८ वैशाख २०८१ शनिबार
अर्थ

त्रिभुवन विमानस्थलमा समस्या, थप ठूला जहाजलाई पार्किङ छैन

काठमाडौं– जहाज ‘पार्किङ बे’ अभावका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यहीँका केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ल्याउन लागेका थप जहाजलाई उडान अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ ।

निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी एक महिनाभित्र काठमाडौं ल्याउन लागेको १ सय ५८ सिट क्षमतायुक्त एकथान सानो आकार (वाइड बडी) जहाजलाई तत्काल उडान अनुमति दिन नसकिने अवस्था रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले जनाएको छ ।

हिमालयले ल्याउने नयाँ जहाजलाई अनुमति दिन विमानस्थललाई समस्या

हिमालयले ‘एक महिनाभित्र एकथान अर्को जहाज ल्याउन लागेकाले पार्किङ बेको व्यवस्था गरिदिन’ आग्रह गर्दै विमानस्थल व्यवस्थापन र विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ ।
‘हिमालयलाई यसबारे एक÷दुई दिनमै लिखित जवाफ पठाउँछौं तर त्रिभुवन विमानस्थललाई आधार गरेर तत्काल उसको अर्को जहाजलाई उडान अनुमति दिनसक्ने अवस्था छैन,’ विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले मंगलबार नागरिकसँग भने, ‘यसबारे अझै अध्ययन गर्न बाँकी छ ।’

हिमालयसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पनि विमानस्थलमा पार्किङ बे (जहाज पार्किङ गर्ने ठाउँ) अभावको चपेटामा पर्ने सम्भावना उच्च छ । निगमले २०७४ असोजमा २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त पहिलो वाइड बडी (ठूलो आकार) जहाज ल्याउने घोषणा गरिसकेको छ भने अर्को यस्तै जहाज लगत्तै ६ महिनापछि ल्याउने छ ।
यता विमानस्थलमा रहेका नौवटा पार्किङ बेमध्ये चार नम्बर बे मर्मतमा रहेका कारण समस्या जटिल बन्दै गएको छ । विमानस्थल व्यवस्थापनले हाल तीनवटा पार्किङ बेमा नेपाल वायुसेवा निगम र निजी कम्पनी हिमालय एयरलाइन्सका जहाजले ‘ओगटेर’ बस्ने कारण पनि अन्य कम्पनीको उडान–अवतरण प्रभावित भएको दाबी गरेको छ ।
‘वायुसेवा निगम र हिमालयका जहाज उड्नेभन्दा धेरै समय बसिरहन्छन्, अनि विभिन्न देशबाट आउने जहाजलाई आकासमै होल्ड गर्नुपर्ने र उस्तै परे डाइभर्ट नै गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ,’ विमानस्थलका ती अधिकारीले भने, ‘त्यसमाथि अब ती दुबै कम्पनीले थप जहाज ल्याउने घोषणा गरिसकेका छन् । नयाँ जहाज थपिएपछि हाम्रो विमानस्थलको अवस्था अहिलेभन्दा गएगुज्रेको हुने निश्चित छ ।’
विमानस्थलका अनुसार एक पटकमा तीनवटा वाइड बडी तथा ६ वटा न्यारो बडी जहाज राख्न नौवटा पार्किङ बे छन् । तीमध्ये तीनवटामा निगम र हिमालयका जहाज बस्छन् । चार नम्बर बे भने मर्मत भइरहेको छ । वाइड बडी पार्किङ गर्ने एक, दुई र तीन नम्बर बेमा टर्किस एयरलाइन्स, थाई एयरवेज, सिल्क एयर, कतार एयरवेज, ड्रागन एयर, एयर एसियालगायतले ल्याउने वाइड बडी जहाज पार्किङ गरिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ ।
‘अब हिमालय होस् वा वायसुेवा निगम, थप जहाजलाई पनि उडान अनुमति दिनु भनेको अन्य देशबाट आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई काठमाडौं उडान बन्द गर भन्नु हो,’ सम्बद्ध एक अधिकारीले भने, ‘नेपाली कम्पनीका जहाज आएर भटाभट उडान गरे त केही होलो होला तर उड्नेभन्दा धेरै बस्ने हुनाले समस्या गम्भीर हुने निश्चित छ ।’
यता विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनल भवनको दक्षिणपट्टि दुईवटा पार्किङ बे निर्माणका लागि ठेकेदार कम्पनी छनोट गरेको छ । विमानस्थलले करिब ५३ करोड रुपैयाँ लगानीमा दुई पार्किङ बे निर्माण गर्न स्वच्छन्द निर्माण सेवासँग सम्झौता गरेको छ ।
‘आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी स्वच्छन्दसँग सम्झौता भएको छ,’ विमानस्थलका महाप्रबन्धक उपाध्यायले भने, ‘त्यसबेलासम्म थप जहाजलाई उडान अनुमति दिन सक्ने अवस्था असाध्यै न्यून छ । हिमालयको हकमा भने धावनमार्गको पूर्वपट्टि अस्थायी पार्किङ बे बनाएर दिन सकिन्छ कि भन्नेबारे अध्ययन गदैछौं ।’
पार्किङ बे अभावकै कारण विभिन्न देशबाट आउने जहाज न्यूनतम ४० मिनेट आकासमै ‘होल्ड’ गरिरहेका छन् । ‘हिमालयको अर्को जहाजलाई त्रिभुवन विमानस्थलमै आधार (बेस) दिन सकिन्छ कि सकिन्न भन्ने अध्ययन गर्छौं र केही दिनभित्र निणर्य हुने छ,’ विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘त्यसबाहेक अन्य वायुसेवालाई पनि अनुमति दिने अवस्था छैन ।’

 

प्रकाशित: २७ पुस २०७३ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App