७ वैशाख २०८१ शुक्रबार
अर्थ

तरकारीखेतीकाे कमाइबाट दुई छोरा इन्जिनियर

२ त्रिभुवन विश्वविद्यालयले गरेको पछिल्लो दिक्षान्त समारोहमा सहभागी भई दिक्षित दुई इन्जिनियर छोराहरु सेरोक्स् र इम्जल सुकुपायो ।

भक्तपुर– मेहनतको फल मीठो हुन्छ भन्ने उदाहरण बनेका छन्, भक्तपुरका हरिकृष्ण सुकुपायो । ४४ वर्षीय हरिकृष्णले खेतीकिसानी गरेरै दुई जुम्ल्याहा छोरालाई इन्जिनियर बनाउन सफल भएका छन् । खेतमा काउली, बन्दाकोपी लगायत तरकारी बाली लगाएर त्यसैको आम्दानीबाट जुम्ल्याहा छोरालाई सिभिल इन्जिनियर पढाउन उनी सफल भएका छन् ।  
मंगलबार बिहानै हरिकृष्ढा सूर्यविनायक नगरपालिका सिपाडोलस्थित खेतको काउली बेच्नका लागि टिप्दै थिए । ‘अब यसरी खेतमा धेरै दुःख गर्नुपर्ने दिन गयो । किनकि यसरी नै दुःख गरेर कमाएको पैसाबाट जुम्ल्याहा छोरा सिभिल इन्जिनियर मात्रै बनेनन्, जागिरै सुरु गरी कमाउन थालिसकेका छन् ।
जुम्ल्याहा छोरा सेरोक्स र इम्जल दुवै सिभिल इन्जिनियर भई जागिर खान थालेका हुन् । सेरोक्सले लोकसेवा पास गरी सरकारी जागिर नै पाएका छन् । उनी बुढीगंगा हाइड्रोपावर अछाममा सेवारत छन् । इम्जलले गैरसरकारी सेवामा प्रवेश पाएका छन् ।
उनका दुवै छोराले जगातीस्थित वाइजल्यान्ड सेकेन्डरी स्कुलबाट एसएलसी गरेका थिए । एसएलसीपछि दुवैले आधा छात्रावृत्तिमा ह्वाइट हाउस कलेज खुमलटारमा पढे । त्यसपछि भने जुम्ल्याहा छोराको पढाइ सँगै रहेन । सेरोक्सले पुल्चोक इन्जिनियरिङ कलेजबाट र इन्जलले ख्वप इन्जिनियरिङ कलेजबाट बिई गरे ।
भक्तपुर नगरपालिका– ६ गोल्मढी निवासी हरिकृष्णको परिवारमा ६ सदस्य छन्– हरिकृष्णको दम्पती, बाबुआमा र दुई छोरा । दुई छोराबाहेक अरुले खेतमा काम गर्छन् । उनीहरुले ठाउँठाउँका आठ रोपनी खेतमा काउली, लक्ष्मी सिमी, भ्यान्टा, फर्सी, आलु, बन्दाकोपी लगाइराखेका छन् ।
उनीहरुले खेतमा काम गर्ने अन्य मानिस राखेका छैनन् । ‘हामी आफैँ नै श्रममा जुट्छौँ, ज्यामी राख्दैनौँ,’ खेतमा आलु रोप्न तम्सिएका हरिकृष्णका ७५ वर्षीय पिता भीमबहादुरले भने, ‘हामी श्रममा विश्वास गर्ने मानिस, श्रम गरेर जन्मियौँ, श्रम गरेरै मर्छाैं ।’
७४ वर्षीया आमा सूर्यमाया भने विशेष गरी घरायसी काममा छन् । उनले घरमा पालेका बाख्रालाई हेर्ने गर्छिन् ।
हरिकृष्णकी पत्नी लक्ष्मीशोभाको भने गुनासो छ । भन्छिन्, ‘हामी जाडो गर्मी नभनी श्रम गर्छाैं तर हामी श्रम गर्नेले भन्दा बढी कमाई बिचौलियाले गर्छन् ।’ बजारमा अहिले ४० रुपैयाँ प्रतिकिलो पर्ने काउली बिचौलियाबाट आफूले १५ रुपैयाँ मात्रै पाउने उनको गुनासो छ ।  
हरिकृष्ण पहिलेपहिले काउली खर्पनमा बोकेर बेच्न हिँड्थे । अहिले भने खर्पनमा राखेर बोक्न गाह्रो भएकाले बिचौलियालाई दिनुपरेको उनी सुनाउँछन् । हरिकृष्णका धेरै सहपाठी डाक्टर, प्रोफेसर, प्रिन्सिपल भएर जागिर पाए पनि हरिकृष्ण भने खेती किसानीमै सन्तुष्ट छन् । उनले प्लस टु गरेका छन् । उनी भन्छन्, ‘सिद्धि कृषि सहकारी संस्था लिमिटेडको सचिव तथा बिउविजनको संयोजक भएर किसानलाई सहयोग गर्न पाएकोमा खुसी छु ।’

 

 

प्रकाशित: २७ पुस २०७३ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App