८ वैशाख २०८१ शनिबार
प्रवास

नेपालमा पर्यटन भित्र्याउन वेलायतमा छलफल

लण्डन—युरोपेलीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्न तथा भिजिट नेपाल युरोप २०१७ सफल पार्न वेलायतस्थित पर्यटन व्यवसायी तथा समाजसेवीले अपील गरेका छन्।

लण्डनमा आयोजित अन्तरक्रियामा बोल्दै ब्रिटेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारीले नेपाल जाने पर्यटकहरुमध्ये ब्रिटिश पर्यटकहरु चौथो स्थानमा रहेको बताए। भारत, चीन र संयुक्त राज्य अमेरिका क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा छन्।

पर्यटन बोर्डले आफूलाई मानार्थ प्रतिनिधि नियुक्त गरेपछिका ११ महिनामा आफूले गरेका कामहरुबारे जानकारी दिँदै भण्डारीले ब्रिटिश स्काउटहलाई नेपाल भ्रमण गर्न सघाउनेदेखि ब्रिटेनका विभिन्न मेला तथा महोत्सवहरुमा नेपाली खाना र संस्कृतिको प्रबर्द्धन गर्न आफु लागि परेको उल्लेख गरे।

गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले हालै आयरल्याण्डमा नेपाल पुगेर फर्केका आइरिश पर्यटकहरुले खिचेका फोटोहरुको प्रदर्शनी आयोजना गरिएको स्मरण गर्दै बेलायतमा पनि त्यस्तै कार्यक्रमहरुको आयोजना गर्न सुझाव दिए।

सन् २०१७ मा पनि पर्यटन बोर्डको सहयोगमा लण्डन अन्डरग्राउण्ड, सिटी बसहरुमा नेपालबारे जानकारी राख्ना आफूले पहल गर्ने बताउँदै उनले बुद्ध जयन्ती, एभरेष्ट डे, नेपाली नयाँ वर्ष जस्ता कार्यक्रमहरु सामूहिकरुपमा मनाएर नेपाललाई माया गर्ने ब्रिटिशलाई सहभागी गराउन आग्रह गरे। अहिलेसम्म नेपाल सरकार वा नेपाल पर्यटन बोर्डको एक पैसा पनि नलिएर आफ्नै व्यक्तिगत प्रयासमा नेपाललाई प्रबर्द्धन गर्ने काम गरिरहेको उनले दाबी गरे।

सोही अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणिराज लामिछानेले नेपाल सुरक्षित रहेको र पर्यटकहरुलाई स्वागत गर्न आतुर रहेको बताएका थिए। उनले एकजना पर्यटकले १० र ११ जनालाई रोजगारी दिने गरेको बताउँदै  पर्यटन प्रबर्द्धन गर्न विदेशमा बसेका सबै नेपालीहरुले आआफ्नो ठाउँबाट योगदान दिन आग्रह  गरे।

नेपालमा आन्तरिक पर्यटनलाई बढावा दिन सन् २०१७ लाई घुमफिर वर्ष घोषणा गरेको बताउँदै बेलायतमा बसोबास गर्ने नेपालीहरुलाई नेपालका विभिन्न मनमोहक स्थानहरुको भ्रमण गर्नपनि आमन्त्रण  गरे।

लण्डनस्थित नेपाली राजदूतावासका अट्याची तेजेन्द्र रेग्मीले यो वर्ष १ जनवरी देखि राजदूतावासले बेलायती पर्यटकहरुलाई आवेदन गरेकै दिन भिसा दिने व्यवस्था मिलाइएको  बताए।

गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले हालै आयरल्याण्डमा नेपाल पुगेर फर्केका आइरिश पर्यटकहरुले खिचेका फोटोहरुको प्रदर्शनी आयोजना गरिएको स्मरण गर्दै बेलायतमा पनि त्यस्तै कार्यक्रमहरुको आयोजना गर्न सुझाव दिए।

गैरआवासीय नेपाली संघ आइसिसिका सल्लाहकार मेजर (रिटायर्ड) डमर घलेले नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थललाई पर्यटक मैत्री बनाउन सुझाव दिएका थिए। उनले पर्यटकहरु फेरि नेपाल फर्केर आउने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

गैरआवासीय नेपाली संघ आइसिसिका सल्लाहकार विश्वआदर्श पण्डितले देश बनाउने हो भने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै पर्यटकहरु हाम्रा लागि महत्वपूर्ण छन् भन्ने कुरा विद्यार्थीहरुलाई बुझाउन शिक्षकहरुलाई परिचालन गर्न सुझाव दिए।

बैङ्किङ क्षेत्रका एकजना परामर्शदाता बोज बरालले लायन्स, रोटरी क्लबजस्ता संस्थाका सदस्यहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न, सामाजिक सन्जालको बढी प्रयोग गर्न र नेपालका लागि दुई देखि चार, पाँचहप्तासम्मको ‘प्याकेज टुर’ बनाउन पनि सुझाव दिए।

प्रकाशित: ६ माघ २०७३ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App