नियतिले ठगेको यो परिवार !

शुक्रबार, २९ पुष २०७३, ०८ : १० जितेन्द्रकुमार झा


गम्हरिया (सप्तरी)- सोह्र जनाको 'जम्बो' परिवार छ उनको। धेरैजसो काम गर्न नसक्ने भान्टाङभुन्टुङ। सक्नेलाई पनि नियतिले ठग्नुसम्म ठगिदियो। बाँच्नै धौधौ! आफैं बाँच्न मुस्किल भएपछि परिवार पाल्न कति गाह्रो होला, सम्भि्कसक्नु छैन।

सप्तरी, गम्हरिया प्रवाहा–४ पट्टीगाउँको यो परिवारको मियो हुन्– ५० वर्षीय शम्भु मण्डल जो दृष्टिविहीन छन्। उनी मात्र होइन, परिवारमा थप पाँच जनालाई नियतिले उनैलाई जसरी ठगिदियो। अति विपन्न परिवार, त्यसमा पनि दृष्टिविहीन!

'मर्न बरु गाह्रो हुन्न ...' जस्तै भएको छ शम्भुलाई।

'आँखाको ज्योति नगुमेको भए यस्तो हालत हुने थिएन,' भन्छन्, 'मेहनत गरेर गरिबी लखेट्थेँ, तर भगवानले आँखाको ज्योति नदिँदा सबै सपना हुरीले उडाइदियो।'

भाइ शिवनारायण, बुहारी ४० वर्षीया गीतादेवी र भतिजा ८ वर्षीय भूपेन्द्र पनि आँखा देख्दैनन्। शम्भुकी बहिनी ४२ वर्षीया जयकलादेवी र उनका पति ६० वर्षीय लक्ष्मण मण्डल दृष्टिविहीन छन्। जयकला शारीरिक अबलांगसमेत छिन्।

आमाबुबा दृष्टिविहीन नभए पनि शम्भु, शिवनारायण र बहिनी (जयकलादेवी) जन्मजात दृष्टिविहीन हुन्। शिवनारायणले आफू दृष्टिविहीन भएपछि पत्नी पनि उस्तै रोजे। छोरा भूपेन्द्रको समेत दृष्टि कमजोर हुँदा भने उनी चिन्तित छन्।

'कम्तीमा छोराको जीवन आफूहरूको जस्तो हुँदैन होला भन्ने सोच्थेँ, तर नियतिले उसलाई पनि छाडेन,' शिवनारायणले भने। पारिवारिक आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले छोरालाई उपचार गराउन नसकेकोमा उनलाई  पछुतो छ।

 भूपेन्द्रलाई एकपटक उपचारका लागि लहानस्थित आँखा अस्पताल लगेको शम्भुले बताए। उनले भने, 'डाक्टरले नियमित उपचार गराए केही महिनामा उसको आँखा ठिक हुनसक्छ भनेका थिए, पैसा नभएकाले अर्कोपटक लहान जान सकिएन।'

भतिज भूपेन्द्रको पनि आँखाको दृष्टि कमजोर हुँदै गएपछि शम्भु चिन्तित छन्। 'हाम्रै परिवारलाई कुन दशा लागेको हो,' उनले भने, 'हामीलाई जे दुःख दिनु थियो दियौ, हाम्रो सन्तानलाई त छाडिदेऊ भगवान!'

  कमाउने परिवारका सदस्य अशक्त भएपछि मण्डल परिवारको बिचल्ली भएको छ। आर्थिक विपन्नताले परिवारको भरणपोषण तथा बच्चाको लालनपालनमा कठिनाइ भएको शिवनारायणको भनाइ छ।

 सगोलमै बस्ने मण्डल परिवारमा १० बालबालिका छन्। शम्भुका दुई छोरा र दुई छोरी, शिवनारायणका दुई छोरा र एक छोरी तथा जयकलाका दुई छोरा र एक छोरीको लालनपालनमा समस्या भएको मण्डल परिवारको दुःखेसो छ। बहिनी जयकला पनि परिवारसहित माइतीमै बस्छिन्।

