coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दुई तिहाइ जुटाउन मोर्चाले पहल गर्ने

काठमाडौं- संविधान संशोधन विधेयकका पक्षमा दुईतिहाइ बहुमत पुर्‍याउन मधेसी मोर्चाले पहल गर्ने भएको छ। मोर्चासहित संघीय गठबन्धनको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। मोर्चाले बहुमत पुर्‍याउने वातावरण बनाउन सत्तासीन र विपक्षी दलका नेतासँग छलफल गर्ने भएको छ।

बैठकमा मोर्चाका नेताले परिमार्जनसहित संशोधन विधेयक पास गराउन सरकारलाई सहयोग गर्नुपर्ने बताएका थिए। संसद्मा प्रस्तुत विधेयकबारे मोर्चा एकपछि अर्को गर्दै लचिलो हुँदै आएको छ।

संशोधन विधयक पास गराउनेबारे छलफल गर्न मोर्चाका नेताले बिहीबार या शुक्रबार प्रधानन्त्रीलगायत नेपाली कांग्रेसका नेतासँग कुराकानी गर्ने भएका छन्। संशोधन विधेयक पास गर्ने वातावरण बनाउन सरकारसँग छलफल गर्न लागिएको मोर्चाका नेताले बताए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयक परिमार्जनसहित पास गर्न सरकारसँग छलफल गर्ने तयारी भएको बताए। 'हामीले संशोधन विधेयक परिमार्जनसहित पास हुनुपर्छ भनेका छौं', यादवले भने, 'यसका लागि हामीले सत्तासीन दलसँग बिहीबार या शुक्रबार कुराकानी गर्दैछौं।'

राष्ट्रिय मधेस सद्भावना पार्टीका महासचिव केशव झाले संशोधन प्रस्ताव पास गराउन  मोर्चाले दुईतिहाइ बहुमत जुटाउन सरकारलाई सहयोग गर्ने बताए। 'दुईतिहाइ जुुटाउन हामीले एमालेभित्रकै मधेसी, जनजातिलगायत संासदसँग पनि कुरा गर्छौं', झाले भने, 'संशोधन विधेयक पास गराउन हामीले पनि पहल गर्नेछांै।'

मोर्चाले माघ १ गते काठमाडौंमा राष्ट्रिय राजनीतिक परिस्थिति र संविधान संशोधन परिमार्जनबारे विचारगोष्ठी गर्ने भएको छ। संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि गठबन्धनको  रणनीति तय गर्न बोलाइएको सो बैठकमा संशोधन प्रस्तावबारे नेताले धारणा राखेका थिए। फोरम नेपाल अध्यक्ष यादवले संशोधन प्रस्ताव परिमार्जन नभएमा त्यसको कुनै अर्थ नहुने बताएका थिए।

'संशोधन प्रस्ताव  परिमार्जन नभई पास भएमा त्यसको औचित्य रहँदैन', फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवलेे भनिन्, 'त्यसैले हामीले परिमार्जनसहित संशोधन प्रस्ताव पास हुनुपर्छ भन्ने अडान राख्दै आएका छौं।'

फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर भने उपस्थिति थिएनन। उनले पार्टीबाट वृर्षेशचन्द्र लाललाई बैठकमा पठाएका थिए। यसअघि ठाकुरले बोलाएको बैठकमा यादव गएका थिएनन्।

बैठकमा सद्भावना पार्टीबाट राजाराम पासवान, तराई–मधेस सद्भावना पार्टीबाट सत्यनारायण मण्डल, गठबन्धनका प्रवक्ता डा.ओम गुरुङ, थरुहट तराई पार्टीका भानुराम चौधरी, नेपा पार्टीका महासचिव विजय सैंजूलगायतका नेता उपस्थित थिए।

प्रकाशित: २८ पुस २०७३ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App