७ वैशाख २०८१ शुक्रबार
समाज

चिनियाँसहित पाँच जनालाई संगठित अपराधमा म्याद थप

काठमाडौं– सुन र अवैध विदेशी मुद्रासहित शनिबार पक्राउ परेका तीन चिनियाँ नागरिक र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थपेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंलाई संगठित अपराधमा अनुसन्धानका लागि सात दिन हिरासत म्याद थप भएको छ ।

महाशाखा र प्रहरी वृत्त बालाजुले करिब पौने पाँच करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा र १५ किलोग्राम सुनसहित तीन चिनियाँ र दुई नेपालीलाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले ठमेलबाट भाडाको स्कोरपियोे गाडी लिएर गल्छी हुँदै केरुङ जाँदै गरेका दुई महिलासहित तीन चिनियाँ र नेपाली सवारीचालकलाई नागढुंगाबाट पक्रेको हो । महाशाखाको विशेष टोलीले चिनियाँ नागरिक चाङ तोङ फाङ, चौ सलियन, चाउ लियाङ फङ र सवारीचालक  पेम्बा तामाङलाई सुटकेसमा फल्स बटम बनाएर विभिन्न देशका मुद्रा केरुङ नाका हुँदै तस्करी गर्न लागेको अवस्थामा पक्राउ गरेको हो ।

बालाजु प्रहरीले चमती क्षेत्रबाट टाटा सुमो गाडीको इन्जिनमा लुकाएको अवस्थामा १५ किलो सुनसहित चालक भक्तपुरका रवीन्द्र भुजेललाई पक्राउ गरेको हो । महाशाखाले बा१य १२३२ नम्बरको हरियो प्लेटको स्कोरपियो र बालाजु प्रहरीले बा१झ ४९६४ नम्बरको कालो प्लेटको टाटा सुमो बरामद गरेका छन् ।

केही दिनअघि केरुङ नाका भएर काठमाडौंमा हातहतियार, लागूऔषध र सुन भित्रिने सुचना पाएको काठमाडौं प्रहरी सजग थियो । यस्तै दुई दिन अघिदेखि महाशाखाको टोलीले चिनियाँ नागरिकलाई पच्छ्याइरहेको थियो ।

अनुसन्धान अधिकारीका अनुसार नेपालमा बन्यजन्तुका आखेटोपहार, मूल्यवान् जडीबुटी र रक्तचन्दनमा चिनियाँ नागरिकको लगानी रहेकाले नगद भित्रिन्छ । यसपटक बाहिरिदै गरेको रुपैयाँ सुनकै लागि भएको बुझ्न कठिन छैन । महाशाखाले बरामद विदेशी मुद्राको स्वरुप हेर्दा कुनै एकै व्यवसायभन्दा पनि विभिन्न क्षेत्रबाट संकलित रकम लुकाई छिपाई केरुङ नाका भएर चीन लगिँदै थियो । यस्तै केरुङबाट आएको सवारीसाधनबाट अवैध सुन बरामद भएको हो ।

महाशाखाका एक अधिकारी भन्छन्, ‘केरुङबाट सुन आयो, पैसा जाँदै थियो ।’ उनका अनुसार पछिल्लो केही वर्षयता यसरी नै हवाई तथा स्थलमार्ग भएर विदेशी मुद्रा जाने र सुन आउने क्रम चलिरहेको छ ।

महाशाखाले अमेरिकी डलर दुई लाख ७४ हजार, युरो एक लाख २८ हजार आठ सय, अस्ट्रेलियन डलर चार हजार ६ सय ५०, क्यानेडियन डलर दुई हजार पाँच सय, जापानी येन २२ लाख आठ हजार, चाइनिज युयान तीन हजार एक सय, स्विस फ्र्यांक दुई हजार र हङकङ डलर ३०  बरामद गरेको हो ।
 

प्रकाशित: ३ माघ २०७३ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App