८ वैशाख २०८१ शनिबार
समाज

पहेंलो ‘माल’ को कालो कारोबार

शनिबार बालाजुबाट बरामद सुन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक प्रद्युम्न कार्की । तस्बिरः दीपक

काठमाडौं-सुन तस्करीको जालो भत्काउन प्रहरीले एक वर्षअघि साढे नौ किलो सुन र दुई जना भारतीय नागरिकलाई राजस्वमा बुझाएन । सुन तथा विदेशी मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्रेको २४ घन्टामा राजस्व बुझाउने परम्परा तोडिएको सम्भवतः पहिलो घटनामा अवैध सुन किन्न आउने थप एकजना पक्राउ परे । बाँकी पक्राउ व्यक्ति थुनामा छन्, मुद्दा अदालतमा विचाराधीन छ ।

पौने पाँच करोडबराबरका विदेशी मुद्रा र १५ किलो सुनसहित तीन चिनियाँ र दुई नेपाली पक्राउ

प्रहरीले सुन तस्करीमा संलग्न संगठित गिरोह खोज्न थालेको एक वर्षमा संयौ किलो सुन बरामद भएको छ । हजारौं किलो भारत पुगेको शंका प्रहरी स्वयंले गरेको छ ।

सुन तस्करीका लागि स्वर्ग बनेको मुलुकमा पछिल्लोपटक प्रहरीले साता बिराएर सुनका भारी बरामद गरिरहेको छ । आर्थिक वर्ष २०७०-७१ देखि यस आर्थिक वर्षसम्म ३ सय ३१ किलो सुन बरामद भएको प्रहरी तथ्यांक छ । तर पनि प्रहरीले सुन तस्करीको संगठित गिरोहसम्म पुग्ने घोषणा सार्वजनिक गर्न छाडेको छैन ।

पछिल्लोपटक प्रहरीले तीन फरक घटना अनुसन्धानका लागि सम्पूर्ण अधिकार प्राप्त संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कारबाही अघि बढाउने भएको छ । तर पुरानै अनुसन्धान पद्धति, सुन तस्करीमा शक्तिकेन्द्रको दबदबा रहेको प्रहरीको स्विकारोक्ति र सरकारी निकायबीच समन्वय कमीका बीच सुन तस्करीको संगठित गिरोहसम्म प्रहरी पुग्ला ? प्रश्न एक वर्षअघिझैँ ज्युँका त्युँ छ ।  

सुन तस्करीका लागि स्वर्ग बनेको मुलुकमा पछिल्लोपटक प्रहरीले साता बिराएर सुनका भारी बरामद गरिरहेको छ । आर्थिक वर्ष २०७०-७१ देखि यस आर्थिक वर्षसम्म ३ सय ३१ किलो सुन बरामद भएको प्रहरी तथ्यांक छ । तर पनि प्रहरीले सुन तस्करीको संगठित गिरोहसम्म पुग्ने घोषणा सार्वजनिक गर्न छाडेको छैन ।

पछिल्लोपटक प्रहरीका तीन फरक इकाइले सुन र विदेशी मुद्राको अवैध कारोबार र सञ्जाल भत्काउन विशेष अनुसन्धान र कारबाहीका लागि बनेको संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा अघि बढाएका छन् । ब्युरोले पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सहयोगमा भित्रिएको साढे ३३ किलो सुन बरामद गरे । पुस २१ को यस घटनामा तीन जना ओसारपसारमा संलग्न, भण्डारणमा संलग्न थप एक र दुई सरकारका अधिकृत पक्राउ परे । ब्युरोले सुनसँग जोडिएका सरकारी कर्मचारी समेतलाई संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

महाशाखा र काठमाडौं प्रहरीले शनिबार बरामद अवैध विदेशी मुद्रा र सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसहितलाई संगठित अपराधमै कारबाही अघि बढाउने जनाएको हो ।

महाशाखाले नै गत पुस २४ मा सार्वजनिक गरिएका तीनजना विरुद्ध पहिलोपटक सुनको अवैध कारोबारमा संगठित अपराधमा कारबाही सुरु गरेको थियो । २०७२ पुस २३ मा साढे नौ किलो सुनसहित पक्राउ परेका विक्रम मित्तल, विवेक मित्तल र भागिरथ चौधरी सोही वर्ष फागुन ३० मा काठमाडौं जिल्ला अदालतको फैसलाले पुर्पक्षका लागि थुनामा गएका छन् ।

महाशाखाको अनुसन्धानमा केही चिनियाँ नागरिकको संलग्नता खुले पनि शनिबार पक्राउ परेका व्यक्ति र मित्तल दाजुभाइको कारोबारसँग तार जोडिँदैन ।

