coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

एक दुर्लभ क्षण

गोँधूलिमा कविता’ कार्यक्रममा सहभागिता जनाउन पोखरा पुगेका कविहरू फेवातालमा डुंगा सयर गर्दै ।

आरके अदीप्त गिरी

धुले चौरको पाटीमा दुबो लेखेर
मीठो जंगले घाँसको रुख पढ्न
पुस्तकको खाली झोला बोकेर
आफै उठेको पहाडको काँधमा
सहरका एक हुल असन्तुष्ट बाख्राहरू
बाघ खोजेर सिंगौरी खेल्दै स्वयं जंगल पसेका छन् ।

(बाघचाल)

कवि तुलसी दिवस जहाँजहाँ पुग्छन् उनलाई स्रोता तथा पाठकले पछ्याइरहेकै हुन्छन् । उनको कविता र प्रस्तुतिको चर्चा भइरहेकै हुन्छ । २०१६ सालदेखि हालसम्म नेपाली कवितायात्रामा संलग्न यी कवि पुरानै कविताले जहिल्यै ब्रान्डेड कहलिएका छन् । गतसाताको शनिबार पोखरामा आयोजित ‘गाँेधूलिमा कविता’ कार्यक्रममा उनले ठूलो संख्यामा रहेका पाठक तथा दर्शकलाई कविता के हो ? के होइन ? भन्नेबारे लामो भाषण दिए । उनले उक्त भाषणमा भनेका थिए ः

–कविताको शक्ति र सामथ्र्य कविले नै बोल्नुपर्ने ।
–हमेसा कविता नयाँनयाँ शैली र मौलिक स्वरमा लेखिनुपर्ने ।
–नेपाली कविताको साँध–सीमा फराकिलो हुनुपर्ने ।
–कवि र पाठकको सम्बन्ध जहिल्यै मितव्ययी हुनुपर्ने ।
–हामीले के लेख्दै छौँ, कसका लागि लेख्दै छौँ आदिमा डिस्कोर्स हुनुपर्ने ।
–कविता आफ्नै माटोजस्तै हुनुपर्ने ।
–सरल र खुल्ला अभिव्यक्तिका कविता नै जहिल्यै रूचाइने ।

आादिआदि कविता विषयक धारणामा उनले करिब आधा घन्टा खर्च गरे । उनले राखेका विचारप्रति उपस्थित दर्शकले ताली र सुसेलीले लय मिलाए । कार्यक्रम पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको थियो ।

पर्यटकले खचाखच हुने पोखरा साँच्चिकै कविताले तातेको थियो । कार्यक्रममा देशका तीसको दशक आसपासमा नेपाली कवितालाई विशेष योगदान पु¥याएका उमेरले ५० काटेका १५ प्रतिनिधि कवि तुलसी दिवस, मञ्जुल, अशेष मल्ल, विष्णुविभु घिमिरे, उषा शेरचन, विजय बजिमय, तीर्थ श्रेष्ठ, राजेन्द्र सलभ, प्रकट पगेनी शिव, विवश पोखरेल, स्नेह साय्मि, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ र इन्द्रकुमार विकल्पको उपस्थिति थियो ।
दुई सयभन्दा बढी दर्शकको उपस्थितिबीच कविहरूले आआफ्ना दुई–दुई प्रतिनिधि कविता वाचन गरेका थिए । हरेकजसो कविका कवितालाई दर्शकले बडो ध्यानपूर्वक सुने भने दर्शकदीर्घाबाट केही कविताले ‘वान्समोर’ पनि पाएका थिए ।

अटल माछापुच्छे्र र अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखरा सिर्जनाका दृष्टिले उर्वर मानिन्छ । जसरी पोखराको सौन्दर्य विविधतामय छ, त्यसैगरी यहाँको साहित्य, कला पनि अद्वितीय छ । भाषा, कला, साहित्यका दिग्गज हस्ती पोखराको माटोले जन्माएको छ । लेखनाथ पौड्याल, अलि मिया, धर्मराज थापा हुन् या भूपि शेरचन हुँदै प्रारम्भ भएको यहाँको साहित्ययात्राले मुकुन्दशरण उपाध्याय, तेजनाथ घिमिरे, सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’ आदि हुँदै अहिलेका रमेश श्रेष्ठ र सरस्वती प्रतीक्षासम्मलाई डो¥याएको छ । यी र यस्ता स्रष्टाको उपस्थितिले पोखराको केन्द्रसम्म पहुँच बलियो बनेको छ ।

