coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

ओम पुरीको आक्रोश

प्रिय दर्शन
एउटा समय थियो ओम पुरी, नसिरुद्दिन शाह, स्मिता पाटिल र सबाना आजमीले बनाएको समय । त्यसले एउटा सिनेमाको समानान्तर पहिचान बनाएको थियो । कुनै पनि सिनेमामा यी सबै कलाकार वा यीमध्ये कुनै एक जनाको उपस्थितिले मात्रै पनि फिल्मको गम्भीरताको सुनिश्चितता गथ्र्यो । उनीहरूको उपस्थितिले कुनै फिल्मलाई कला फिल्मको दर्जा दिलाउँथ्यो ।

यो त्यो बेला थियो, जहाँ सतही एक्सन र रोमान्स फिल्मले हिन्दी सिनेमाको मुख्य धारको पहिचान बोकेको थियो । निःसन्देह यही बेला केही ‘राम्रा’ मानिने पारिवारिक फिल्म र केही ‘स्वस्थ’ मानिने हास्य फिल्म पनि बन्थे, तर त्यो बेलाका सिनेमाले बौद्धिक विमर्श भने गरेको थिएन । बौद्धिक विमर्शको केन्द्रीय भूमि तिनै समानान्तर, सोद्देश्यपूर्ण या कला फिल्महरूले नै तयार पार्थे ।

आज केही टाढैबाट ती फिल्म सम्झँदा या तिनलाई नयाँ दृष्टिले हेर्दा केही अनौठो महसुस हुन्छ । सिनेमाबारे आफ्नो बुझाइमा केही सन्देह पनि हुन्छ । जुन फिल्म त्यो बेला गज्जबका लाग्थे, अचानक कृत्रिम र आडम्बरी बौद्धिकताको सिकार भएको फिल्म अनुभूत हुन्छ । तिनका संवाद नक्कली लाग्छन् । क्यामेरा घुर्मैलो रंगमा अरु नै केही देखाउन व्यस्त भएजस्तो लाग्छ । तिनका कथासूत्र स्वाभाविक लाग्दैनन् । अन्ततः ‘यथार्थ’लाई यथार्थका साथ सरलीकृत ढंगले पक्रने ती फिल्म हाम्रा लागि यसकारण पनि प्रिय थिए, त्यो बेला कारोबारी फिल्मी दुनियाँले निकै ‘अश्लील’ तरिकाले टाढाबाट राजनीतिक–सामाजिक सन्देश दिने प्रयास गर्थे ।

तर, यी फिल्मका कुन कुराले हामीलाई आकर्षित गर्थे ? निःसन्देह तिनमा हेर्न पाइने अभिनयको अलग्गै आभाले । फिल्म ‘आक्रोश’मा आदिबासी ओम पुरीको भित्रभित्रै आगो सल्किरहेको मौन आँखाले हामीलाई कहिल्यै छाड्दैनन् । ‘अर्धसत्य’मा एउटा विवश प्रहरी निरीक्षकभित्र उत्पन्न हुने कुण्ठा र क्रोधलाई ओमको अभिनयसँगै लिएर हामी हलबाट निस्कन्थ्यौँ । ‘मिर्च मसाला’का सचेत चौकीदार हुँदासम्म हामी ढुक्क हुन्थ्यौँ– ऊ हुञ्जेल त्यहाँ काम गर्ने युवतीमाथि केही हुनेहुनामी घट्ने छैन ।

निश्चय नै यही कुरा अन्य फिल्मका बारेमा नसिरुद्दिन शाह र स्मिता पाटिलका बारेमा पनि भन्न सकिएला । यो ती फिल्मको सौभाग्य थियो कि तिनले उनीहरूजस्ता विलक्षण अभिनेताको साथ पायो । यस्ता फिल्मको सूची लामो छ, निकै लामो, जसमा तिनले एक्लै एक्लै या सँगै काम गरे र आफ्नो अभिनयको बलले हाम्रो स्मरणमा लाहा छाप लगाइदिए ।

ओम पुरी ती सबैमा उम्दा थिए । ज्यादै सामान्य र टाटेपाटे अनुहारका उनमा केही विशेष थियो भने उनको आवाज नै थियो । उनले आफूसँग भएको यो आवाजलाई पनि निकै संयमताका साथ प्रयोग गरेका थिए । सायद राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)को प्रशिक्षणको असरकै कारण उनले जटिलभन्दा जटिल अभिनय पनि निकै सहजताका साथ गर्थे । रंगमञ्च, सिनेमा, टेलिभिजन हरेक ठाउँमा उनले निकै गहिरो छाप छाडे ।

एनएसडीका केही उम्दा र स्मरणीय प्रस्तुति उनीबिना अधुरा हुन्थे । ‘तमस,’ ‘राग दरबारी’ र ‘कक्काजी कहिन’जस्ता टेलिभिजन शृंखलामा उनको अभिनयले एउटा अलग्गै आयाम जोडेका थिए । पछि त उनी मुख्य धाराका कारोबारी फिल्मसँग पनि जोडिए र कैयौँ हास्य भूमिकामा देखिए । खासगरी ‘चाची ४२०’ र ‘मालामाल विक्ली’को काम उनका स्मरणीय चरित्रमध्येमा लिन सकिन्छ ।