 शम्भुकी पत्नी सुकुमारीदेवी दृष्टिविहीन नभए पनि शारीरिक रूपमा अपांग छिन्। सानैमा आगोले पोलेर उनको शरीरका अंगमा भएको घाउ अझै पूर्ण रूपमा निको भएको छैन।   'सानोतिनो पैसा आउने मजदुरी गर्छु,' सुकुमारीले भनिन्, 'एक महिलाले काम गरेर ल्याएको पैसाले यत्रो परिवार चलाउन कहाँ सकिन्छ र!'  परिवार चलाउन धौधौ भएको उनको भनाइ छ।

मण्डल परिवारले राम्ररी नबारेको झुप्रोमा रात काट्दै आएको छ। भित्रपट्टि सुत्ने खाट त परै जाओस्, भुइँमा ओछ्याउन गुन्द्रीसम्म छैन। कोठाको एकातिर पराल छरेर ओछ्याउन बनाइएको छ, जहाँ परिवारका १६ जनाले रात बिताउँछन्। शीतलहर होस्, वा वर्षा, चर्को गर्मी होस् वा हुरीबतास, मण्डल परिवारले त्यहीँ सकससाथ दिनरात काट्दै आएको छ।

आधाजति छानो गत जेठमा आएको हुरीले उडाएर लग्यो।

'जीवन पीडादायी भएको छ, झुप्रोको के पिर?,' शम्भु भन्छन्, 'जन्मेदेखि पीडा खेप्न बाध्य छु, अब त बानी परिसक्यो।'

सामाजिक भत्ताबाट वञ्चित

 शम्भु, उनका भाइ शिवनारायण र बहिनी जयकलाले २०६७ देखि २०७१ असारसम्म गाविस कार्यालयबाट सामाजिक सुरक्षा भत्ताअन्तर्गत शारीरिक अशक्त भत्ता पाउँदै आएका थिए। त्यसपछि भने गाविस सचिवले भत्ता दिन बन्द गरेको जयकलाले बताइन्।

पाँच वर्षदेखि पाउँदै आएको भत्ता सचिवले एक्कासि बन्द गरिदिएपछि आफ्नो परिवारलाई ठूलो मार परेको उनको भनाइ छ। उनले भनिन्, 'भत्ताले परिवार धान्न थोरै सहयोग हुन्थ्यो, अहिले त कैयौं छाक भोकै बस्नुपर्ने बाध्यता छ।'

 गाविस सचिव हरेराम यादवले यसअघि गाविसबाट पाउने सेवा र सुविधा उनीहरूलाई दिँदै आए पनि पछिल्लो वर्ष राज्यले रातो कार्ड लिएकालाई मात्रै सुविधा दिने निर्णाय गरेपछि उनीहरूको सुविधा रोकिएको बताए। 'पूर्ण अपांगता भएकालाई महिला तथा बालबालिका कार्यालयले रातो कार्ड दिने गर्छ तर उनीहरूसँग रातो कार्ड नरहेकाले सुविधा रोकिएको हो,' सचिव यादवले भने। सरकारले अहिले पूर्ण अपांगता भएकालाई रातो कार्ड, सामान्य अपांगता भएकालाई हरियो कार्डलगायतको व्यवस्था गरेको छ। आफूहरू रातो कार्डका लागि बालबालिका कार्यालयदेखि सगरमाथा अपांग संघलगायत विभिन्न निकायमा महिनौं धाउँदा पनि सुनुवाइ नभएको शम्भुको गुनासो छ।

महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ केन्द्रले जारी गरेको निर्देशनअनुसार दृष्टिविहीनलाई रातो कार्ड दिने व्यवस्था नरहेको बताउँछिन्। 'केही गर्न नसक्नेलाई मात्रै हामीले रातो कार्ड दिने हो,  दृष्टिविहीन त्यो श्रेणीमा पर्दैनन्', उनले भनिन्।

दृष्टिविहीनलाई पनि राज्यले शारीरिक अपांगता भएकालाई सरह सेवासुविधा दिनुपर्ने शम्भुको माग छ। 'समाज र राज्यले नसोचिदिए हामीजस्ताका लागि कसले सोचिदेला,' उनी भन्छन्, 'कहिलेकाहीँ त जीवन अभिशापजस्तो लाग्छ, तर अबोध सन्तानका लागि बाँचिरहेको छु।' 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व...

रहेनन् होचा कदका कलाकार

रहेनन् होचा कदका कलाकार

होचो कलाकार दीपेन शाहको बिहीबार बिहान निधन भएको छ । धादिङको कार्यक्रम सकेर चार दिनअघि ललितपुरको घर फर्किएका दीपेन अस्वस्थ्य...