coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उठिबास नगराउन थिमीवासीको माग

कृष्ण किसी

भक्तपुर- लिच्छवीकालदेखि बसोबास हुँदै आएको प्राचीन ऐतिहासिक तथा सांस्कृतिक सहर थिमीका बासिन्दाले उठिबास नगराउन आग्रह गरेका छन्। काठमाडौं–भक्तपुर सिमाना मनोहरा पुलदेखि मध्यपुर थिमीको वाहाखा बजार हुँदै निकोसेरा खस्याङखुसुङ खोलाको पुलसम्म मापदण्ड अनुसारको सडक विस्तारको सरकारी योजना सुरु भएसँगै उनीहरुले आफूहरुलाई उठिबास नगर्न सरकारसँग अनुरोध गरेका हुन्।

मनोहरा पुलदेखि वाहाखा बजार हुँदै निकोसेरा खस्याङखुसुङ खोला पुलसम्मको सडक मापदण्ड अनुसार चौडाइ २० मिटर फराकिलो गराउने कार्य सुरु गरेसँगै उनीहरुले आफूहरुमाथि अन्याय नगर्न अनुनय गरेका हुन्।

यो काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने पुरानो सडक हो। त्यस्तै, यो जडीबुटीबाट नगरकोट पुग्ने भक्तपुरको सल्लाघारी पुग्ने अरनिको राजमार्गको वैकल्पिक सडक समेत हो। यो सडकवरिपरि सबैतिर स्थायी संरचना समेत बनिसकेका छन्। सडक विस्तारपछि सडक दुवैछेउ स्थायी संरचना भएका हजारौँ स्थानीयवासीको उठिबास हुनेछ। यसबाट धेरै मध्यपुर थिमीवासीको उठिबास हुनेछ। मध्यपुर थिमी भक्तपुरको दोस्रो बढी जनसंख्या भएको नगर हो।

सरकारले योबाहेक वाहाखा वजार भीमसेन स्थानदेखि बोडे सानुटारसम्म र वाहाखा बजार पुरानो हुलाक रोडबाट नगरपालिका भवन हुँदै मिलरोडसम्म मापदण्ड अनुसारको चौडाइ ११ मिटर फराकिलो पार्ने सरकारी योजना छ।

साथै, भक्तपुर ट्रलिबस पार्क (साबिकको) देखि सूर्यविनायक गेटसम्म मापदण्ड अनुसारको चौडाइ १४ मिटर गरिने सार्वजनिक सूचना निकाली काम समेत सुरु गर्न थालेको छ। काम सुरु हुनु अघिदेखि नै विरोध जनाउन थालेका स्थानीयवासी निरन्तर आन्दोलित छन्।

स्थानीयवासीले संघर्ष समिति गठन गरी आफूहरूलाई विस्थापित नगराउन माग गर्दै आन्दोलित भएका हुन्। संघर्ष समिति अध्यक्ष शिवभक्त थापा श्रेष्ठले काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरमा लिखित निवेदन समेत पेस गरिसकेको बताए।  

निवेदनमा लिच्छवीकालदेखिका स्ववासीलाई उठाउन नपाइने माग गरेका छन्। एकदेखि तीन आनासम्म क्षेत्रफलका स्थानीयलाई सडक विस्तारले सुकुम्बासीमा परिणत गर्ने उनको भनाइ छ।

सडक क्षेत्रभित्र मठ–मन्दिर, पाटी, पौवा, वहाल, ढुंगेधारा साथै अन्य सांस्कृतिक धरोहर पर्ने हुँदा सडक विस्तारले उक्त क्षेत्र मात्र नभई समग्र काठमाडौंकै मौलिक पहिचान समाप्त पार्ने उनीहरुको भनाइ छ। सडक विस्तार योजना जुन उद्देश्य प्राप्तिका लागि गर्न लागिएको होे, अन्य विकल्पको माध्यमबाट प्राप्त गर्न सकिने हुँदा उक्त सडक विस्तार योजना खारेज हुनुपर्ने उनीहरुको माग छ। विकल्प मार्गका लागि भनी केही वर्षअघि मध्यपुर थिमी नगरपालिकामा वैकल्पिक बाटोको नक्सा पेस गरिएको र त्यसैलाई प्रयोग गर्न उनीहरुको आग्रह छ। पुरानो थिमी वाहाखा बजार तथा निकोसेरासँग अरनिको राजमार्ग जोड्ने सातवटा सहायक मार्ग रहेकाले पनि वाहाखा बजार तथा निकोसेरामा सडक विस्तार आवश्यक नभएको उनीहरुको भनाइ छ।

साथै,  स्थानीयले वर्षौंदेखि व्यापार, व्यवसाय गर्दै जीविकोपार्जन गर्दै आएकाले सडक विस्तारले जीविकोपार्जनमा कठिनाइ पर्ने उनीहरुको तर्क छ।

यता, प्राधिकरण जिल्ला आयुक्त एवं नगर नियोजक नवराज कोइरालाले विस्तार योजना नरोकिने स्पष्ट पारे। 'मन्त्रिपरिषद्बाट रोक्ने निर्णय भएर आए मात्रै त्यो सम्भव छ,' उनले भने।

प्राधिकरणले सडक विस्तार क्षेत्रभित्र पर्ने संरचनाको क्षतिपूर्तिका लागि आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्पर्क गर्न  कात्तिक २८ गते सूचना प्रकाशित गरेको थियो।

प्रकाशित: २८ पुस २०७३ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App