आठ वर्षदेखि नेपालमा बस्दै आएका विक्रम र विवेक मित्तलको देखिने व्यवसाय सुन कारोबार थियो । न्युरोडस्थित ’भाग्यलक्ष्मी ज्वेलर्स’ का सञ्चालक मित्तल दाजुभाइले बयानमा पोलेका चिनियाँ ‘मामा’ अझै अज्ञात छन् ।

महाशाखाका अनुसार भारत, पश्चिम बंगालका मित्तल दाजुभाइ चिनियाँ र भारतीय व्यापारीसँग मिलेर ’वैध व्यापारको आवरणमा सुन तस्करी’ मा संलग्न रहेको अनुसन्धानमा खुलेको थियो । अनुसन्धानमा मित्तल दाजुभाइ तस्करीको सुन किन्न आएका भारतीय नागरिक भागीरथ चौधरी पक्राउ परे पनि घटनामा संलग्न अन्य पक्राउ पर्न सकेका छैनन् ।

शनिबार महानगरीय अपराध महाशाखा र  महानगरीय प्रहरी वृत्त बालाजुले भिन्दाभिन्दै स्थानबाट करिब पौने पाँच करोड नेपाली रुपैयाँबराबरका विदेशी मुद्रा र १५ किलोग्राम सुनसहित तीन चिनियाँ र दुई नेपाली पक्राउ गरेको हो ।

महाशाखाको टोलीले ठमेलबाट भाडाको स्कारपियोे गाडी लिएर गल्छी हँुदै केरुङ जाँदै गरेका दुई महिलासहित तीन चिनियाँ र नेपाली सवारीचालकलाई नागढुंगाबाट पक्रेको हो । महाशाखाको विशेष टोलीले चिनियाँ नागरिक चाङ तोङ फाङ, चौ सलियन, चाउ लियाङ फङ र सवारीचालक पेम्बा तामाङलाई सुटकेसमा फल्स बटम बनाएर विभिन्न देशका मुद्रा केरुङ नाका हुँदै तस्करी गर्दै रहेको अवस्थामा पक्राउ गरेको हो ।

बालाजु प्रहरीले शनिबार बिहान साढे एक बजे चमती क्षेत्रबाट टाटासुमो गाडीको इन्जिनमा लुकाएको अवस्थामा १५ किलो सुनसहित चालक भक्तपुरका रविन्द्र भुजेललाई पक्राउ गरेको हो । महाशाखाले बा.१ य १२३२ नम्बरको हरियो प्लेटको स्कारपियो र बालाजु प्रहरीले बा१झ ४९६४ नम्बरको कालो प्लेटको टाटासुमो बरामद गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले चीनबाट भित्रने अवैध सुन र शनिबार पक्राउ परेको विदेशी मुद्रा एकअर्कामा सम्बन्धित रहेको बताए । उनले पक्राउ परेका तीनै जना लामो समयदेखि महाशाखाको निगरानीमा रहेको जानकारी दिए । उनका अनुसार ठमेलमा व्यावसायिक आवरणमा नेपाल आउजाउ गर्दै आएका तीनै जना सुन तस्करी गिरोहका लागि अवैध मुद्रा ओसारपसारमा संलग्न थिए ।

‘पक्राउ परेका आरोपी हाम्रो निगरानीमा थिए, चीन जाँदै गरेको अवस्थामा पक्राउ गरेका हौ, संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान अघि बढ्नेछ,’ एसएसपी खनालले भने ।

यस्तै, सुन सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा निमित्त काठमाडौं प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले पक्राउ परेका व्यक्तिलाई निश्चित स्थानमा सवारीसाधन र सोको चाबी छाडेर जान गिरोहले भनेको बताए । उनले घटनामा संलग्न अन्य दुई व्यक्तिको समेत पहिचान भएको बताए ।

‘सुराकीका आधारमा बालाजु प्रहरीको कारबाहीमा सुन बरामद भएको हो, हातहतियार र लागुऔषध भन्ने थियो, सुन रहेछ । दुई जनाको पहिचान खुलेको छ, संगठित अपराधमा मुद्दा चलाउने तयारी हुँदै छ,’ एसपी कार्कीले भने ।
केरुङबाट सुन आयो, पैसा जाँदै थियो

महानगरीय प्रहरीको एउटा इकाईले शनिबार विहान एक तीस बजे १५ किलोग्राम सुनसहित एक जनालाई पक्राउ ग¥यो । केही दिनअघि केरुङ नाका भएर काठमाडौं हातहतियार, लागुऔषध र सुन भित्रने सूचना पाएको काठमाडौं प्रहरी अर्लट थियो । शनिबार बिहान साढे दुई बजे नै प्रहरीकै अर्को एकाइले करिब पौने ५ करोड नेपाली रुपैयाँबराबरका विदेशी मुद्रा बरामद ग¥यो । दुई दिनअघिदेखि महाशाखाको टोलीले पच्छ्याइरहेका चिनियाँ नागरिकलाई उनीहरुको गन्तव्य प्रमाणित गर्न महाशाखाले मौका पर्खिएको थियो ।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र र गृह मन्त्रालय बीचमा समन्वयनकारी र सहयोगी भूमिकाबाट मात्र सुन तस्करीको जालो भत्काउन सम्भव छ । यस्तै, अवैध सुनमा निर्भर नेपाली बजारको आँकडा सरकारले बुझ्न अनिवार्य छ ।

