१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फ्रान्स पाउँदा प्रशिक्षक लोउ खुसी

फ्रान्स- चोटग्रसित खेलाडीको सूची लामो भए पनि जर्मनीका प्रशिक्षक जोचिम लोउ युरोपियन च्याम्पियनसिपअर्न्तगत बिहीबार हुने सेमिफाइनलमा आयोजक फ्रान्सविरुद्ध खेल्न उत्साही छन्। ‘यो महत्वपूर्णा खेल हो र यस्तो हुनु राम्रो हो। नकआउट चरणमा यस्तो टोलीविरुद्ध खेल्न मलाई मनपर्छ,’ लोउले सोमबार इभिएनमा भने।

जर्मनीका तीन मुख्य खेलाडी मार्सेमा हुने सेमिफाइनल खेल्न पाउँदैनन् भने कप्तान बास्टेन स्वास्टाइगरले पनि खेल्नेमा शंका छ। उनको कुर्कुच्चामा चोट लागेको छ। तर प्रशिक्षक लोउ उनीप्रति सकारात्मक छन्।

जर्मनीका रक्षक मेट हुमेल्स निलम्बनमा छन् भने मारियो गोमेज र सामी खेदिरा चोटग्रसित छन्। गोमेजले बाँकी प्रतियोगिता गुमाउने सम्भावना बढी छ।

फ्रान्सले क्वार्टरफाइनलमा कमजोर मानिएको आइसल्यान्डलाई आइतबार ५–२ ले पराजित गर्दै अन्तिम ४ को स्थान पक्का गरेको हो। आयोजक फ्रान्स मार्सेमा पनि डाइहार्ट फ्यानको साथ पाउने आशामा छ।

लोउले फ्रान्सको सेमिफाइनलसम्मको यात्रा राम्ररी नियालेका छन्। जर्मनीले क्वार्टरफाइनलमा इटालीविरुद्ध तनावपूर्ण पेनाल्टी सुटआउट जित निकालेको हो। लामो खेलपछि आराममा रहेका जर्मनप्रशिक्षक आयोजकविरुद्ध खेल्न आतुर छन्।

‘कुन टोली राम्रो भन्नेमा मलाई चिन्ता छैन,’ लोउले भने, ‘हाम्रा केही खेलाडी घाइते छन्। त्यसैले भन्न सजिलो छ कि फ्रान्स बलियो टोली हो र उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्।’

‘तर, ९० वा १ सय २० मिनेटमा अवधिमा यसले कुनै अर्थ राख्दैन,’ लोउले थपे, ‘यो पनि इटालीविरुद्ध जस्तै हो। दुवै टोलीको लक्ष्य स्पस्ट छ। फ्रान्स स्वाभाविक रूपमा आक्रामक खेल्छ। मलाई यस्तो खेलेको मनपर्छ।’

लोउ स्पष्ट छन् कि फिट भएको अवस्थामा स्वास्टाइगर एकजनामात्र फ्रान्सविरुद्ध खेल्न सक्छन्। मार्चमा कुर्कुच्चामा चोट बोकेका म्यानचेस्टर युनाइटेड स्टार स्वास्टाइगर प्रतियोगिताको केही दिनअघि ठिक भएका थिए।

‘यदि खेलाडी शतप्रतिशत फिट छैन भने म खेलाउँदिनँ,’ लोउले भने, ‘मेरो जीवनमा यसअघि मैले यस्तो गल्ती गरिसकेको छु र अब दोहोर्‍याउन चाहन्न।’

लोउले माइकल बालाकलाई युरो २००८ मा स्पेनविरुद्ध खेलाएका थिए, जुन खेलमा जर्मनी १–० ले पराजित भएको थियो। त्यति वेला बालाकले पिडौलामा चोट बोकेका थिए।

प्रकाशित: २१ असार २०७३ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App