coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तनावमा उडान गर्दा हलिकोप्टर दुर्घटना

काठमाडौं– बिरामीलाई सकेसम्म छिटो अस्पताल पु¥याउनुपर्ने बाध्यता सिर्जित तनावसँगै तत्कालीन अवस्थाबारे पाइलट सचेत नभई उडान गर्दा फिसटेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको जाँच आयोगले निष्कर्ष निकालेको छ ।

गत साउन २४ मा गोरखाबाट आलो सुत्केरी र नवजात शिशु बोकेर उडेको फिसटेलको कलसाइन ‘९एन–एकेए’ हेलिकोप्टर नुवाकोट मदानपुरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा क्याप्टेन रञ्जन लिम्बु, एक सुत्केरी र पाँच दिनको नवजात शिशु, र अन्य चार यात्रुको मृत्यु भएको थियो ।

‘क्याप्टेन लिम्बुले नुवाकोट ककनी र चुच्चेभीर क्षेत्रको उत्तरी एवं पूर्वी धारको तल्लो उचाइमा सोचेको भन्दा फरक प्रकृतिको तीव्र गतिमा बनेको बादलभित्र परिस्थितिवस छिर्ने र निस्क्रने क्रममा साँघुरो उपत्यकाभित्र छिरेका थिए,’ दुर्घटना जाँच आयोगले तयार पारेको प्रतिवेदनको निष्कर्ष छ, ‘त्यसबेला लिम्बुले प्रदर्शन गर्नुपर्ने कौशलता÷अनुभवको कमी र विशिष्ट प्रकारको तल्लो तहको मौसममा रुमल्लिएर तत्कालीन अवस्थामा सचेतना गुमाएका कारण दुर्घटना भएको हो ।’
दुर्घटनापछि सरकारले तत्कालीन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा गठन गरेको दुर्घटना जाँच आयोगले आइतबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनका अनुसार हेलिकोप्टरमा प्राविधिक समस्या थिएन र क्याप्टेनले उडान नियम पनि उल्लंघन गरेका थिएनन् । तर, कम उचाइमा उडान गर्ने उनको अनुभव नहुनु र तत्कालीन परिस्थितिमा पहाडी साँघुरो खोँचमा उडान गर्नुपरेका कारण दुर्घटना भएको थियो ।
‘आलो सुत्केरी र नवजात शिशुको ज्यान जोगाउन तिनलाई तुरुन्तै अस्पताल पु¥याउनुपर्ने दबाब क्याप्टेनमाथि थियो,’ आयोगका अध्यक्ष श्रेष्ठले भने, ‘त्यसमाथि त्यसबेलाको खराब मौसममा क्याप्टेन अतिआत्मविश्वासी भएका कारण दुर्घटना हुन पुगेको थियो ।’
मौसम खराब भएपछि क्याप्टेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरलाई अर्को रुटबाट आउन अनुमति मागे पनि टावरले तुरुन्तै जवाफ नदिएको श्रेष्ठले बताए । ‘यदि टावरले तुरुन्तै अनुमति दिएको भए तत्कालीन्न अवस्थाले अर्कै मोड लिन्थ्यो । त्यसकारण काठमाडौं टावर जतिबेला पनि चनाखो भएर बस्नुपर्छ ।’
आयोगले हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र गम्भीर बनाई भविष्यमा यसखालका दुर्घटना दोहोरिन नदिन सम्बद्ध निकायलाई २१ बुँदे सुझावसमेत दिएको छ । आयोगले उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई वायुसेवा तथा हेलिकोप्टर कम्पनीको कडा रूपमा अनुगमन गर्न तथा त्रिभुवन विमानस्थलको चाप सम्बोधन गर्न पनि सुझाव दिएको छ ।
चार्टर उडान गरी काठमाडौंबाट साउन २४ गते बिहान ११ः३० बजे बिरामी लिन उक्त हेलिकोप्टर गोरखाको उत्तरी गाविस फिलिम गएको थियो । त्यहाँबाट बिरामी लिएर उडेको हेलिकोप्टरले मध्याह्न १२ः३२ बजे त्रिभुवन विमानस्थल टावरसँग अन्तिम पटक सम्पर्क गरेको थियो । हेलिकोप्टर मध्याह्न १२ः३७ बजे दुर्घटनामा परेको भए पनि स्थानीयले दिउँसो १ बजे प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित: ३ माघ २०७३ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App