६ वैशाख २०८१ बिहीबार
राजनीति

राप्रपाः साधारण सदस्य लगत सङ्कलन सुरु

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका साधारण सदस्य लगत सङ्कलन कार्य आजदेखि सुरु भएको छ । पार्टीको आसन्न महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभरसदस्यता वितरण गरिएको थियो । सो अवधिभर सदस्य बनेकाहरुको यही माघ ७ गते अगावै लगत सङ्कलन गरी पार्टीमा अभिलेख राखिने छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन समिति अन्तर्गत रहने गरी प्रत्येक जिल्लामा निर्वाचन समिति गठन गरिएको छ । साधरण सदस्य भएकामध्येबाट केहीलाई वडा समितिमा मनोनयन गरिने छ । उनले यही माघको दोस्रो हप्ताभर देशभर वडा, गाउँ र नगर कार्यसमितिको अधिवेशन तथा माघ २१ गते दुई सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिने जानकारी दिए।

पार्टीको केन्द्रीय अधिवेशन भने आगामी फागुन ६–९ गतेसम्म काठमाडौँ गरिने तय भइसकेको छ । नगर कार्यसमितिबाट प्रतिनिधि छनोट गरिने छ । सोअनुसार महानगरपालिकाबाट चार, उपमहानगरपालिकाबाट तीन, नगरपालिकाबाट दुई, प्रत्येक निर्वाचन क्षेत्र र प्रत्येक जिल्लाबाट नौ नौ, क्रियाशील भ्रातृ सङ्गठनबाट चार जनाको अनुपातमा प्रतिनिधि छनोट गरिने छ ।

पार्टी एकीकरण भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै नेता तथा कार्यकर्ताले नयाँ सदस्यता अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था पार्टीले गरेको थियो । सोहीअनुसार पार्टीका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरबाट नयाँ सदस्यता लिएका छन्। रासस

प्रकाशित: २ माघ २०७३ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App