८ वैशाख २०८१ शनिबार
राजनीति

‘प्रवासबाट भोट दिन पाउने व्यवस्था हुन्छ’

न्युयोर्क– अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रवासी नेपालीलाई आफ्नो देशमा हुने निर्वाचनमा प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

कामको सिलसिलामा विदेश बस्नेलाई तत्काल मतदानको अधिकार दिन प्राविधिक समस्या भए पनि सरकार निकास खोज्न लागिपरेको जानकारी उनले गराएका हुन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) अमेरिकाको शनिबार भएको पाँचौ वार्षिक साधारणसभा उद्घाटन समारोहका प्रमुख अतिथि महतले पिआर र ग्रिनकार्ड हुने नेपाली पनि नेपाली नागरिक नै भएकाले उनीहरूले निर्वाचनमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए ।

एनआरएनप्रति नेपाली जनताको पनि निकै आशा बढ्दै गएकाले राष्ट्र निर्माणमा प्रतिबद्ध भएर सहयोग गर्न उनले आग्रह गरे ।
मुलुकमा सविधान कार्यान्वयनका लागि सबै दल मिल्नुपर्ने पनि उनले बताए ।  संविधान निर्माणमा झै कार्यान्वयनमा पनि दलहरूले एकता देखाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘दलहरू नमिल्दा अन्य शक्तिले लोकतान्त्रिक उपलब्धिमाथि धाबा बोल्न थालेका छन्, त्यसैले पनि संविधान कार्यान्वयनमा एकता आवश्यक छ ।’

भारत र चीनबीच नेपालले समदुरी कूटनीतिका आधारमा सम्बन्ध मजबुत बनाउँदै गएको महतले बताए ।

कार्यक्रममा नेपाली राजदूत अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीको संख्या बढेसँगै चुनौती पनि थपिएकाले एनआरएनले समुदायको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले प्रवासी नेपाली मातृभूमिको विकासमा एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा न्युयोर्कस्थित नेपाली वाणिज्यदूत कृशु क्षेत्री, साधारणसभाका सभापति केशव पौडेल,  इनिस सहरकी मेयर एन्जिलिन जुनिमेन, नेपाली कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ, गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका संयोजक पासाङ लामा, संघका पूर्वअध्यक्ष खगेन्द्र जिसी, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, कृष्ण लामिछानेलगायतले आआफ्ना धारणा राखेका थिए ।

साधारणसभामा एनआरएनका १७ वटै च्याप्टरका प्रतिनिधिलगायत अमेरिका, युरोप तथा क्यानाडामा बस्ने नेपालीको उपस्थिति थियो । कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरिएको थियो ।

साधारणसभामा संघको विधान संशोधन, नेपालमा भूकम्पपीडितलाई सहयोग परियोजना र संघको भवन निर्माण, संगठन विस्तार, एनआरएन भिजन २०२० कार्यान्वयनमा छलफल भयो ।

प्रकाशित: ३ माघ २०७३ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App