८ वैशाख २०८१ शनिबार
खेल

विश्वकपमा ४८ टोली खेल्ने

जुरिच–फिफाको निर्णायक परिषद बैठकले मंगलबार २०२६ को विश्वकपमा सहभागी टोली संख्या बढाएर ४८ पु¥याउने सर्वसम्मत निर्णय गरेको छ । ‘फिफा परिषदले सर्वसम्मत रुपमा २०२६ देखि विश्वकपमा ४८ टोली बनाउने निर्णय गरेको छ । यसो गर्दा तीन टोली सम्मिलित १६ समूह हुनेछन्,’ फिफाले आधिकारिक ह्यान्डलबाट ट्विट गरेको छ ।

जियानी इन्फान्टिनोले फिफा अध्यक्षको नेतृत्व लिएपछि खेल अझ विस्तार गर्ने क्रममा भएको यो महत्वपूर्ण निर्णय हो । इन्फान्टिनोले फिफा अध्यक्ष भएलगत्तै विश्वकप विस्तार गर्ने प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावलाई केही प्रभावशाली व्यक्तिले चर्को आलोचना गरेका थिए । आलोचकले विश्वकपमा टोली संख्या बढाउँदा खेल स्तर घट्ने, खेलाडीको व्यस्तता झनै बढ्नेलगायत तर्क गरेका थिए ।

यस्ता विभिन्न आलोचना हुँदाहुँदै पनि इन्फान्टिनोको निरन्तर प्रयासले सफलता पायो । विश्वकपलाई थप विस्तारित गर्न सके फिफाको आम्दानी बढ्नुका साथै प्रतियोगितामाथि विश्वभरको अपनत्व हुने इन्फान्टिनोको विश्वास थियो । एएफपीले फेला पारेको गोप्य प्रतिवेदनमा फिफाले ४८ टोली सहभागी हुने विश्वकपको आम्दानी दुई वर्षपछि रुसमा हुने संस्करणको तुलनामा ६४ करोड डलर बढी हुने अनुमान छ ।

विश्वको सबभन्दा ठूलो खेलकुद तथा सामाजिक महोत्सवका रुपमा स्थापित विश्वकपमा टोली बढाउने निर्णयले फुटबललाई अझै लोकप्रिय बनाउने इन्फान्टिनोले बताएका छन् । सोमबार अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोनाले इन्फान्टिनोको प्रस्तावलाई समर्थन गरेपछि परिषद बैठकमा त्यसको प्रभाव परेको थियो । म्याराडोना ‘विश्वकपमा सहभागी टोली संख्या बढाउँदा यो स्तरमा कहिल्यै प्रतिस्पर्धाको मौका नपाएका देशका लागि पनि अवसरको ढोका खुल्ने’ बताउँदै इन्फान्टिनोको पक्षमा उभिएका थिए ।

हाल विश्वकपमा पाँच टोली पठाइरहेको अफ्रिका र ४.५ टोलीमात्र सहभागी गराउन पाएको एसियाले नयाँ संरचनाबाट सबभन्दा बढी फाइदा उठाउन सक्छन् । सहभागी संख्या बढ्दा स्वाभाविक रुपमा अफ्रिका र एसियाको प्रतिनिधित्व पनि बढ्नेछ । तर विश्व फुटबलमा राज गरिरहेको युरोपले पनि विश्वकपको पुनःसंरचना गर्दा सहभागिता संख्या थप्न माग गर्न सक्छ । हाल युरोपबाट विश्वकपमा सबैभन्दा बढी १३ टोली सहभागी हुन्छन् ।

एएफपीसँग निकट फिफा स्रोतका अनुसार नयाँ संरचनामा युरोपले विश्वकपमा १६ टोलीको कोटा पाउनेछ भने अफ्रिकालाई ९ कोटा दिने तयारी छ । तर विश्व फुटबलको सर्वोच्च निकायले नयाँ संरचनामा कसलाई कति कोटा दिने विषयमा तत्काल कुनै घोषणा नगर्ने अपेक्षा गरिएको छ ।

फिफाको शक्तिशाली परिषद बैठकले ३२ टोलीको वर्तमान संरचनालाई नै निरन्तरता दिनेलगायत पाँच फरक प्रस्तावमाथि छलफल गरेको थियो । मंगलबारको निर्णयपछि १९३० मा सुरु भएको प्रतियोगिताको लोकप्रियता तथा आर्थिक हैसियत अझै बढ्ने विश्वास गरिएको छ । पहिलो पटक १९३० मा विश्वकप आयोजना गर्दा १३ टोली सहभागी थिए, जसको उपाधि उरुग्वेले जितेको थियो । १९८२ मा स्पेनमा भएको संस्करणदेखि विश्वकपमा सहभागी संख्या बढाएर २४ पु¥याइएको थियो । हालको ३२ टोली सहभागी हुने व्यवस्था भने १९९८ को फ्रान्स विश्वकपबाट सुरु भएको हो ।
 

प्रकाशित: २७ पुस २०७३ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App