coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

टहरामै चिसो खेप्दै भूकम्पपीडित

टहराछेउमा उभिएका किशोर महर्जन । तस्बिरः शिवहरि घिमिरे

ललितपुर– पुसको कठ्याङग्रिँदो चिसो । रातभर परेको शीतले टहरा बिहानको १० बज्दासम्म ओभाइसकेका छैनन् । त्यही टहरालाई न्यानो बनाई किशोर महर्जनको चार जनाको परिवार बस्छ । एक वृद्ध आमा र काखे बच्चासहित चार जनाको परिवारलाई चिसो छल्न निकै कठिन परेको महर्जन बताउँछन् । ‘दिनमा त घाम लागिहाल्छ तर बिहानीपखको सिरोटो खप्न निकै गाह्रो परेको छ,’ उनले भने ।

उनी यहाँका एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै कुलदेव मालीको परिवारले पनि यसरी नै चिसो कटाउँदै आएको छ । ‘गत वर्षको जाडो बिताइयो, यो वर्ष त न्यानो ओत पाइन्छ कि भन्ने आस थियो । यो वर्ष पनि ओतको जोहो गर्न सकिएन,’ बुङमती बसपार्कछेउमा रहेको टहरामा बस्दै आएका ६१ वर्षीय कुलदेव मालीले भने, ‘घर बनाउँ भने नगरपालिकाले नक्सापास गरिदिएको छैन, नयाँ मापदण्डअनुसार पुरानो जग्गामा  घर बन्दैन ।’ उनी मात्र होइन, यो समस्या बुङमतीका चार सय ५० परिवारको हो । आठ सय ५३ घर रहेको बुङमतीमा अहिले चार सय ५० परिवार टहरामा छन् । पानी चुहिने बर्खे झरी खेपेका भूकम्पपीडितले  हिउँदकोे चिसो पनि अस्थायी टहरामै कटाउनुपर्ने बाध्यता छ ।
गत वर्ष माघ २ गते भूकम्प दिवसका अवसर पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङमती मन्दिर उद्घाटन गर्दै राष्ट्रिय पुनर्निर्माण अभियान सुरु गरेका थिए । प्रधानमन्त्रीले नै उद्घाटन गरेको क्षेत्रका स्थानीय भने अझै बिजोग अवस्थामा छन् । ‘भूकम्प गएको २० महिना नाघ्यो तर टहराबाट छुटकारा अझै पाइएन,’ स्थानीय प्रकाश महर्जनले भने, ‘भरपर्दो बास भइदिए हामी त्यसमै खुसी हुन्थ्यौँ । घर बनाउन नक्सापास र राहत अझै पाएका छैनौँ ।’
यस क्षेत्रको पुनर्निर्माणका लागि बुङमती पुनर्निर्माण तथा विकास परिषद् स्थानपना गरिएको छ । परिषद्ले पुर्ननिर्माण कसरी गर्ने भनेर स्थानीयलाई अहिलेसम्म बुझाउन सकेको छैन । परिषद् अध्यक्ष पे्रमभक्त महर्जनले बुङमतीलाई सरकारले अघि सारेको नयाँ मापदण्ड अनुसार पुनर्निर्माण गर्न नसकिने बताए । ‘यो बस्ती ऐतिहासिक बस्ती हो, यहाँ जोडिएका र एक आना जग्गामा बनेका घर पनि छन् । त्यसैले हामीले पुरानै शैलीमा पुनर्निर्माण गर्ने प्रस्ताव राखेका छौँ,’ उनले भने ।
उनका अनुसार बुङमती क्षेत्रको पुनर्निर्माण कार्य अघि बढ्न नसक्नुको मुख्य कारण मापदण्डको टुंगो नलाग्नु पनि हो ।
बुङमतीको पुरानो मापदण्डअनुसार एक आनामा पनि जोडिएका घर बनाउन सकिने, सटर राख्न नपाइने, घर बनाउँदा पुरानो ढाँचाका झ्यालढोकाको प्रयोग गर्नुपर्ने लगायत मापदण्ड छन् । यी मापदण्डमा प्राधिकरणले स्वीकृति दिइसकेको र अन्तिम स्वीकृतिका लागि क्याबिनेटमा गएको परिषद् अध्यक्ष महर्जन बताउँछन् ।
पुनर्निर्माण महाअभियान उद््घाटन समारोहमा प्रधानमन्त्रीले ०७३ वैशाख १२ गतेसम्म ६० प्रतिशत पुनर्निर्माण काम भइसक्ने र सबैभन्दा पहिले बुङमती क्षेत्रका सम्पदा र घर प्राथमिकतामा राखिने आश्वासन दिएका थिए । यहाँका पीडितले भने अझै भरपर्दो ओतको व्यवस्था गर्न सकेका छैनन् ।
बुङमती पुनर्निर्माण तथा विकास परिषद्ले आवश्यक इन्जिनियर तयार पार्न नसकेको, मापदण्ड र आर्थिक अभावका कारण पनि बस्ती पुनर्निर्माण हुन नसकेको बुङमती वडा कार्यालय सचिव मीना मर्हजनले बताइन् । उनले भूकम्पपीडितलाई आवास अनुदानबापत् दुई लाख रुपैयाँ उपलब्ध गराउन सर्वेक्षण सकिएको र सम्झौताका लागि पुनर्निर्माण प्राधिकरणमा पठाइएको जानकारी दिइन् ।
त्यस्तै, कार्यविनायक नगरपालिकाका कार्यकारी प्रमुख रोहित पोखरेलले सरकारबाट सम्झौता भएपछि पीडितको बैंक खातामै रकम राखिदिने बताउँछन् ।
त्यस्तै, अघिल्लो वर्षको भूकम्पका कारण ललितपुर खोकनाका स्थानीय पनि पीडामा छन् ।  यो ऐतिहासिक बस्ती खोकनामा अहिले चार सयभन्दा बढी परिवार टहरामा बस्दै आएको छ । ‘जस्ताको छानोबाट शीत चुहिन्छ । यसले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको छ,’ खोकनाका स्थानीय अशोक महर्जन भन्छन्, ‘घर बनाउँ भने पैसा छैन, नबनाउँ भने, चिसोमा ज्यान बचाउनै मुस्किल ।’
 

प्रकाशित: २७ पुस २०७३ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App