coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नौतले दरबार मौलिक शैलीमै बन्ने

वसन्त खड्का

काठमाडौं-अघिल्लो वर्षको भूकम्पले क्षति पुगेको काठमाडौं वसन्तपुरस्थित नौतले दरबार मौलिक शैलीमा निर्माण गरिने भएको छ। चिनियाँ सहयोगमा निर्माण हुन लागेको दरबारलाई पुरानै शैलीमा निर्माण गरिने पुरातत्व विभागले जनाएको छ। पुनर्निर्माणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुसार नौतले दरबारलाई नेपाली मौलिकता र शैलीलाई जीवन्त राख्ने गरी  निर्माण गरिने भएको हो।

विभाग प्रवक्ता रामबहादुर कुँवरका अनुसार उक्त दरबारको पुरानै शैली र मौलिकतालाई जोगाएर पुनर्निर्माणको कार्य हुनेछ । ‘हामीले मौलिकतालाई जोगाउने गरी पुनर्निर्माण गर्ने सम्झौता गरेका छौँ । दरबारको बाहिर र भित्र दुवैतर्फ परम्परागत कला शैलीको प्रयोग हुनेछ,’ कुँवरले भने ।

भूकम्पले क्षति पु¥याएको नौतले दरबार क्षेत्रमा महेन्द्र तथा वीरेन्द्र संग्रहालय समेत रहेका छन् । चीनले ती संग्रहालयको पनि पुनर्निर्माण गरिदिने उनले जानकारी दिए ।

नौतले दरबारको निर्माणका लागि गत वर्ष कात्तिक २४ गते पुरातŒव विभाग र चिनियाँ दूतावासका बीचमा सम्झौता भएको थियो । सम्झौतामा विभाग महानिर्देशक भेषनारायण दाहाल तथा चिनियाँ दूतावासका अर्थ र व्यापार कन्सुलर पेङ वीले हस्ताक्षर गरेका थिए । सहमतिअनुसार गत महिना ३० चिनियाँ विज्ञको टोलीले दरबार क्षेत्रमा एक महिना लगाएर अध्ययन पूरा गरेको छ । अध्ययनका लागि चीनको हेवई इन्स्टिच्युट अफ एन्सियन्ट आर्किटेक्चर प्रोटेक्सन रिसर्चका उपकुलपति लगायत विशेषज्ञको टोलीले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत अध्ययन गरेको पुरातŒव विभाग अन्तर्गत वसन्तुपर क्षेत्रको पुननिर्माणमा खटिएका वरिष्ठ इन्जिनियर गोपाल झाले जानकारी दिए । चिनियाँ टोलीले माटो परीक्षणदेखि जमिनको अवस्था पत्ता लगाउन विभिन्न १० ठाउँमा ३५ मिटर गहिराइसम्म ड्रिल गरेको थियो भने थप अध्ययन ड्रोन क्यामेराको समेत प्रयोग गरेको थियो । चिनियाँ विशेषज्ञको टोलीले एक महिना लगाएर तयार पारेको अध्ययन रिपोर्ट गत पुस २५ गते विभागलाई बुझाएर फर्किसकेको छ ।

अध्ययन रिपोर्टमा दरबार निर्माणका लागि आवश्यक पर्ने लागत तथा पुनर्निर्माणको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा रहेको इन्जिनियर झाले जानकारी दिए । रिपोर्टमा लागत भने निर्धारण गरिएको छैन । चिनियाँ विशेषज्ञ टोलीले पुनर्निर्माणका लागि आवश्यक पर्ने मजदुर तथा सामग्रीको लागतका विषयमा समेत नेपाली पक्षबाट जानकारी लिएर स्वदेश फर्किएको छ । स्वदेश फर्किएलगत्तै पुनर्निर्माणको लागत लगायत विषयमा रिपोर्ट तयार पारेर नेपाल सरकारलाई बुझाउने र त्यसलगत्तै पुनर्निर्माणको काम सुरु हुने झाले जानकारी दिए । चीनले नौतले दरबार पुनर्निर्माणका लागि सरकारी बजेटमा रकम समेत विनियोजन गरिसकेको झाले जानकारी दिए ।

वसन्तपुर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाहरुको पुनर्निर्माण कार्य नेपाल सरकार आफैँले पनि अघि बढाएको छ । नेपाल आफैँले निर्माण गर्न लागेका सम्पदाको अध्ययन भने निकै कमजोर रहेको छ । सरकारले आफैँले पुनर्निर्माण गर्न लागेका पूर्वाधारमा पर्याप्त अध्ययन नभएको पुनर्निर्माणमा खटिएका एक इन्जिनियरले जानकारी दिए । उनले भने, ‘चीनले पुनर्निर्माण गर्न लागेको दरबारको अध्ययनकै लागि लामो समय लगाएर करोडौँ रकम खर्च गरेको छ । नेपालले त्यस्तो अध्ययन नै गरेको छैन ।’ चीनले व्यापक अध्ययन र ठूलो लगानी गरेर पुनर्र्निर्माणको कार्य अघि बढाउन लागेकाले त्यही क्षेत्रमा नेपाल आफैँले सामान्य अध्ययनबिनै पुनर्र्निर्माण गर्नु चुनौतीपूर्ण र प्रतिष्ठाको विषय भएको उनको भनाइ थियो । चिनियाँ टोलीले नौतले दरबारको अध्ययनका लागि खर्चिएको रकम र अध्ययनबाट नेपालले पनि सिक्नुपर्ने उनको तर्क थियो । यसले पुनर्र्निर्माणका लागि केही लामो समय लागे पनि दीर्घकालसम्म टिकाउ हुने र गुणस्तरीय काम हुने उनको भनाइ थियो।

प्रकाशित: ५ माघ २०७३ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App