७ वैशाख २०८१ शुक्रबार
राजनीति

महासेठकाे प्रश्न- 'प्रचण्डजी हाम्रो प्रधानमन्त्री हो की कसैबाट निर्देशित ?’

काठमाडौं–प्रमुख प्रतिपक्षी एमालेका नेता रघुविर महासेठले सरकारले संविधान संशोधन विधेयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए।
बिहीबार राजधानीमा रिपोर्टस क्बलले आयोजना गरेको कार्यक्रममा महासेठले भने, ‘सरकार कहाँ छ ? नेपालमा हो कि बाहिर छ ?, प्रचण्डजी सही अर्थमा हाम्रो प्रधानमन्त्री हो कि वा कसैबाट निर्देशित हो ?’

उनले मधेसी मोर्चालाई विश्वासमा लिनुपर्ने कुरामा कुनै दुई मत नरहेको उल्लेख गर्दै भने, ‘मोर्चालाई विश्वासमा लिनुपर्छ, तर मोर्चा आँफैमा एक रुपता वा अडानमा एक देखिँदैन्, दिनहु फरक फरक  कुरा आइरहेका छन्, उहाँहरु पनि निर्देशित हुनुहुन्छ, यो अपवित्र गठबन्धनको सरकार हो।’

उनले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको जिकिर गर्दै भने, ‘प्रधानमन्त्री चुनाव गराउने पक्षमा हुनुहुन्न, देउवाजीलाई हतार छ, तर प्रचण्डजी सत्ता लम्ब्याउने पक्षमा हुनुहुन्छ।’ नेता महासेठले सरकारले आगामी जेठमा चुनाव गराउँछु भनेर बोलेका कुराहरु बाहिर आएपनि त्यसमा आफूहरुलाई विश्वास नलागेको बताए।

उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरे। उनले जतिसक्दो चाँडो चुनावको मिति घोषणा गर्नुपर्ने आफूहरुको माग रहेको बताए।

उनले निर्वाचनलाई संशोधन विधेयकसँग जोड्न नहुने समेत जिकिर गरे। नेता महासेठले भने, ‘संशोधन विद्येयक फिर्ता गरौं, निर्वाचनको मिति घोषणा गरौं, र सहमतिमा अघि बढौं, यही नै अहिलेको उत्तम विकल्प हो।’ उनले सरकार संविधानको धारा २७४ नै खारेज गरेर भएपनि अघि बढ्ने मनशायमा रहेको कुरा बाहिर आएकोप्रति चिन्ता व्यक्त गर्दै भने,‘यस्तो गलत काम नगरियोस्, अब प्रचण्डजीलाई मेरो प्रधानमन्त्री नै अब अन्तिम हो भनेर लागेको छ भने त केही कुरै भएन, होइन भने तपाई जनयुद्ध गरेर क्रान्ति गरेर आएको नेता हो।’                                   

उनले संशोधन विधेयक राष्ट्रको हितमा नभएकोले यसको विपक्षमा जनमत हुँदाहुँदै पनि वर्तमान सरकार जसरी हुन्छ प्रस्ताव पारित गर्ने खेलमा लागेको बताउँदै भने, ‘सांसद किनेबेच गरेर विद्येयक पारित गर्न खोजेको हो भने त हाम्रो भन्नु केही छैन, तर एमाले अन्तिसम्म पनि लडाईको मैदानमा उभिन्छ, देश र जनताको पक्षमा उभिन्छ।’
 

प्रकाशित: २८ पुस २०७३ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App