६ वैशाख २०८१ बिहीबार
समाज

नक्सापासमा मनपरी गरिएको भन्दै नगर परिषद्मा हंगामा

बाग्लुङ–घरको नक्सापास गर्दा कार्यालयले मनपरी गरेको भन्दै स्थानीयले हंगामा मच्चाएपछि बाग्लुङ नगरपालिका कार्यालयको २२ औं नगर परिषद बिथोलिएको छ। नगरपालिका कार्यालयले नगरपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा स्थानीयले अवरोध पुर्याएका हुन् ।

 सडक मापदण्ड लागू गर्दा मनपरी गरिएको भन्दै कार्यक्रम अगाडि बढ्न नदिएपछि परिषद बिचैमा बिथोलिएको हो । एउटै सडक छेउमा निर्माण गरिएको आडैको घरको नक्सा पास भएको र अर्को घरको पास नभएको भन्दै समान मापदण्ड लागू गर्ने निर्णय नभएसम्म कार्यक्रम अगाडि बढ्न नदिने जिल्ला विकास समिति बाग्लुङका पूर्व सभापति समेत रहेका स्थानीय सुरन्द्र खड्काले बताए ।

‘एकै ठाउँमा बनेका आडैको घरको नक्सापास भएको छ, अर्काको भएको छैन,’ खड्काले भने,‘यो कस्तो मापदण्ड हो? समान नभएसम्म कार्यक्रम चल्न दिँदैनौं ।’ बाग्लुङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीतर्फ इङ्गित गर्दै उनले भने, ‘एउटै लाईनमा बनेको समान घरमध्ये एउटाको नक्सा पास हुने अर्कोको नहुने कसरी हुन्छ ?’ आक्रोशित स्थानीयले नगरपालिका कर्मचारीले घुस खाएर कसैको नक्सा पास गर्ने र कसैको नगर्ने गरेको आरोप लगाए।

‘तपाइँहरुलाई घुस चाहिएको हो भने भन्नुस् कति चाहियो ?,’ बानपा—२ का शशिकपुर श्रेष्ठले भने, ‘एक लाख दुई लाख जति चाहियो म दिन्छु, होइन भने मेरो भन्दा अगाडि भएको घर नक्सा पास हुने मेरो नहुने कसरी भयो ?’ आक्रोशित स्थानीयले नगरपालिका कर्मचारीलाई घुस खाएको आरोप लगाइरहँदा कर्मचारीहरु भने नाजवाफ थिए। नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी र योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले सबैसँग छलफल गरेर अगाडि बढ्ने भन्दै कुरा मिलाउने प्रयास गरेका थिए । उनीहरुको प्रयासका बापजुद सर्वदलीय संयन्त्रबाट तत्काल निर्णय नभएसम्म कार्यक्रम अगाडि बढ्न नदिने अड्डी लिएपछि परिषद बिथोलिएको हो ।

नेपाली काँग्रेस जिल्ला सदस्य वसन्तकुमार श्रेष्ठले कर्मचारीहरुको मनपरीले नगरपालिका कुरुप बन्दै गएको बताए । ‘कर्मचारीहरुलाई हामीले पटक पटक भनेका छौं, तर पनि मनपरी रोकिएको छैन,’ श्रेष्ठले भने,‘तपाईहरु त दुई चार वर्षमा सरुवा भएर भएर जानुहुन्छ, भोग्न त हामी नगरबासीले पर्छ ।’ श्रेष्ठले विरोध गरिरहेका नगरबासीको बारेमा उचित निश्कर्ष ननिकालेसम्म परिषद अगाडि बढ्न नदिने बताएपछि अहिले नगरपालिका कार्यालय र दलीय प्रतिनिधिबीच छलफल चलिरहेको छ ।

प्रकाशित: २८ पुस २०७३ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App