५ वैशाख २०८१ बुधबार
समाज

पर्यटकीय रेस्टुरेन्टमा भीषण आगलागी

मंगलबार मध्यरातमा पोखरा लेकसाइडको रेस्टुरेन्टमा लागेको आगो । तस्बिर सौजन्यः सागरराज तिमिल्सिना

पोखरा–पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीचोकस्थित ट्राइस्टार रेस्टुरेन्टमा गएराती भीषण आगलागी भएको छ। आगलागीले रेस्टुरेन्टसँगै जोडिएको ट्राईस्टार होटलमा पनि क्षति पुगेको छ।

संचालक धर्मेन्द्र बाटाजुका अनुसार रेस्टुरेन्ट बन्द गरेर कर्मचारी निस्कनै लाग्दा मंगलबार राति करिब ११ बजे आगलागी सुरु भएको थियो। विद्युत सर्ट भएर वा सिलिन्डरबा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने उनले बताए। ‘करिब ३ करोड रुपैयाँको भौतिक क्षति भएको छ। रेस्टुरेन्टसँगै अघिल्तिर रहेको बैंकको एटीएम, मनि चेन्जर, ¥याफ्टिङ र ट्राभल एजेन्सी पनि जलेका छन्,’ उनले भने। 

‘एक्कासी आगलागी भयो। वारुणयन्त्र आएपनि नियन्त्रणमा लिन सकेनन् । वारुणयन्त्रको पानी ५ मिनेटमै सकियो,’ उनले भने, ‘धेरैबेरको पहलपछि पोखरा विमानस्थलबाट थप वारुणयन्त्र पुगेपछि मध्यरात करिब १ बजे आगो नियन्त्रणमा आएको हो ।’ समयमै वारुणयन्त्र नपुग्दा आगलागी तिब्रगतिमा फैलन पाएको उनले बताए । काठको अधिक प्रयोग गरि संचालक बाटाजुले एकवर्षअघि रेस्टुरेन्ट संचालन थालेका थिए । अधिक काठ हुँदा पनि आगो छिटो फैलन सघाउ पुगेको उनको भनाई छ ।

रेस्टुरेन्टसँगै २२ कोठा क्षमताको होटलमा पनि क्षति पुगेको छ । बाटाजुका अनुसार होटलका कुनैपनि कोठामा पाहुना नभएकोले मानवीय क्षति हुन पाएन । प्रत्यक्षदर्शीका अनुसार आगलागीका क्रममा रेस्टुरेन्टका भान्सामा रहेका ग्यास सिलिन्डर विस्फोट समेत भएका थिए । ग्यास सिलिन्डर विस्फोट हुँदा ठुलो आवाज निस्केको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्क क्षेत्रीले आगलागी नियन्त्रणका लागि पोखरा उपमहानगरपालिकाको २ वटा वारुणयन्त्र आएपनि पानी फ्याक्ने क्षमता कम भएकोले नियन्त्रणमा ढिलाई भएको बताए । ‘उपमहानगरका २ वटै वारुणयन्त्रको पानी तिब्रगतिमा जान सकेन । पाइपबाट ‘फोर्स’ सहित पानी गएन, त्यसले गर्दा भीषण आगो नियन्त्रणमा लिन समय लाग्यो,’ उनले भने, ‘पछि विमानस्थलको वारुणयन्त्र आएपछि बल्ल नियन्त्रणमा ल्याउन सक्यौ ।’

उनले पनि करिब ३ करोड रुपैयाँको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताए । ‘विद्युत सर्ट भएरै आगलागी भएको अनुमान छ,’ उनले भने । आगलागी नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी सहित नेपाली सेना र सर्वसाधारण पनि खटेका थिए । आगलागीले छेउका रेस्टुरेन्टमा समेत सामान्य क्षति पुगेको छ ।

प्रकाशित: २७ पुस २०७३ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App