coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मन्डलामा '१२ दुर्वासा' मञ्चन हुने

काठमाडौं- अनामनगरस्थित मन्डला थिएटरको स्टेजमा केही दिनदेखि दैनिक रुपमा राउन्ड टेबल छलफल भइरहेको छ। राजनीतिक अस्थिरताले सबैतिर अन्योलको स्थिति सिर्जना गरिरहेका बेला निर्देशक राजन खतिवडा केही कलाकारलाई लिएर राउन्ड टेबल छलफलमा लागेका हुन्। उनको निर्देशनमा आगामी माघ ११ देखि मञ्चन हुने नाटक '१२ दुर्वासा'मा  राउन्ड टेबल छलफलमार्फत पीडितलाई न्याय दिने प्रयास गरिनेछ।

अमेरिकन लेखक रेनाल्ड रोजको 'टुवेल एग्री म्यान' नामक नाटकलाई सुरेश सापकोटाले तत्कालको नेपाली समाजसँग तुलना गर्दै नेपालीमा अनुवाद गरेका छन्। सुकुम्बासी बस्तीमा बस्ने १८ वर्षे युवकलाई आफ्ना बुबाको हत्या गरेको आरोप लागेपछि प्रत्यक्षदर्शीले शंकास्पद विचार प्रकट गर्छन्। अदालतले नागरिक समाजमार्फत समस्याको समाधान खोजेपछि नाटकको पृष्ठभूमि तयार हुन्छ।

'नाटकमा आधारित 'टुबेल एग्री म्यान' नामक फिल्म हेरेको थिएँ। राजनीतिक अस्थिरताले सबैतिर अन्योल सिर्जना गरिदिएको छ। व्यस्त जीवनशैलीका कारण मानिससँग बहस गर्ने समयको अभाव भएको महसुस गरेको छु। त्यसैले बहसमार्फत समस्याको समाधान खोजेर नयाँ आयाम निकाल्न नाटक तयार गरिएको हो,' निर्देशक खतिवडाले भने, 'अन्योलग्रस्त राजनीतिक परिस्थितिलाई बहसमार्फत समाधान गरौँ भन्ने व्यंग्यात्मक सन्देश नाटकले दिन खोजेको छ।' नाटकलाई मन्डला थिएटर नेपालले तयार गरेको पारेको हो।

देशको निर्णायक तहमा महिलाको सक्रियता बढेको अवस्थामा नाटकले समेत त्यसको कदर गर्दै महिला सहभागितालाई पनि प्रोत्साहन गरेको छ। 'राउन्ड टेबलमा बसेका पात्रको एकअर्कामा फरक छन्। कोही भलादमी स्वभावका छन् त कोही आक्रोशित, कोही पाका त कोही युवा। समाजका सबैखालका पात्रको चित्रण नाटकले गर्ने प्रयास गरेको छु,' निर्देशक खतिवडाले भने।

झन्डै एक घन्टा ३० मिनेट लामो नाटकमा नागरिक समाजको प्रतिनिधित्व गर्ने १२ पात्र राउन्ड टेबलमा सहभागी हुँदै छन्। 'जिम्मेवार पदमा रहेको मानिसले हतारमा पाँच मिनेटमा गरेको निर्णयले आममानिसको भविष्य अन्योलग्रस्त हुनुभन्दा बहसमार्फत सत्यतथ्य खोजिएको हो,' कलाकार सरिता गिरीले भनिन्, 'एउटा भलादमी पात्रको अभिव्यक्तिले नाटकको कथावस्तु परिवर्तन हुन्छ।' नेपाली समाजमा बहसमार्फत सकारात्मक निष्कर्षमा अप्ठेरो भइरहेको छ। नाटक राउन्ड टेबलको सेटअपमा तयार हुनेछ।

लामो समयपछि अभिनेता सरोज खनाल यो नाटकमार्फत रंगमञ्चमा पुनरागमन गर्दै छन्। 'लामो समयपछि रंगमञ्चमा देखिन लागेको हुँदा उत्साहित छु। एक बाबुको दृष्टिकोणले नेपाली समाजको चित्रण गर्ने प्रयासमा छु,' उनले भने, 'राजनीतिक दलले तयार गरिएको अन्योलग्रस्त परिस्थितिको समाधान बहसमार्फत गरौँ भनेर नेतालाई अनुरोध गरेका छौँ। हामी सामाजिक प्राणी भएकाले बहसबिना कुनै कुराको निकास पाइन्न।'

अर्की कलाकार पशुपति राईले अहिले सबै क्षेत्रमा राजनीति हाबी भएकाले कुनै समस्याको समाधान खोज्नुपर्दा बहस गर्नुपर्छ भन्नेमा खासै जोड दिने नगरेको बताइन्। 'बहसबिना गरिने निर्णयले जनतालाई प्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ,' उनले भनिन्, 'एक मानिसलाई दोषी करार गर्नुअघि नागरिक समाजभित्रका पात्रसँग बहस गरेर निष्कर्ष निकाल्न नाटकले प्रेरित गरेको छ।'

मञ्चमा सरोज र सरितासहित पशुपति राई, सिर्जना सुब्बा, अनुपम शर्मा, सोमनाथ खनाल, अभय बराल, कुशल पाण्डे, पुष्कर कार्की, लक्ष्मी बर्देवा, आयान खड्का, बादल भट्ट, र विशारद बस्नेत लगायत देखिनेछन्। नाटक फागुन १ सम्म अनामनगरस्थित मन्डला नाटकघरमा नियमित मञ्चन हुनेछ।

प्रकाशित: ४ माघ २०७३ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App