८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

समस्या लुकाउँदा पाठेघर क्यान्सर बढ्दै

झापा– पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ  । सानै उमेरमा धेरै सन्तान जन्माउँदा  र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् । ‘बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका क्यान्सर शल्यक्रिया विशेषज्ञ डा.पप्पु रिजाल भन्छन् ।

कलिलो उमेरमा धेरै सन्तान जन्माउँदा  र असुरक्षित यौन सम्पर्कले पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको छ  

‘पापिलोमा’ भन्ने भाइरसका कारण पाठेघरको मुखको क्यान्सर हुने  गरेको पाइन्छ । ज्यानमारा पाठेघरको मुखको क्यान्सरले वार्षिक रुपमा विश्वमा करिब २ देखि ३ लाख महिलाले ज्यान गुमाइरहेका छन् । यसबाट हुने मृत्युदर नेपालमा पनि उच्च छ । देशको पूर्वी भागमा यसको समस्या झनै बढी देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका क्यान्सर शल्यक्रिया विशेषज्ञ डा.पप्पु रिजालका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर विश्वमै दोस्रो स्थानमा पर्छ ।  यो रोगबाट ज्यान गुमाउनेमा ८० प्रतिशतभन्दा बढी एसिया  र अफ्रिकाका छन् । पछिल्लो १० देखि १५ वर्षभित्रमा विकसित मुलुकमा यस प्रकृतिको क्यान्सरबाट हुने मृत्युदरमा निकै कमी आएको  छ ।

 मृत्युदरमा कमी आउनुको मुख्य कारण त्यहाँको स्वास्थ्य प्रणाली प्रभावकारी बन्नु तथा महिलाले आफ्नो स्वास्थ्यप्रति ख्याल गर्नु र स्वास्थ्यसम्बन्धी जनचेतना कारक रहेको अनुसन्धानमा संलग्न चिकित्सकको ठहर छ । नेपालमा भने अझै पनि धेरै महिला आफूलाई लागेको रोग लुकाएर, लाज मानेर स्वास्थ्य संस्था नजाने समस्या छ । यही कारण यस रोगबाट हुने मृत्युदरमा कमी आउन नसकेको विज्ञहरूको भनाइ  छ ।  
नेपालमा हालै गरिएको अध्ययन अनुसार वार्षिक करिब २० हजार नयाँ  क्यान्सरका बिरामी थपिन्छन् । वर्षेनी करिब २ हजार महिलाले पाठेघरको क्यान्सरको कारण ज्यान गुमाइरहेका छन् । स्थानीय संघ–संस्थासँग मिलेर ५ वर्षदेखि पूर्वका विभिन्न जिल्लामा महिलाको पाठेघर क्यान्सर जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएका डा रिजाल बेलैमा रोग पहिचान गरे सामान्य खर्चमा उपचार गर्न सकिने बताउँछन् । कतिपय तेस्रो चौथो स्टेजमा पुगेपछि मात्र उपचारका लागि आउने भएकाले उनीहरूलाई भरतपुर, भक्तपुर क्यान्सर अस्पताल रेफर गरिने उनको भनाइ छ ।

गाउँ वा सहरका अधिकांश महिला सिकिस्त नभएसम्म अस्पताल नपुग्ने भएकाले अन्तिम चरणमा पाठेघरको मुखको क्यान्सरको उपचार खर्चिलो बन्नुका साथै ज्यान बचाउनै  गाह्रो हुने डा.रिजाल बताउँछन् ।  बेलाबखत स्क्रिनिङ  गरेर सकभर  प्रारम्भिक अवस्थामै  पहिचान गरी उपचार गराउनु यस रोगबाट बच्ने उत्तम उपाय भएको उनको सुझाव छ ।

महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको पूर्वअवस्था हेर्न प्रत्येक साताको शनिबार सुनसरी, मोरङ, झापा, सप्तरी, सिराह र उदयपुरका विभिन्न क्षेत्रमा निःशुल्क शिविर गरिएको डाक्टर रिजालले बताए । यस्तो क्यान्सर पहिचान गर्न भिआइएमार्फत ‘स्क्रिनिङ’ गर्ने गरिएको उनले बताए । उक्त स्क्रिनिङ अबको १० देखि १५ वर्षपछि पाठेघर मुखको क्यान्सर हुने–नहुने पत्ता लगाउन सकिने स्वास्थ्य प्रविधि हो ।  तर, अधिकांश महिला आफ्नो यौनांग, पाठेघरको स्वास्थ्यप्रति सचेत र संवेदनशील नहुँदा बर्सेनी हजारांै महिला मृत्युको मुखमा पुग्ने गरेका छन् ।  

डा. रिजालले सन् २०१२ देखि पूर्वका ३० देखि ६० वर्ष उमेर समूहका १८ हजारभन्दा बढी  महिलाको पाठेघरको मुखमा क्यान्सर भए÷नभएको ‘स्क्रिनिङ’ गरिसकेका छन् । तीमध्ये ‘भिज्युअल इन्स्पेक्सन विथ एसिटिक भीआइए’ परीक्षण गर्दा हजार महिलामा सर्भिकल इन्ट्राएपिथिलियल नियोप्लासिस सिआइएन  (प्रि–क्यान्सर ) को अवस्था फेला गर्ने गरेको छ । १८ हजार महिलाको भिआइए गर्दा करिब १ हजारमा प्रिक्यान्सर लक्षण पहिचान भएको छ । उनीहरू सबै उपचार गरिरहेका छन् ।

क्यान्सर विशेषतः ३५ देखि ४५ र ६० देखि ६५ वर्ष दुई  उमेर समूहमा बढी मात्रामा देखिएको  अनुसन्धानले पुष्टि गरेको छ । प्रि–क्यान्सर सिआइएन १, २, ३ तथा क्यान्सर गरेर दुई अवस्थाको हुने गरेको छ ।  सामान्य अवस्थाको प्रि–क्यान्सरलाई क्यान्सर अवस्थासम्म पुग्न १० देखि १५ वर्षसम्म लाग्ने विज्ञहरूको भनाइ छ । प्रि–क्यान्सर सिआइएन १, २, ३ अवस्थामा रोग पत्ता लागेमा एलइइपी क्राइथेरापीजस्ता सरल पद्धतिबाट उपचार गर्न सकिने उनीहरूको भनाइ छ ।

कलिलो उमेरमै विवाह गर्नु , धेरैजनासँग यौन सम्पर्क राख्नु , धूमपान गर्नु , पाठेघरको मुख  पापिलोमा भाइरसको संक्रमण  हुनु  यस रोगका मुख्य कारण भएको डा. रिजालको भनाइ छ ।  योनीबाट गन्हाउने पिपजस्तो या रगत मिसिएको पानी बग्नु, यौन सम्पर्कपछि रगत बग्नु , महिनावारीको गडवडी–महिनावारीको समयमा धेरै रगत बग्नु या महिनाभरि नै रगत बगिराख्नु यस रोगका सुरुआती अवस्थाका लक्षण हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित: ३ माघ २०७३ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App