८ वैशाख २०८१ शनिबार
समाज

नेपाली व्यवस्थापक, भारतीय लगानी

काठमाडौं- भारतमा पुराना नोटको कारोबार बन्द भएयता नेपालमा सुन तस्करी बढेको तथ्य बाहिर आएको छ। साथै, विभिन्न देशबाट नेपाल भित्रने सुन ग्राहकमार्फत भारतीय बजार पुग्ने पनि प्रहरी अनुसन्धानले खुलाएको छ।

भारतमा हजार र पाँच सय दरका नोट प्रचलन रोकिएसँगै अवैध सुन प्रतिकिलो पुरानो मूल्यभन्दा ५ देखि ७ लाखसम्म महँगोमा बिक्री हुने गरेको तथ्यले मौलँदो तस्करी पुष्टि गर्छ। प्रहरी अनुसन्धानमा नेपाल भित्रने अवैध सुनको ७५ प्रतिशत खपत भारतमा हुँदै आएको छ। प्रहरीले पछिल्लो दुई महिनामा मात्र ५५ किलोग्राम अवैध सुन बरामद गरिसकेको छ। यस आर्थिक वर्षमा साढे ६१ किलोग्राम सुन बरामद भइसकेको छ।  

सुन तस्करी अनुसन्धान दोस्रो तहमा पुर्‍याएको प्रहरीले नेपाली तस्कर समूहको व्यवस्थापनमा अवैध सुन हवाई र स्थलमार्ग भएर नेपालमा थेग्रिने र ग्राहकमार्फत भारत पुग्ने गरेको पत्ता लगाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार प्रमाणका आधारमा नियन्त्रणमा लिएका विमानस्थल भन्सारका दुई कर्मचारी र सुनसहित पक्राउ परेका तीन जनाको सम्पर्कसूत्रका आधारमा भारतमा नोटबन्दीयता अवैध सुन तस्करी बढेको देखिएको हो। भारतमा नोटबन्दीपछि कालोधन सुनको स्वरुपमा राख्नेको संख्या बढेको आशंका प्रहरीले गरेको हो।

ब्युरो प्रमुख डिआइजी नवराज सिलवालले नेपाल भित्रने सुनका मुख्य ग्राहक भारतीय रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। उनले पछिल्लो समय अवैध सुनको मूल्य प्रतिकेजी ७ लाखसम्म बढेकाले तस्करी पनि मौलाएको बताए। ब्युरोका अनुसार हवाई मार्गसहित चीन नाका रहेका स्थलमार्गबाट समेत ठूलो मात्रामा सुन भित्रिइरहेको छ। 

ब्युरोका अनुसार हाल नियन्त्रणमा रहेका विमानस्थल भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकालको प्रत्यक्ष सहयोगमा गत बिहीबार सुन भित्रिएको थियो। यस्तै मंगलबार प्रहरीले नियन्त्रणमा लिएर गोप्य अनुसन्धान गरिरहेका एक व्यक्ति र गत साता पक्राउ परेका गणेशबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्लेको बयानका आधारमा अवैध सुन खरिदकर्ताले मूल्य बढी दिन थालेपछि तस्करी बढेको हो।

ब्युरोको हिरासतमा रहेका आरोपीको कल डिटेल र शाहीको पासपोर्टका आधारमा मासिक ४ सय पचास किलोग्राम सुन हवाई र स्थलमार्ग भएर नेपाल भित्रिइरहेको तथ्य पनि पत्ता लागेको छ।

यसरी हुन्छ सुन तस्करी

नेपाल भित्रने सुनका दुई मुख्य नाका अन्तर्राष्ट्रिय विमानस्थल र रसुवा तथा तातोपानी नाका हुन्। अनुसन्धान अधिकारीका अनुसार हुन्डी र बोकेरै विदेशी मुद्रा खाडी र चीन पुर्‍याउने एउटा गिरोह सक्रिय छ। यस्तै अवैध सुन खरिद गर्न बजारमा रहेको विदेशी मुद्रा (अमेरिकन डलर, युरो र खाडी देशको मुद्रा) सेटिङमा रहेका सटही काउन्टर र रेमिटेन्स कम्पनीमार्फत जम्मा गर्ने अर्को गिरोह छ। यसरी जम्मा भएको पुँजीबाहेक भारतबाट समेत डलर र भारतीय मुद्रा नेपाल आउँछ।

विदेशी मुद्रा जम्मा गर्ने र विदेश लैजाने गिरोहले निश्चित व्यक्तिको निर्देशनमा काम गरिरहेको हुन्छ। यस्तै, विदेशमा सुन खरिद गरी नेपाल भिœयाउन अर्को गिरोह सक्रिय हुन्छ। तस्कर समूहले प्रत्येकपटक अलग–अलग व्यक्तिलाई सुन बोकाएर नेपाल पठाउँछ। यसरी नेपाल भित्रिएको सुन तस्करले बनाएका अखडा (डेराकोठा, रेस्टुरेन्ट र लज) मा जम्मा हुन्छ। एक वा दुई दिन सुन थन्किएपछि मौका हेरेर सुन मुख्य व्यक्तिसम्म पुग्ने गर्छ। यसपछि पहिले नै बुकिङ गर्ने ग्राहकलाई प्राथमिकतामा राख्दै अर्को भरिया समूहमार्फत त्यो सुन भारतसम्म पुग्छ।

बिहीबार पक्राउ व्यक्ति दोस्रो तहका भरिया हुन्। शाहीले जोरपाटीमा रहेका थापा र काफ्लेसम्म र उनीहरुले लाजिम्पाटमा रहेको एउटा रोधीघरसम्म सुन पुर्‍याउँदै आएको खुलेको छ।

