७ वैशाख २०८१ शुक्रबार
राजनीति

पदमुक्त भएपछि दिल्ली गए लाेकमानसिंह कार्की

काठमाडौं–  सर्वोच्च अदालतको फैसलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट पदमुक्त लोकमानसिंह कार्की बिदेशिएका छन् । पदमुक्त भएको एक सातापछि कार्की आइतबार श्रीमती सुनितासहित भारत गएका हुन् ।

अख्तियार प्रमुखबाट पदमुक्त भएपछि तनावमा रहेका लोकानसिंह कार्की केही दिन दिल्लीमा उपचार गराएपछि क्यानडा जाने

कार्की आइतबार बिहान ९ बजेर ५ मिनेट जाँदा नेपाल एयर लाइन्सको बिमानबाट दिल्ली उडेका थिए । कार्कीसँग श्रीमतीबाहेक थप  दुईजना गएका छन् । स्रोतका अनुसार ती दुईजनामा एक सुरक्षाकर्मी र अर्का कार्कीले अख्तियारमा रहँदा विज्ञका रुपमा नियुक्त गरेका गोवद्र्धन श्रेष्ठ छन् ।

कार्की दिल्लीमा केही दिन उपचारका लागि बस्ने छन् । उपचारपछि उनी क्यानडा जाने छन् । उनका छोरा अभ्युदयमानसिंह शुक्रबार नै क्यानडा गइसकेका छन् ।

‘दिल्लीमा उपचार गरेपछि उहाँ (कार्की) क्यानडा  जाने निश्चित छ,’ स्रोत भन्छ, ‘पछिल्लो समयमा भएका टीकाटिप्पणी र सर्वोच्चको फैसलापछि बढेको चिन्ताका कारण उहाँको स्वास्थ्यमा केही समस्या देखिएको छ ।’

फैसलामा उच्च नैतिक चरित्र नपुगेको भन्ने विषयसमेत आएपछि आफन्तले कार्कीलाई नेपाल नबस्न सुझाब दिएका छन् । ‘यहाँ बस्दा थप विवादमा आउनुका साथै सुरक्षा र मानसिक तनाव बढ्न सक्ने भन्दै आफन्तले बिदेशिन सुझाब दिएका हुन्,’ स्रोतले भन्यो, ‘आफन्तकै सुझाएअनुसार उहाँ सपरिवार क्यानडा जान लाग्नु भएको हो ।’

यसअघि सरकारले कार्कीको सुरक्षाका लागि खटाएका ३० भन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलाएको छ । ‘सुरक्षार्थ खटिएका सबैलाई फिर्ता बोलाइएको छ,’ प्रहरी प्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले भने, ‘सोमबारसम्म सबै फिर्ता भइसक्ने छन् ।’
कार्कीले सर्वोच्चले पदमुक्त गरेको पाँच दिनपछि बिहीबार सरकारी निवास छाडेका थिए । निवास छाडेर उनी बानेश्वरस्थित भाइ बालमानसिंह कार्कीको घरमा गएका थिए । कार्कीको घरमा सामसुङ कम्पनीको गोदाम छ । भाडामा दिएको घर तत्कालै खाली हुने सम्भावना नभएपछि उनी भाइको घरमा सरेका थिए ।

कार्कीलाई सर्वोच्चले अख्तियार प्रमुख हुन आवश्यक उच्च नैतिक चरित्र र २० वर्षे सेवा अवधि नपुग्ने भन्दै अघिल्लो साताको आइतबार अयोग्य ठहर गरेको थियो । कार्की अख्तियार प्रमुख भएको ४४ महिनापछि सो पदका लागि अयोग्य भएको फैसला आएको हो । महाभियोग प्रस्ताव लागेपछि कार्की ३ गतेदेखि निलम्बनमा  थिए । कार्की २०७० वैशाख २५ गते अख्तियार प्रमुखमा नियुक्त भएका थिए ।

प्रकाशित: ३ माघ २०७३ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App