७ वैशाख २०८१ शुक्रबार
अर्थ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल महिनाभित्रै निर्माण सुरु हुने

जनकपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै फराकिलो निजगढ विमानस्थलको निर्माण कार्य साउन महिनाभित्रै सुरु हुने दाबी गरेका छन्।

सोमबार जनकपुर विमानस्थल निरीक्षणमा आएका मन्त्री पोखरेलले साढे ८ वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुने अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको शिलान्यास एक महिनाभित्र गर्ने बताए। ‘सिंगो तराईको विकासमा लाइफ लाइनको रुपमा निर्माण हुन लागेको निजगढ विमानस्थल राज्यको प्राथमिकतामा छ,’ मन्त्री पोखरेलले सञ्चारकर्मीसँग भने, ‘तराई तथा पूर्वी नेपाललाई राजधानीसँग कम दुरीमा जोड्ने जंक्सनको रुपमा पनि निजगढको विकास हुनेछ।’

२०१९ सालमा निर्माण भएको जनकपुर विमानस्थल पर्याप्त यात्रु संख्या भएर पनि थप विकास हुन नसकेकोमा स्थानीयले व्यक्त गरेको गुनासोलाई सम्बोधन गर्दै उनले केही महिनाभित्रै देखिने गरी यसमा सुधार हुने प्रतिबद्धता जनाए। हाल दिउँसोमात्रै उडान सम्भव रहेको यो विमानस्थलमा रात्रि उडानको लागि आवश्यक प्रविधि जडान गर्नुको साथै ७२ सिट क्षमता भएको जहाज अवतरण गराउन पनि आवश्यक भौतिक परिमार्जन गर्ने उनले आश्वासन दिए।

विमानस्थलमै पुगेका स्थानीय सरोकारवाला निकायका प्रतिनिधि तथा नागरिक समाजका अगुवाले तराईको राजनीतिक केन्द्र भएर पनि जनकपुरको विकास हुन नसकेकोमा चित्त दुखाउँदै आवश्यक सहयोगको अपेक्षा गरेका थिए। त्यहाँ बुद्ध एयरलायन्सका जनकपुर प्रबन्धक विजय सिंहले एक महिनापूर्व आफूहरुले ७२ सिट क्षमताका जहाजलाई परीक्षण अवतरण गराउँदा पाइएको प्राविधिक कमजोरीबारे मन्त्रीलाई जानकारी गराएका थिए।

ठूलो जहाज अवतरण गर्दा बढ्ने यात्रुका लागि प्रतीक्षालयको अभाव, सुरक्षा चेकजाँचको फितलो व्यवस्थादेखि खानेपानी, शौचालय लगायत समस्याबारे सिंहले मन्त्रीलाई जानकारी गराएका थिए। उक्त समस्या सुनेपछि मन्त्री पोखरेलले आफू बढी नबोल्ने बताउँदै निर्माणाधीन अवस्थामा रहेको नयाँ टर्मिनल भवन र दुई हजार मिटर लामो रनवे निर्माणको लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए।

उनले आफ्नै कार्यकालमा जनकपुरलाई धार्मिक पर्यटकीय नगरीको रुपमा दुई नम्बर प्रदेशको केन्द्र सहरको रुपमा विकास गर्ने वैधानिक काम गर्ने जनाए। विश्वका हिन्दु धर्मावलम्बीहरुको आस्थालाई जनकपुरसँग जोड्ने गरी सरकारी स्तरबाट काम हुनुपर्ने उनको भनाइ थियो।

जनकपुरको राजनीतिक पहुँच नपुगेर विकासमा पछाडि नपरेको औंल्याउँदै उनले राष्ट्रपतिदेखि दर्जनौं मन्त्रीले यो ठाउँबाट प्रतिनिधित्व गरे पनि विकासको दृष्टिकोण अभावले माथि उठ्न नसकेको बताए। ‘तर, इमानदारीपूर्वक काम गरियो भने अहिले पनि जनकपुरलाई मुलुकको उदाहरणीय सहर बनाउन सकिन्छ,’ मन्त्री पोखरेलले भने।

प्रकाशित: २१ असार २०७३ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App