए। तिनीहरुलाई नेपालका सीमावर्ती क्षेत्रमा रहेका भन्सार, प्रहरी चौकी तथा सरकारी अड्डाहरुमा सशस्त्र आक्रमण गरियो। राजाको निरंकुशता तथा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध भएको सो सशस्त्र क्रान्तिमा धेरै प्रहरी/सेना सरकारी कर्मचारी मारिए भने क्रान्तिकारी युवाहरु पनि शहादत प्राप्त गरेका थिए। युवाहरु वलिदानी दिन अग्रपंक्तिमा थिए। भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरु आ–आफ्नो स्कुल र कलेजमा संगठन गरी उक्त सशस्त्र क्रान्तिमा होमिएका थिए। त्यति बेला नै पटना र दरभंगामा भारतमा अध्ययनरत विद्यार्थी युवाहरुको सम्मेलन भएको थियो। त्यो सम्मेलनमा महोत्तरी निवासी रामचन्द्र सिंहलाई सर्वसम्मतिले सभापति निर्वाचित गरिएको थियो।

 त्यसैबीच सप्तरीका हनुमाननगर, भगवानपुर लालपट्टि जस्ता प्रहरी चौकीमाथि आक्रमण गरी ध्वस्त बनाइएका थिए। त्यसैबीच महोत्तरीका युवा शिवचन्द्र मिश्रको नेतृत्वमा २०१८ साल आश्विनमा सीमावर्ती क्षेत्र समसीमा रहेको शाही सेना क्याम्पमाथि आक्रमण गरियो। त्यो आक्रमण सफल नभई शाही सेनाको गोलीबाट युवा शिवचन्द्र मिश्र घटनास्थलमै मारिए। त्यसपश्चात् २०१८ साल माघमा जनकपुरमा राजा महेन्द्रको सवारी हुने कुरा प्रवासमा रहेका नेता र कार्यकर्ताले थाहा पाए। यो कुरा  थाहा पाएपछि युवा दुर्गानन्द झा उत्साहित भए। उनी आफ्ना अत्यन्त घनिष्ट मित्र अरविन्द ठाकुरलाई पनि साथमा लिई रातारात जनकपुर आइपुगे। भोलिपल्ट बिहान राजा महेन्द्रको सवारी जनकपुरको जानकी मन्दिरमा भयो। ठीक त्यसै बेला उनी चढेको मोटरमा बम प्रहार हुन गयो । राजा बालबाल बचे। दुर्गानन्दलाई फाँसी नै दिइयो भने अरविन्दलाई आजीवन कारावारको सजाय दिइयो। यसरी दुर्गानन्द झा निरंकुश राजतन्त्रको विरुद्धमा लडेका पहिलो शहीद बन्न पुगे। निरंकुश राजतन्त्र समाप्त पारी गणतन्त्र नेपाल स्थापना गर्ने सुरुवातका दिन त्यही २०१७–१८ सालको सशस्त्र क्रान्ति नै थियो। अर्थात भनौं त्यही निरंकुश राजामाथिको बम प्रहार नै गणतन्त्र नेपालको गर्भाधानको पहिलो घटना थियो।

 त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा हरिपुर काण्ड र ओखलढुङ्गाको टिम्बुरबोटेमा राम/लक्ष्मणलगायत दर्जनाँै युवाले शहादत प्राप्त गरे भने त्यही काण्डका योद्धा कप्तान यज्ञबहादुर थापालाई पछि निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाले निर्दयपूर्वक गोली हानी हत्या गरे। यसरी लगातार २०१७ सालदेखि २०४६ सालसम्म नेपाली कांग्रेसका सयौं सपुतले संघर्ष गरी शहादत दिए। २०४६ सालको पहिलो जनआन्दोलनमा नेकाले राजासित सम्झौता गरी संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय व्यवस्था माने तर निरंकुश राजा संवैधानिकरूपमा बस्न चाहेनन्।

 राजा ज्ञानेन्द्रले २०५९ साल माघ १९ गते २०४७ सालको संविधानअनुसार संवैधानिकरूपमा नबसी शासनसत्ता आफ्नो हातमा लिए। अनि आफ्नो निरंकुशता लादे। २०५२ सालदेखि भएको 'माओवादी जनयुद्ध' को निहुँ पारी राजा ज्ञानेन्द्रले सार्वभौम जनताको संसद्लाई पनि बाबुले जस्तै विघटन गरे। उता माओवादीले संसदीय व्यवस्था समाप्त पार्न राजा ज्ञानेन्द्रसित सहकार्य गर्न संवाद चलाए पनि त्यो सफल नहँुदा निरंकुश राजतन्त्र नै सिध्याउने खेलतिर लागे। यता राजाविरुद्ध गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसका युवा पुस्ता जनआन्दोलनको तयारीतिर लागे। उत्ता माओवादी पनि हारेर जनयुद्ध स्थगित गरी शान्तिवार्ताद्वारा निकास खोज्ने प्रयासमा थिए।

 यसैबीच तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको अग्रसरतामा दिल्लीमा माओवादी र सात दलबीच २०६२ साल मंसिरमा १२ बुँदे शान्ति सम्झौता भयो। त्यसपछि सात दलको दोस्रो जनआन्दोलनमा माओवादी पनि सहभागी भयो। त्यस आन्दोलनले उचाई ग्रहण गर्दै राजाद्वारा विघटित संसद् पुनर्स्थापना गराए। यसरी राजाले जनतालाई सत्ता हस्तानान्तरण गर्न बाध्य भए। त्यसपछि पुनर्स्थापित संसद्को बहुमतले करिब दुई शताब्दीभन्दा बढी समयदेखिको निरंकुश राजतन्त्रलाई सधँैका लागि समाप्त पार्‍यो। नेका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नै गणतन्त्र स्थापना भयो यसरी।

 यसरी २०१८ सालमा कांग्रेस युवा दुर्गानन्द झाद्वारा राजतन्त्रमाथि गरिएको हमलाले गणतन्त्रको गर्भाधान गराएको थियो भने २०६३ को जनआन्दोलनद्वारा कांग्रेसका युवाहरुकै अग्रसरतामा गर्भाधानमा रहेको गणतन्त्रलाई प्रसव पीडाबाट निकाल्न सफल भयो। त्यसमा एमाले, माओवादी, मधेसवादी दलको पनि सक्रिय सहभागिता थियो।

अधिवक्ता तथा प्रजातन्त्र सेनानी







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...