सत्य त के हो भने, हिन्दी सिनेमाले जुन ओम पुरीलाई स्मरण गर्छ, त्यो अहिले पनि सत्तरी र असीको दशकका फिल्मका क्रोधी, राता आँखा र गहन आवाजयुक्त अभिनेताका रूपमा मात्रै स्मरण गर्छ । त्यो पहिचानबिनाका ओम पुरी नै होइनन् । तीबाहेक उनले गरेका अन्य सयौँ चरित्रका कारण उनी चिनिएका होइनन् । दुःख त केमा लाग्छ भने, समानान्तर सिनेमाका सबै कलाकार त्यस संसारबाट टाढिए । जुन वर्गको कथा उनीहरू कहन्थे, त्यसबाट टाढिए । अमरिश पुरी, ओम पुरी र नसिरुद्दीन शाह सबैले बाटो छाडे ।

यी कलाकारका लागि कारोबारी सिनेमा, करोड क्लब, व्यावसायिक फिल्म, जेसुकै नाम दिनुहोस्, उनीहरूको ससुराली होला तर माइती त समानान्तर फिल्म र रंगमञ्च नै थियो । तिनैले उनीहरूभित्रको श्रेष्ठतम कलाकारिता मुखर गरिदिएको हो । यही कारण नै उनीहरू बारम्बार ती चरित्र र त्यो संसारमा फर्किएर आए । ओम पुरी त बेलाबेलामा नाटक गर्न फर्किरहन्छन् र त्यहीँ यस्तो लाग्छ– उनी अभिनयकै लागि जन्मिएका हुन् ।

त्यसो त हिन्दी फिल्म पहिलेभन्दा अहिले निकै परिवर्तन भइसकेको छ । कला फिल्म बनाउने भनी चिनिएका केही निर्देशक कारोबारी फिल्मका निर्देशक बन्न पुगेका छन्, तर राम्रा फिल्म पनि बनाइरहेका छन् । यही कुरा अभिनेताहरूका पक्षमा पनि राख्न सकिन्छ । ओम पुरीले अभिनयको जुन विरासत छाडेर गएका छन्, त्यो विरासत नयाँ पुस्ताका दुई कलाकारले ठ्याक्कै अँगालेका छन् । इरफान खान र नवाजुद्दीन सिद्दिकी कला फिल्म मात्र होइन, करोड क्लबका फिल्मका पनि रूचाइने कलाकार बन्न पुगेका छन् । उनीहरूले त अभिताभ बच्चनदेखि शाहरुख खानसम्मलाई अभिनयमा चुनौती दिइसकेका छन् ।

तर, आजको यो परिवर्तन कुनै शून्यबाट उत्पन्न भएको भने पक्कै होइन । यसलाई ती पुराना दिनका कारोबारी र कलात्मक प्रयत्न दुवैले मिलेर बनाएका हुन् । सत्तरी र असीको दशकमा आआफ्नो माध्यम प्रयोग गर्दै दुस्साहसिकता देखाउनु र सीमित दर्शकका बीच सन्देशमूलक फिल्म बनाउने प्रतिबद्धता जनाउनु कुनै सानो कुरा थिएन । त्यो प्रयोग अहिले पनि परिष्कृत रूपमा जारी छ ।

सिनेमा यतिबेला बौद्धिक होइन, गाउँले–साना सहरमुखी हुने प्रयास गरिरहेका छन् । संवादको ढंग पूरै बद्लिएको छ । क्यामेरा तिख्खर हुन थालेको छ र यस्ता कोणबाट जीवन पक्रने प्रयासमा छ, जसमा ती काँचो नै देखियून् भन्ने अपेक्षा गर्न थालिएको छ । कथामा अशिष्ट फाइट र सतही रोमान्सका लागि ठाउँ घट्दै जान थालेको छ । कतिमा त त्यसका लागि ठाउँ नै छैन भन्दा पनि हुन्छ । यसले राम्रा अभिनेताको थाप्लोमा चुनौती पनि थपिदिएको छ ।

यी सबका बीच ओम पुरीको विरासतको मूल्य बुझ्न सकिन्छ । अभिनयको जुन व्याकरणलाई उनले आफ्नै ढंगले प्रयोग गरे, त्यो अहिले पनि यति उम्दा र प्रामाणिक छ कि नयाँ पिँढीका लागि पनि उत्तिकै कामलाग्दो छ र काम लागिरहनेछ । अँ, केही गुनासो त अझै पनि छ– त्यो आक्रोश र प्रतिबद्धता पुरानो जमानाका कुरामा सीमित भएको छ । ती कुरालाई ओम पुरी र त्यो बेलाका कलाकारले स्वतः रचेका थिए । यो कुरा भलै कसैलाई थाहा नहोस्, तर संसारलाई यी सारा कुराले चुपचाप चुपचाप परिवर्तन गरिरहेको हुन्छ ।
स्क्रोल डट इनबाट अनुदित
 

प्रकाशित: १ माघ २०७३ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App