अनुसन्धान अधिकारीका अनुसार नेपालमा वन्यजन्तुका ओखेटोपहार, मूल्यवान जडीबुटी र रक्तचन्दनमा चिनियाँ नागरिकको लगानी क्षेत्र रहेकाले नगद भित्रन्छ । यसपटक बाहिरिँदै गरेको रुपैयाँ सुनकै लागि भएको बुझ्न कठिन छैन ।

महाशाखाले बरामद विदेशी मुद्राको स्वरुप हेर्दा कुनै एकै व्यवसायभन्दा पनि विभिन्न क्षेत्रबाट संकलित रकम लुकाइछिपाई केरुङ नाका भएर चिन जादै थियो । यस्तै केरुङबाट आएको सवारीसाधानमा अवैध सुन बरामद भएको हो ।

महाशाखाका एक अधिकारी भन्छन्,‘ केरुङबाट सुन आयो, पैसा जाँदै थियो ।’ उनका अनुसार पछिल्लो केही वर्षयता यसरी नै हवाई तथा स्थलमार्ग भएर विदेशी मुद्रा जाने र सुन आउने क्रम चलिरहेको छ ।

विश्वस्तस्रोत अनुसार सुनको अनुसन्धान र कारबाहीमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र र गृह मन्त्रालय बीचमा समन्वयनकारी र सहयोगी भूमिकाबाट मात्र सुन तस्करीको जालो भत्काउन सम्भव छ । यस्तै, अवैध सुनमा निर्भर नेपाली बजारको आँकडा सरकारले बुझ्न अनिवार्य छ ।

‘सुन आउने देश र सुन खपत हुने देशसँँग सरकारको उच्च निकायले सहयोग मागेर कारबाही अघि बढाए रोकिने हो, अन्यथा मौसमी खेल चलिरहेनछ,’ स्रोतले भन्यो । पछिल्लो समय भारतीय पक्षले विशेष चासो देखाउन थालेको छ । ‘शुक्रबार नेपालस्थित दूतावासका केही अधिकारी ब्युरोमा गएको बुझेका छौं, यसपटक कारबाही प्रभावकारी र परिमाणमुखी हुनेमा आशावादी बन्ने न हो,’ स्रोतले भन्यो ।

महाशाखाले अमेरिकी डलर २ लाख ७४ हजार, युरो एक लाख २८ हजार ८ सय, अस्ट्रेलियन डलर ४ हजार ६ सय ५०, क्यानेडियन डलर २ हजार ५ सय, जापानी येन २२ लाख ८ हजार, चाइनिज युआन ३ हजार एक सय, स्विस फ्र्यांक २ हजार र हङकङ डलर ३० बरामद गरेको हो ।
संगठित अपराधमा मुद्दा

नेपाल प्रहरीले २०७० चैत १२ मा राजपत्रमा प्रकाशित भएको संगठित अपराध निवारण ऐन– २०७० को पहिलोपटक २०७१ भदौ ३० मा प्रयोग गरेको हो । काठमाडौं प्रहरीले डाँका चोरी मुद्दामा पक्राउ परेका विनोद महर्जन, किरण श्रेष्ठसमेतको समूहलाई डाँका चोरीसहित संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको थियो । सोही वर्ष मंसिर ४ मा काठमाडौं जिल्ला अदालतको आदेशले प्रतिवादी सबै पुर्पक्षका लागि थुनामा गएका थिए । विदेशमा रहेका व्यक्तिका हकमा समेत ऐन आकर्षित हुने र अनुसन्धानका लागि ६० दिनको हिरासत म्याद ऐनको पहिलो विशेषता हो । यस्तै अनुसन्धानका लागि आवश्यक प्रविधिको प्रयोग, स्वतन्त्र सुराकी परिचालन, सञ्चार अभिलेख, राहदानी तथा सम्पत्ति रोक्का राख्नेसम्म अधिकार ऐनले प्रहरीलाई दिएको छ ।

प्रहरीले लगेका लगभग सबै मुद्दामा प्रतिवादीलाई पुर्पक्षका लागि कारबाहीमा राखेर मुद्दा प्रक्रिया अघि बढेकाले अनुसन्धान सफलताउन्मुख हुने अनुमान हालसम्म पुष्टि भने भएको छैन ।

प्रकाशित: २ माघ २०७३ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App