७ वैशाख २०८१ शुक्रबार
कला

सांगीतिक ब्यान्डको घुमफिर

नेमिष गौतम

काठमाडौं-गत पुस २३ गते शनिबार नयाँ वर्षलाई स्वागत गर्ने भन्दै चर्चित लोक रक ब्यान्ड नेपथ्यले राजधानीस्थित टुँडिखेलमा कन्सर्ट गर्‍यो। पुसको जाडोका दर्शकलाई देश–विदेशका स्टेजमा आफूलाई जमाइसकेको नेपथ्यले राम्रैसँग ततायो।

अहिले नेपथ्य मोफसलमा कन्सर्ट गर्ने तयारीमा छ। नेपथ्यको व्यवस्थापन हेरिरहेको संस्था नेपालयका अर्पण शर्मा भन्छन्, ‘अहिले ब्यान्डका लिड गायक अमृत गुरुङ पोखरा हुनुहुन्छ । उहाँ आएपछि सम्भवतः यसै साता हामी मोफसलमा कार्यक्रम गर्ने घोषणा गर्नेछौँ ।

कार्यक्रमबारे केही सम्झौता नभएकाले कहाँ कार्यक्रम गर्ने भन्ने टुंगो नलागिसकेको उनको भनाइ छ ।

वर्षमा एकपटक देश दौडाहा गर्ने नेपथ्यले यसपटक मोफसलको कुनै एक स्थानमा मात्र कार्यक्रम गर्ने अर्पणले बताए । यो ब्यान्डको जोमसोमै बजारमा, छेक्यो छेक्यो, चरी म¥यो, हिमाल चुचुरे, रेशम, खान्न म त लालुपाते सुरती लगायत गीत हिट छन् ।

अर्को, चर्चित ब्यान्ड १९७४ एडी वेभ पत्रिकाको ‘रक टुर, २०१७’ मा सहभागिता जनाउन यतिखेर धरानमा छ । यही माघ १ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा कन्सर्ट गरेर यात्रा सुरु गरेको ब्यान्ड माघ १० गते पोखराको कार्यक्रम सकी काठमाडौं फर्कनेछ । ब्यान्डका मेनेजर सुवासले सबै स्थानमा दर्शकको उपस्थिति उल्लेख्य भएको बताए । ‘जाडो मौसममा पनि दर्शकको चाप कन्सर्टमा राम्रो छ,’ उनले भने । यो यात्रामा १९७४ एडीसँग सविन राई एन्ड फराओ र एक्सिस ब्यान्ड सहकार्य गरिरहेका छन् । १९७४ एडीका गुराँस फूल्यो, हिँड्दा हिँड्दै, जंगी निशान, ‘मुटु

भरिभरि, पहिलो जुनीमा, परेलीमा लगायत गीत चर्चित छन् ।

मस्की मस्की, बुढेसकालको लाठी, रात गुजार्न लगायत गीतबाट चर्चित बनेको ब्यान्ड ‘माउन्ट ८८४८’ पनि चिसो मौसमलाई तताउने तयारीमा छ । ब्यान्डका गायक दर्शन राईले काठमाडौंको भिक्ट्रीमा कार्यक्रम गरेको केही समयपछि ब्यान्ड पोखरातिर मोडिने बताए । ‘काठमाडौंको कार्यक्रम सकेपछि उपत्यकाबाहिर हामी व्यस्त हुनेछौँ,’ उनले भने ।

नेपाली रक ब्यान्ड रविन एन्ड द न्यु रिभोलुसन आगामी फेब्रअरी १८ मा पोखरामा हुन लागेको लेखनाथ फेस्टिभलमा आफूलाई प्रस्तुत गर्दै छ । ब्यान्डका गायक रविन तामाङका अनुसार ब्यान्डले गत २८ डिसेम्बरमा पोखरा, अंग्रेजी नयाँ वर्षको इभमा धरानको धरान पब्लिक स्कुल र नयाँ वर्षको पहिलो दिन धरानमा कन्सर्ट गरेको थियो । ‘एउटा फिल्मको प्रोजेक्ट छ, त्यो सकेपछि हामी लेखनाथ फेस्टिभलमा जान्छौँ,’ रविनले भने, ‘नेपाली नयाँ वर्षमा हामी लन्डनमा हुनेछौँ, योबाहेक अहिलेसम्म अन्य कुनै योजना छैन ।’

यो ब्यान्डको केटाकेटी, ठीकै छ, स्टेरी स्टेरी नाइट, माया देउ धोका नदेउ, दम मारो दम लगायत गीत चर्चित छन् ।

लामो समय युकेमा बसेर अढाई वर्षअघि नेपाल आएका गायक विवेक श्रेष्ठ आफ्नो ब्यान्ड कन्दरालाई लिएर सांगीतिक माहोलमा रमाउन व्यस्त छन् । उता बस्दा ब्यान्डसँग राम्ररी घुलमिल गर्न नपाएका उनी नेपाल आएपछि ब्यान्डसँग सक्रिय छन् ।

आफ्नो ब्यान्डलाई लिएर नेपाल यात्रामा निस्कने योजनामा बुनेका उनी त्यसको तयारीमा लागिपरेका छन्।

‘हामी नेपालकै टुर गर्ने योजनामा छौँ, काठमाडौंबाट सुरु हुने नेपालका चारदेखि पाँच स्थानमा पुगेर चैतसम्म सकाउनेछौँ, मौसमको अवस्थाले गर्दा पनि धेरै ठाउँ गर्न सकिँदैन,’ गत सोमबार साँझ राजधानीको सोल्टी होटलमा ब्यान्डका साथ आफ्नो प्रस्तुति दिएका विवेकले भने, ‘नेपालको कार्यक्रम सकेपछि जापान, दुबईलगायत ठाउँमा कार्यक्रम गर्छौं, नेपालमा हुने कार्यक्रमले गर्दा विदेशको समय मिलाउन सकिँदैन, त्यसकारणले पहिला नेपाललाई प्राथमिकता दिएर विदेशमा कार्यक्रम गर्नेछौँ ।’

कन्दराको लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी लगायत गीत चर्चित छन्।

प्रकाशित: ५ माघ २०७३ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App