ब्युरोले रोधीघर र विमानस्थलबाट लगेज बाहिर ल्याउन मद्दत गर्ने जालोका सदस्य पक्राउ गरे पनि सुन जम्मा हुने स्थान र भारतीय ग्राहकसम्म पुर्‍याउने समूहको खोजी गरिरहेको छ।

'पक्राउ परेका व्यक्तिलाई त्यो सुन कसको हो भन्ने जानकारी छैन, तर ती व्यक्तिको नाम लिएर लिन आउने व्यक्तिलाई चिन्ने अवस्था हो, एकपछि अर्को कडी जोड्ने कार्य भइरहेको छ,' अनुसन्धानमा संलग्न एक अधिकारीले मंगलबार नागरिकसँग भने।

सम्पर्कसूत्र केलाउँदै ब्युरो

अनुसन्धान अधिकारीका अनुसार कुलेश्वर क्षेत्रमा मोटरपार्ट्स व्यवसाय गर्ने व्यापारी, दरबारमार्ग र नयाँ सडकमा रहेको सुनचाँदी पसल, ठमेलका सटही काउन्टरसँग पक्राउ परेका व्यक्तिहरुको बारम्बार सम्पर्क देखिएको छ। यस्तै, मंगलबार काभ्रेबाट नियन्त्रणमा लिइएका व्यक्ति केही वर्षअघिसम्म ट्याक्सी चलाउने भए पनि हाल उनको आर्थिक अवस्था र सम्पर्कले उनी लामो समयदेखि सुनको अवैध कारोबारमा संलग्न रहँदै आएको खुल्छ।

विमानस्थल प्रहरीका केही अधिकारी, विमानस्थल भन्सारका कर्मचारी र केही व्यवसायी ब्युरोको निगरानीमा छन्। यथेष्ट प्रमाण र आधार नभई पक्राउ गर्दा मुद्दा कमजोर हुने भन्दै ब्युरोले अहिले निगरानीमा मात्र राख्ने रणनीति लिएको छ।

अनुसन्धानकर्ता अनुसन्धानकै अवस्थामा रहेका कारण धेरै बोल्न मानेनन्। 'राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषयमा अनुसन्धानको जिम्मेवारी पहिलोपटक प्रहरीले पाएको हो, सम्पूर्ण विवरण समय आएपछि सार्वजनिक हुनेछ,' एक अधिकृतले भने।

भिडियो दृश्य ब्युरोमा

ब्युरोले सुन तस्करीको अनुसन्धानका लागि विमानस्थल क्षेत्रमा राखिएका क्लोज सर्किट क्यामेरा (सिसिटिभी) का दृश्य लिएर अनुसन्धान थालेको छ। ब्युरोले सोही दृश्यमा पक्राउ परेका अधिकृतद्वय यादव र ढकालको सहयोग प्रस्ट देखिएपछि नियन्त्रणमा लिएको हो। यस्तै विमानस्थल भन्सारका अन्य कर्मचारीका गतिविधि र विमानस्थल प्रहरीका क्रियाकलाप समेत ब्युरोको एउटा युनिटले केलाइरहेको छ।

पहुँचवाला र प्रभावशाली व्यक्तिसमेत संलग्न

प्रहरीले संसद्को अर्थ समिति, गृहमन्त्रालय र अर्थ मन्त्रालयमा सुन तस्करीमा केही पहुँचवाला र प्रभावशाली व्यक्तिको समेत संलग्नताको आधार प्रस्तुत गरेको छ। सुन तस्करीका कारण देशमा तरलता र विदेशी मुद्रा अभाव तथा राष्ट्रिय लज्जाको विषय भएको चर्चा चलेपछि प्रहरीले गृहमन्त्रीको निर्देशनमा गत बिहीबार पक्राउ परेका व्यक्तिलाई संगठित अपराध ऐनअन्तर्गत कारबाही बढाएको छ।

प्रहरीले यसअघिका सुन बरामदका घटनामा २४ घन्टा नबित्दै राजस्वमा बुझाउने गरेकामा राजस्वको अनुसन्धान प्रभावकारी नदेखिएपछि आफंै अनुसन्धान थालेको हो।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सार्वजनिक रुपमै सुन तस्करी अनुसन्धानमा ब्युरो सक्षम रहेको र आवश्यक सहयोग मन्त्रालयले गर्ने जनाएपछि प्रहरीसमेत तस्करीका नाइकेको खोजीमा लागेको हो।

इन्टरपोलमा पनि सुनको विषय

प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा सुनको अवैध कारोबार अन्तर्देशीय आर्थिक अपराधसँग जोडिएको विषय भएकाले इन्टरपोलको आशन्न क्षेत्रीय भेलामा विषय प्रवेश गर्ने बताएका छन्। शर्माले सुन तस्करीको उद्गमबिन्दु पहिचान भएको देश, माग भएको देश, कारोबार व्यवस्थापन गर्ने देशका अधिकारी बीचमा द्विपक्षीय र सामूहिक छलफल हुने बताएका हुन्।

'सुनको अवैध कारोबार उच्च तहको आर्थिक अपराध भएकाले अन्तर्राष्ट्रिय समकक्षीसँग यस विषयमा छलफल हुनेछ, आवश्यक सहयोग आदानप्रदानका लागि समेत पहल हुनेछ,' एआइजी शर्माले भने।

ब्युरो टोलीले  संयुक्त अरब इमिरेटस (युएई) बाट आएका एक यात्रुको लगेजमा २ सय ८२ थान सुनका बिस्कुट गत बिहीबार  बरामद गरेको थियो।

प्रकाशित: २९ पुस २०७३ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App