यसरी हेर्दा पोखरालाई कला, साहित्य, संगीतको संगम पनि भन्न सकिन्छ । पोखरासँग गर्वशाली विगत छ । कलाको क्षेत्रमा धेरै स्रष्टाले योगदान दिएका छन् । पोखराको साहित्यिक इतिहासको प्रारम्भ र विकासमा विभिन्न संघसंस्थाको भूमिका पनि उल्लेख्य छ । यहाँबाट थालिएका साहित्यिक अभियानहरू– संरक्षण कविता आन्दोलन, तरलवादले नेपाली साहित्यमा राम्रै चर्चा जमाएका छन् । यही इतिहास र आशालाग्दो वर्तमानका बीच पोखरामा विशिष्ट खालका कार्यक्रम हिजादेखि आजसम्म हुँदै आएका छन् । लेखन र प्रकाशनमा पनि पोखरा अहिले अगाडि नै छ ।

तीसको दशकमा पोखरामा आयोजना गरिएको मुक्तक विशेष कार्यक्रमको प्रभाव यहाँ अहिलेसम्म पनि छ । २०३५ माघ २० गते हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाइ गरिएको उक्त कार्यक्रममा देशभरिबाट डेढ दर्जनभन्दा बढी स्रष्टाले उपस्थिति जनाएका थिए । ‘त्यो बेला मुक्तक सुन्न र सुनाउन पोखरा जाने भन्ने चलन नै चलेको थियो । सृजनाको मूल्य हुनुपर्छ भन्ने ध्येयका साथ दुई रुपैयाँको टिकटमा गरिएको कार्यक्रममा भवानी घिमिरे, केशवराज पिंडाली, हेम हमाल, गगन विरही, कृष्णभूषण वल, धु्रवकृष्ण द्वीप, कणाद महर्षि, जैनेन्द्र जीवन, बुँद रानालगायतका स्रष्टाको उपस्थिति थियो,’ पोखरेली कवि तीर्थ श्रेष्ठले त्यो समयलाई स्मरण गर्दै भने ।

कार्यक्रमको प्रभाव यतिसम्म थियो कि शृंखलालाई पहिलो, दोस्रो सो गरेर चलाउनुपथ्र्यो । तीसको त्यो त्यही समयको प्रभाव आज पनि परिरहेको अर्का पोखरेली स्रष्टा प्रकट पगेनी बताउँछन् । लेखनका दृष्टिले पनि पोखरालाई तीसको दशक अत्यन्त फाप्यो । देशले गर्व गर्न लायक स्रष्टा यसै भूमिमा जन्मिए । त्यसको जस उही पोखरेली युवा सांस्कृतिक परिवारलाई जान्छ । जसले टिकटमा मुक्तक कार्यक्रमको आयोजना गरेको थियो । त्यसपछिका केही वर्ष कार्यक्रमले निरन्तरता पाए पनि वार्षिक रूपमा कार्यक्रम गर्न विभिन्न अप्ठेरो परेको तीर्थको भनाइ छ । तैपनि विविधखाले कार्यक्रमले आजसम्म पनि निरन्तरता पाएकै छन् ।

विगतका कार्यक्रमहरूलाई अध्ययन गर्दा ५० को दशक केही सुसुप्त रहे पनि साठी र सत्तरीको दशकलाई पोखरेली साहित्य–कलाको क्रियाशील समय मान्छन् आयोजक संस्था पोयुसापका अध्यक्ष दीपक समीप । अहिले व्यक्तिगत र संस्थागत क्रियाशीलतामा थुपै्र स्रष्टा समर्पित भई पोयुसापको विकासमा समर्पित छन् । पुरानादेखि नवप्रवेशीसम्मको साहित्य–कलाको सेतु पोयुसाप नै बनेको छ । सबैको प्रयासले कार्यक्रम गर्न सम्भव भएको अध्यक्ष समीप बताउँछन् ।

