७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पको ज्वाइँ नियुक्तिको विरोधमा डेमोक्रेट

वासिङटन–डेमोक्रेटसको एउटा समूहले ट्रम्पले आफ्ना ज्वाइँलाई सल्लाहकार नियुक्त गरेकोमा आपत्ति जनाएको छ । डेमोक्रेटहरुको एउटा समूहले ट्रम्पले नातावादलाई प्रश्रय दिनेगरी ३६ वर्षीय आफ्ना ज्वाइँ जरेड कुश्नरलाई नियुक्त गरेकोमा सो निर्णयमाथि पुनर्विचार गर्न दबाब दिएको हो । उनीहरुले ‘डिपार्टमेन्ट एन्ड अफिस अफ गभरमेन्ट इथिक्स’ लाई कुश्नरको नियुक्ति कानुनी आधार जाँच गर्न आग्रह गरेका हुन् । तर कुश्नरका वकिलले उनको नियुक्तिमा कुनै कानुनी अड्चन नरहेको दाबी गरेका छन् । कुश्नरले ट्रम्पकी छोरी इभान्कासँग विवाह गरेका छन् ।

दस दिनपछि राष्ट्रपतिको कार्यभार सम्हाल्न लागेका ट्रम्पले सोमबार कुश्नरलाई ह्वाइट हाउसको एक प्रमुख सल्लाहकारमा नियुक्ति गर्ने घोषणा गरेका थिए । उनले अब घरेलु तथा विदेश नीति निर्धारणमा भूमिका खेल्नेछन् । खासगरी उनले मध्यपूर्वमा रणनीति बनाउने भूमिका दिइने चर्चा छ ।  क्यामरासँग लजाउने कुश्नरको घर जग्गा कारोबार खानदानी व्यापार हो । उनले ट्रम्पको चुनावी अभियानमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

उक्त नियुक्तिका लागि सिनेटको अनुमोदन आवश्यकता पर्दैन तर केहि विज्ञहरुले त्यसले नातावाद विरोधी कानुन उल्लंघन गरेको भन्दै प्रश्न उठाएका छन् । कुश्नर घरजग्गा कारोबारी हुन र उनका व्यवसायिक स्वार्थहरु निकै बृहत् रहेको बताइन्छ ।

नातावाद विरोधी अमेरिकी कानून र सम्भावित स्वार्थका टकरावको कारण उनको नियुक्ति विवादमा तानिने देखिन्छ । तर अबको १० दिनपछि अमेरिकाको ४५ औँ राष्ट्रपति पदमा शपथग्रहण गर्न लागेका ट्रम्पले आफ्नो प्रशासनको मुख्य नेतृत्वदायी भूमिकामा कुश्नरलाई नियुक्त गर्न पाएकोमा गौरव लागेको बताएका छन् ।

ट्रम्पको टोलीका सदस्यहरुले नातेदारलाई सरकारी जागिरमा नियुक्त गर्न नपाइने कानुन व्हाइट हाउसका पदमा हुने नियुक्तीका हकमा लागू नहुने बताएका छन् । अमेरिकी संघीय कानुनले सरकारी कर्मचारीलाई नाफामुखी व्यवसायमा संलग्न हुन प्रतिबन्ध लगाएको छ ।

कुश्नरका वकिलले व्हाइट हाउसको नियुक्ति स्वीकार गर्दा उनले परिवारको घर जग्गा व्यवसायको प्रमुखको पदबाट राजीनामा दिने र व्यवसायबाट आफूलाई अलग गर्ने जनाएका छन् ।

तर ट्रम्पको परिवारका लागि त्यसरी अलग्गिन असम्भव भएको विश्लेषकहरु बताउँछन् । किन कि ट्रम्प परिवारले घर जग्गा व्यवसायको साम्राज्य खडा गरेको छ र त्यसमा अमेरिकामा लगानी गरिरहेका विदेशी नागरिकहरु पनि संलग्न छन् ।

प्रकाशित: २७ पुस २०७३ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App