८ वैशाख २०८१ शनिबार
अर्थ

अमेरिकी एएआरको ठूला जहाज बिक्री प्रस्ताव अनुमोदन

काठमाडौं– दुईथान ठूला (वाइड बडी) जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी ‘एएआर कर्पोरेसन’ ले राखेको प्रस्तावलाई नेपाल वायुसेवा निगम सञ्चालक समितिले अनुमोदन गरेको छ ।

निगम सञ्चालक समितिको शनिबार राति अबेरसम्म चलेको बैठकले एएआरको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । निगम सञ्चालक समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

वायुसेवा निगमलाई एएआर कर्पोरेसनले २२ अर्ब ६३ करोड ६८ लाखमा ए३३०–२०० सिरिजका दुईथान वाइड बडी जहाज बेच्ने

‘एएआरको प्रस्तावलाई सञ्चालक समितिले अनुमोदन गरेको छ,’ निगमका महाप्रबन्धक तथा सञ्चालक समितिका सदस्य सचिव सुगतरत्न कंसाकारले आइतबार नागरिकसँग भने, ‘आजै एएआरलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) पनि पठाइसक्यौं । सकेसम्म चाँडै नेपाल आउन भनेका छौं । हाम्रो अनुमानमा एक साताभित्र एएआरका अधिकारी यहाँ आइपुग्नेछन् ।’
एएआरका अधिकारी काठमाडौं आएपछि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने उनले बताए । त्यसपछि विस्तृत वार्ता गरी अन्तिममा खरिद सम्झौता हुने उनले जानकारी दिए ।
‘एयरबसको दुईथान वाइड बडी जहाज खरिदमा करोडौं कमिसन खान लागे भन्ने हल्ला सबै गलत हुन्,’ कंसाकारले भने, ‘यो प्रक्रियामा कोही पनि एजेन्ट हुँ भन्दै आएका छैनन् र कमिसनको खेल पनि छैन । यदि एजेन्ट आएर कमिसन दिनुपर्ने भयो भने एएआरसँग जहाजको मूल्यमा घटाउन लगाउँछौं ।’
एएआरले १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) मा एउटा जहाज बिक्री गर्ने प्रस्ताव गर्दै निगमको ग्लोबल टेन्डर जितेको थियो । जसअनुसार दुई जहाजका लागि निगमले २२ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ तिर्नुपर्ने छ ।
निगमलाई प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेको थियो । उसले सन् २०१६ को बजार भाउअनुसार प्रस्ताव गरेको थियो । एएआरले दुइटै जहाज ‘एक मिनेट पनि नउडेको’ (ब्रान्ड न्यु) उपलब्ध गराउने प्रस्ताव गरेको छ । ‘अन्तिम वार्ता गरेपछि अझ यकिन मूल्य थाहा हुन्छ,’ उनले भने, ‘अहिले प्रस्ताव गरेको मूल्यमा केही थपिन सक्छ वा केही घट्न पनि सक्छ, त्यही बेलामा थाहा हुने छ ।’
निगमलाई युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुईथान वाइड बडी बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । यिनमा जहाज भाडामा दिने कम्पनीदेखि इन्जिन निर्मातासम्म थिए । असोज १० गते सार्वजनिक गरेको अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मा सहभागी हुँदै अमेरिका, युरोप र खाडी मुलुकमा रहेका कम्पनी निगमलाई जहाज बेच्न प्रतिस्पर्धामा उत्रिएका थिए ।
निगमका अनुसार केएल एरो पार्टस्, केजेटी इन्भेस्टमेन्ट एन्ड वान वल्र्ड क्लोजआउट्स लिमिटेड, रन मोट्टा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पार्टस्, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप, क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, ले ग्रुप डेल्टा, एएआर कर्पोरेसन र सूर्या एयर सपोर्टले दुईथान वाइड बडी उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए ।
निगमको टेन्डर सर्तअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस आफैं प्रतिस्पर्धामा सहभागी हुन पाउने भए पनि टेन्डर खोल्दा उसको प्रस्ताव परेको थिएन । बेलायती इन्जिन निर्माता कम्पनी रोल्स रोयसले भने इन्जिन उपलब्ध गराउन प्रस्ताव हालेको थियो ।  
ती कम्पनीको आर्थिक तथा प्राविधिक प्रस्ताव सुक्ष्म तरिकाले मूल्यांकन गर्न नायब महाप्रबन्धक आरबी शाहको संयोजकत्वमा निगम व्यवस्थापनले ११ सदस्यीय समिति गठन गरेको थियो । समितिले पुस २ गते महाप्रबन्धक कंसाकारलाई मूल्यांकन प्रतिवेदन बुझाएको थियो ।
कंसाकारका अनुसार पोर्चुगलको ‘हाइफ्लाई एयरलाइन्स’ को अर्डरमा निर्माणाधीन दुईथान ए३३० जहाज नै एएआरले निगमलाई बिक्री गर्ने प्रस्ताव गरेको हो । ‘दुइटै जहाजमा १२ देखि १८ वटामात्र बिजनेस क्लास सिट राख्छौं,’ उनले भने, ‘बाँकी सबै इकोनोमी क्लास सिट हुनेछन् ।’
उनका अनुसार अब पहिलो वाइड बडी जहाज आगामी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी जहाज काठमाडौं अवतरण गर्नेछन् ।
निगमले आह्वान गरेको टेन्डरमा भने सकेसम्म सन् २०१४ यता बनेका ए३३०–२०० सिरिजका जहाज हुनुपर्ने वा १ हजार घन्टाभन्दा कम उडेको हुनुपर्ने सर्त थियो ।
सरकारले दुइटा वाइड बडी खरिदका लागि आवश्यक २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेपछि बसेको निगम सञ्चालक समितिको गत असोज ७ गतेको बैठकले ग्लोबल टेन्डर आह्वान गर्न व्यवस्थापनलाई निर्देशन दिएको थियो । त्यसपछि १० गते आह्वान गरिएको ग्लोबल टेन्डर भर्ने म्याद ४५ दिनसम्म तोकिएको थियो ।
निगमले दुईथान वाइड बडी जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ । निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्छ ।
दुईथान वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँका लागि जमानी बस्ने सरकारको निर्णय लगत्तै अर्थ मन्त्रालयले असोज ६ गते निगमलाई यससम्बन्धी पत्र पठाएको थियो । अर्थको जमानीपत्र आउनुअघि गत भदौ २९ मै कर्मचारी सञ्चय कोषले वायुसेवा निगमलाई दुइटा वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्तावसहित पत्र पठाएको थियो । कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिले पनि कोषले उपलब्ध गराउने रकमको ब्याजदर कति हुन्छ भन्नेबारे द्विपक्षीय छलफल भने हुन बाँकी छ ।
सञ्चय कोषमात्र नभई निगमलाई उक्त परिमाणबराबरको रकम उपलब्ध गराउन नागरिक लगानी कोषसमेत तयार रहेको छ । यो संस्थासँग पनि निगम व्यवस्थापनले अनौपचारिक छलफल गरिरहेको छ । सरकारी संस्थाबाहेक निजी क्षेत्रका ‘क’ वर्गका केही वाणिज्य बैंकहरूले पनि जहाज खरिदका लागि आवश्यक रकम सहवित्तीयकरणमा उपलब्ध गराउन तयार रहेको बताउँदै आएका छन् ।
निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत ‘लङ हल’ गन्तव्यमा उडान गरिसकेको छ । दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ । यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ ।


 

प्रकाशित: ३ माघ २०७३ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App