coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

विमानस्थल सेटिङबारे प्रधानमन्त्रीः नेपाल फर्किनासाथ कारवाही थाल्छु (भिडियो)

युएई— प्रधानमन्त्री पुष्पकमल दाहालले मानव तस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरी कारवाही दायरामा ल्याउने बताएका छन्। युएई भ्रमणमा रहेका उनलाई यहाँस्थित नेपालीहरुले विमानस्थलस्थित कर्मचारीले मानव तस्करको सेटिङमा मोटो रकम असुल्ने गरेको तथ्य प्रमाण देखाएपछि छक्क पर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

नेपाली जनप्रगतिशील मञ्च युएईले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा सहभागीहरुले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट हुने गरेको अनियमितताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। अध्यागमन र प्रहरीसँगको सेटिङमा मानव तस्करले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट युएई तथा प्रतिबन्ध देशहरुमा मान्छे पठाउँदै आएको उनीहरुले सुनाए।

अध्यागमन र प्रहरी सेटिङमा भिजिट भिषामा युएई आएका सयौं नेपाली अलपत्र पर्ने गरेको फेहरिस्त सहभागीले प्रधानमन्त्रीलाई सुनाए।

'विमानस्थलस्थित अध्यागमन कर्मचारी र प्रहरीले मानव तस्करसँग मिलेर सर्वसाधारण लुट्ने गरेको हामीसँग प्रमाण छ। के तपाइँ तिनलाई कारवाही गर्न सक्नुहुन्छ?', एक जना सहभागीले प्रधानमन्त्रीलाई प्रश्न गरे। सो प्रश्नमा सबै सहभागी उठेर समर्थन जनाएपछि प्रधानमन्त्री छक्क परेका थिए।

विदेशमा नेपाली अलपत्र पर्नुमा मुख्य रुपमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अध्यागमन र प्रहरी जिम्मेवार रहेको सहभागीको भनाइ थियो। 'अध्यागमन र प्रहरीले जिम्मेवार ड्युटी निर्वाह गरे विदेशमा कोही नेपाली अलपत्र पर्दैन तर सरकारी कर्मचारी मानव तस्करसँग मिलेका छन्। पैसा खानपाए जस्तासुकै जोखिमपूर्ण देश पनि उडाइदिन्छन्। पैसा नपाए जेन्युन मान्छेलाई रोक्छन्। यस्ता घटनाका दर्जनौं प्रमाण छन् कारवाही गरेर देखाउनुहोस्', अर्का सहभागीले प्रधानमन्त्री समक्ष सुनाए।

'तपाइँहरुको कुरा सुनेपछि मलाई आजै नेपाल गएर अध्यागमनका कर्मचारीलाई कारवाही गर्न मन लागेको छ। विदेश अाउने युवा युवतीलाई म दोषी मान्दिनँ। यो सबै समस्याको जड अध्यागमन कर्मचारी हुन् भन्ने अब प्रस्ट भयो। नेपाल फर्किए लगत्तै अनुसन्धानका लागि छानवीन समिति बनाएर कारवाही प्रक्रिया अघि बढाउँछु', प्रधानमन्त्री दाहालले भने।

सहभागीहरुले प्रधानमन्त्रीलाई अध्यागमन सेटिङको घुसको दर पनि प्रधानमन्त्रीलाई सुनाएका थिए। उनीहरुले भिजिट भिषामा युएई आउनेहरुले कम्तिमा ७० हजार रुपैयाँ अध्यागमन सेटिङका लागि बुझाउनुपर्ने बताएका थिए। महिला तथा प्रतिबन्धित मुलुक जान त्योभन्दा बढी रकम बुझाउनु पर्ने दुःखेसो नेपालीको थियो।

स्वागत कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्रीले सहभागीमा आक्रोस देखेपछि उनले अध्यागमन कर्मचारीलाई कारवाही दायरामा ल्याउने आश्वसन दिए।

'भिजिट भिषामा जथाभावी आउँदा समस्या परेको रहेछ। तपाइँहरुको कुरा सुनेपछि मलाई आजै नेपाल गएर अध्यागमनका कर्मचारीलाई कारवाही गर्न मन लागेको छ', प्रधानमन्त्री दाहालले सहभागी समक्ष भने, 'झुटो आश्वसन दिएर दलालले विदेश ल्याएका सर्वसाधारण नेपालीलाई म दोषी मान्दिनँ। यो सबै समस्याको जड अध्यागमन कर्मचारी हुन् भन्ने प्रस्ट भयो। नेपाल फर्किए लगत्तै अनुसन्धानका लागि छानवीन समिति बनाएर कारवाही प्रक्रिया अघि बढाउँछु।'

मानव तस्करका मतियार कर्मचारीलाई कारवाही गरेरै छोड्ने उनले प्रतिबद्धता जनाए।

युएईमा रहेका नेपालीहरुका समस्याबारे युएईका उच्च अधिकारी समक्ष पनि आफूले कुरा राख्ने उनले सुनाए।

एक फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले युएईमा अग्ला भवन भएको र नेपालसँग सर्वोच्च सगरमाथा रहेको बताएका थिए। 'मैले विश्वको सबैभन्दा सर्वोच्च भवन (अग्लो भवन) को भ्रमण पनि गरेँ', ठट्उली पारामा प्रधानमन्त्रीले भने, 'युएईको मानव निर्मित अग्लो भवन र नेपालस्थित विश्वकै अग्लो प्राकृतिक भवन (सगरमाथा)बीच सम्बन्ध अझ निकट गर्नुपर्ने देखिएको छ। अग्ला अग्ला देशको सम्बन्ध अझ राम्रो बनाउन सकेमा देश विकासमा अझ टेवा पुग्ने छ।'

युएई भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज सोमबार वर्ल्ड फ्युचर इनर्जी समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रकाशित: ३ माघ २०७३ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App