‘यस्ता ओजपूर्ण कार्यक्रमको प्रभाव समाजमा दिगो रहन्छ । कविताको वैचारिक तथा कलात्मक मूल्य यसरी रहन्छ, जुन कार्यक्रमले प्रशंसा पाउँछ,’ कविताको काव्यात्मक सौन्दर्य र मूल्य औँल्याउँदै कवि तुलसी विवशले कार्यक्रममा आफ्नो धारणा राखेका थिए । मञ्चमा उक्लेका प्रायः सबै कविले कार्यक्रमको प्रशंसा गरेका थिए ।
वर्णानुक्रमअनुसार कविहरूलाई मञ्च उकालिएको उक्त कार्यक्रममा अशेष मल्लले आफ्नो सम्बन्ध पोखरासँग तीसको दशकदेखि नै गाँसिएको बताउँदै दुई कविता ‘अहिलेको काठमाडौँ’ र ‘बुधनको पसिनाको गन्ध’ वाचन गरे । त्यसपछिको पालो पर्वतका कवि इन्द्रकुमार विकल्पको थियो  । उनले ‘उत्साहले शिखर चुम्न खोज्दा’ र ‘म र नदी’ कविता वाचन गरे । अनि मञ्चमा पुगिन् कवि उषा शेरचन । उनले आफ्ना केही प्रतिनिधि मुक्तकसँगै दुई कविता प्रस्तुत गरिन् ।

शेरचनपछि मञ्च उक्लेका कवि किशोर पहाडीले पनि दर्शकको मन जिते । उनले ‘अन्तिम रात’ र ‘मेरो छोरो पनि ठूलो मान्छे भएछ’ कविता वाचन गरेका थिए । तीर्थ श्रेष्ठले ‘धर्मग्रन्ध’ कविता वाचन गरेर दर्शकलाई मोहित पारे । त्यसपछि प्रकट पगेनीले दर्शकको मन जिते । आफ्नो विशेष प्रस्तुतिले जहिल्यै मञ्च तताउने यी स्रष्टाले सुडानको भोकमरीमाथि लेखेको कविता ‘भोक’ सुनाउँदा दर्शकदीर्घामा एकखाले सन्नाटा छाएको थियो । शिवपछिको पालोमा स्रष्टा विजय बजिमय थिए । उनले केही मुक्तकका साथ ‘बाउ भनाउँदाहरू’ र ‘इष्ट देवता’ प्रस्तुत गरे ।

बजिमयपछि मञ्च उक्लिए नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिसमेत रहेका कवि विष्णुविभु घिमिरे । उनले पोखराको वाङ्मयिक परम्पराको गौरवमय प्रशंसा गर्दै अत्यन्त सरल, सरस र हृदयस्पर्शी ‘हरायो’ शीर्षकको कविता बाचन गरे । त्यसपछिको पालो कवि मञ्जुलको थियो । उनले ‘आमा’ र ‘ताल जस्तो म’ कविता प्रस्तुत गरे । उनको शालीन प्रस्तुतिलाई पनि दर्शकले रूचाएका थिए ।

त्यसपछि भने राजेन्द्र शलभ उक्लिए । शलभले ‘छोरी’ र ‘पढेर के हुन्छ ?’ कविता वाचन गरेपछि लक्ष्मी माली मञ्चमा उक्लिइन् । उनले ‘आमा तिम्रो नाम के हो ?’ र ‘हली र मैसापको वार्ता’ कविता सुनाइन् । उनको कवितामा पनि दर्शक मग्न भए भने त्यसपछि विश्वविमोहन श्रेष्ठले आफ्ना ‘परदेशिएको छोरो’ र ‘म पृथ्वीनारायण शाह’ कविता सुनाए ।

श्रेष्ठपछि विराटनगरबाट कविता वाचनकै लागि पोखरा पुगेका कवि विवश पोखरेलले मञ्च लिए । उनले ‘एउटी नगरबधुको डायरी’ र ‘ऊसँगको भेटमा’ शीर्षकका दुई कविता वाचन गरे । त्यसपछिको पालोमा स्नेह साय्मि परे । उनले आफ्नो शालीन प्रस्तुतिमा ‘बन्दुक र रातो गुराँस’ र ‘झोला’ नामका परिवर्तनगामी आवाज बोल्ने कविता प्रस्तुत गरे ।

र, कार्यक्रमको बिट मार्ने काम भने कवि दिवसले  गरे । कार्यक्रम समापनपछि हलबाट बाहिरिएका प्रायः स्रष्टाले एउटै मञ्चबाट सामूहिक रूपमा कविता वाचन गर्न पाउँदा ‘एक दुर्लभ क्षण’ सिर्जना भएको भन्दै खुसी व्यक्त गरे । आयोजक संस्थाका अध्यक्ष समीपले तीसको दशकआसपास चर्चामा रहेका कविहरूलाई एउटै मञ्चमा उभ्याउन पाएकोमा अत्यन्त खुसी महसुस भएको प्रतिक्रिया दिए । उनले भने, ‘यसले पोखराआसपासको काव्यिक दायरा केही मात्रामा भए पनि फराकिलो बनाउने विश्वास छु ।’

प्रकाशित: १ माघ २०७३ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App