coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एकैदिन डेढ करोड ‘लुट्छन्’ तस्कर

काठमाडौं– बजारमा मागअनुसार आपूर्ति नहुँदा सुनको अवैध कारोबार मौलाएको छ । यसरी सुन तस्करी गरी कारोबार गर्नेले दैनिक डेढ करोड रुपैयाँ अतिरिक्त कमाउँदै आएका छन् ।

सुनचाँदी व्यवसायीका अनुसार मुलुकभरका लागि सुनको माग दैनिक ४० किलो छ । सरकारले तोकेको वैधानिक आपूर्ति १५ किलो मात्र भएकाले दैनिक करिब २५ किलो सुन कालोबजारबाट किन्नुपर्छ । यही २५ किलो सुन कालोबजारमार्फत बेच्दा दैनिक डेढ करोड रुपैयाँ नाफा हुँदै आएको हो ।

‘सुन अभाव चर्केकाले कालोबजारमा समेत यसको भाउ तोलाको ३ हजार रुपैयाँले बढेको छ’

व्यवसायीका अनुसार अभाव सिर्जना गरी अहिले कालोबजारमा प्रतितोला ३ हजार रुपैयाँभन्दा बढी मूल्य राखेर सुनको कारोबार भइरहेको छ । अवैध आयात गर्नेले सरकारले तोकेको प्रतिदस ग्राम सुनको भन्सार ४ हजार २ सय रुपैयाँसमेत छली गर्ने भएकाले उनीहरुलाई प्रतितोला ७ हजार २ सय रुपैयाँ नाफा हुन्छ ।

एक किलो सुन बेच्दा ७ लाख रुपैयाँ अतिरिक्त नाफा हुने भएकै कारण अहिले सुनको अवैध कारोबार फस्टाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बजारमा सुन अभाव चर्केकाले कालोबजारमा यसको भाउ ३ हजार रुपैयाँले बढेको जानकारी दिए ।

‘१५ किलो सरकारी आपूर्तिले बजार माग धान्न नसकेपछि व्यवसायी कालोबजारबाट सुन किन्न बाध्य छन्,’ शाक्यले आइतबार नागरिकसँग भने, ‘अहिले विवाहको मौसम सुरु भएकाले दैनिक माग ४० किलोसम्म पुगेको छ ।’
उनका अनुसार नेपाली बजारमा दैनिक २५ किलोभन्दा बढी सुन कालोबजारले धानेको छ । भन्सार छलेर एक किलो सुन ल्याई कालोबजारमा बेच्दा अहिले व्यवसायीलाई ७ लाख रुपैयाँभन्दा बढी नाफा हुने गरेको उनले जनाए । सुन कारोबारमा संलग्न व्यवसायीका अनुसार अहिलेको खेल प्रतिकिलो ७ लाख रुपैयाँ अतिरिक्त नाफाकै हो ।

बेलाबेला सुनको अवैध कारोबार हुने गरेपछि सरकारले सुन आयातका लागि बैंकलाई मात्र इजाजत दिने व्यवस्था गरेको छ । अहिले वैधानिक रुपमा कुनै पनि व्यापारीले सुन आयात गर्न पाउँदैनन् ।

गत वर्षसम्म विदेशबाट आउने व्यक्तिले ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार छुट पाउने व्यवस्था रहेकामा सरकारले चालु आवदेखि यस्तो व्यवस्था हटाएको छ । अहिले ५ तोलासम्मका गहना मात्र ल्याउन पाउने कानुनी व्यवस्था छ ।      
शाक्यका अनुसार नेपालमा अवैध रुपबाट धेरैजसो सुन उत्तरी छिमेकी चीनबाट भित्रने गरेको छ । पहिले खासा–तातोपानी मार्ग भएर बढी सुन आउने गरेकामा अहिले केरुङ–रसुवा मार्ग तस्करीमा बढी प्रयोग भइरहेको उनले बताए ।
पछिल्लो महिनादिनभित्र प्रहरीले करिब ३० किलो सुन उत्तरी नाकाबाट ल्याउँदै गरेको अवस्थामा बरामद भएको छ । व्यवसायीका अनुसार चीनबाट आउने सुनको भुक्तानी हुण्डी वा सोझै नगद रुपमा अमेरिकी डलर र अन्य मुद्रामा गरिँदै आएको छ ।

पूर्वअध्यक्ष शाक्यले पछिल्लो समय भारतमा भएको नोटबन्दीको घटनापछि यहाँबाट सुन गइरहेको आशंका व्यक्त गरे । उनका अनुसार भारतमा सुनको माग वार्षिक १ हजार २ सय टन छ । वैधानिक आपूर्ति ४ सय टनमा झारेकाले त्यहाँ पनि मागअनुसार आपूर्ति छैन । ‘भारतीय बजारको माग पूर्ति गर्न पनि यहाँबाट सुन गइरहेको अनुमान गर्न सकिन्छ,’ शाक्यले भने, ‘नेपालमा अभाव हुँदा भारतबाट आउने र त्यहाँ अभाव हुँदा नेपालबाट जाने प्रचलन धेरै पुरानो हो ।’
भारतले अहिले वैधानिक रुपमा एक परिवारका लागि ६ सय ५० ग्राम मात्र सुन राख्न पाउने व्यवस्था गरेकाले पनि त्यहाँ अवैधानिक बजार फस्टाएको छ ।

सुनको अवैध कारोबारमा उच्च तहमा पहुँच पुग्नेहरु संलग्न रहेको सरकारी अधिकारी बताउँछन् । सानो परिमाणमा पनि ठूलो रकम कारोबार हुने भएकाले कम पुँजी भएका व्यक्ति यसको व्यापारमा लाग्दैनन् । राज्यको उपल्लो तहमा पहुँच नरहेसम्म पनि यस्तो कारोबारमा संलग्न भएर ठूलो जोखिम मोल्न कोही तयार हुँदैन ।

‘एक किलो सुन प्रहरी वा भन्सारले समाते आधा करोड रुपैयाँ जान्छ,’ सरकारका एक उच्च अधिकारीले तर्क गरे, ‘यो उच्च जोखिमयुक्त व्यापार हो । त्यसैले यसको कारोबारमा पहुँच पुग्ने ठूला व्यक्ति मात्र लागेका हुन्छन् ।’

सुन व्यवसायीका अनुसार भन्सार छलेर वा न्यून बिजकीकरण गरी नेपाल ल्याइएका सामानको भुक्तानी भारत पठाउन पनि अहिले सुन प्रयोग भएको छ । भारतमा ठूला नोट प्रतिबन्धपछि अहिले बजारमा नै भारु अभाव भएकाले भुक्तानीमा सुन प्रयोग बढेको हो ।

पूर्वअध्यक्ष शाक्यका अनुसार विगतमा जस्तै अवैधानिक बाटोबाट गरिएको व्यापारको भुक्तानीमा अहिले सुन प्रयोग भइरहेको हुन सक्छ । अहिले काठमाडौंको बजारमा एक सय भारुको सटही दर एक सय ७५ र तराईमा एक सय ९० रुपैयाँसम्म पुगेको व्यवसायी बताउँछन् । प्रतीतपत्र खोलेर वा टिटीलगायत अन्य वैधानिक माध्यमबाट सामान आयात गर्ने व्यवसायीलाई राष्ट्र बैंकले भारु दिँदै आएको छ ।
   

प्रकाशित: ३ माघ २०७३ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App