८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डाक्टरलाई थप ५० प्रतिशत भत्ता

काठमाडौं- सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म अतिरिक्त पारिश्रमिक दिने भएको छ। सरकारले नयाँ कार्यविधिमार्फत बिदाको दिनसमेत १० देखि ५ बजेसम्म निजी 'प्राक्टिस' गर्न नपाइने र अन्य समयमा बाहिर काम गर्न पूर्वस्वीकृति अनिवार्य लिनुपर्नेसहित यस्तो व्यवस्था गर्न लागेको हो।

दुई बजेसम्म मात्र खुल्दै आएका स्वास्थ्य संस्थालाई 'विशेष र संवेदनशील क्षेत्र' मान्दै पाँच बजेसम्म खुलाउन यस्तो व्यवस्था गर्न लागिएको हो। बिहीबार मन्त्रिपरिषद्ले स्वास्थ्य सेवाअन्तर्गतका 'चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले पालना गर्नुपर्ने सेवासर्तसम्बन्धी कार्यविधि– २०७३' मार्फत् अतिरिक्त समय काम गर्नुपर्ने व्यवस्था र सुविधा घोषणा गरेको हो।

स्वास्थ्य संस्था १०–५ बजेसम्म खोल्ने व्यवस्था गर्ने भदौ २३ को प्रधानमन्त्रीको घोषणा र सोही आधारमा स्वास्थ्य मन्त्रालयको पटकपटकको निर्देशन दिएको थियो। यसबीच तोकिएको समयमा स्वास्थ्य संस्था नखोले कारबाही तथा अनुगमनका लागि स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ। तर सरकारी चिकित्सक एवं स्वास्थ्यकर्मीले अतिरिक्त सुविधाबिना सेवा दिन अप्ठेरो पर्ने भन्दै असन्तुष्टि जनाएपछि स्वास्थ्यले यस्तो प्रस्ताव लगेको थियो।

स्वास्थ्य सेवाको प्रकृतिका आधारमा दिनुपर्ने सेवासमय बढी हुने भन्दै चिकित्सकले अतिरिक्त समयबापत सुविधा माग गरेपछि स्वास्थ्यमन्त्री गगन थापाले यस्तो प्रस्ताव लगेका थिए।

मन्त्रिपरिषद्ले उक्त कार्यविधि सहमतिसहित आर्थिक पूर्वाधार समितिमा पठाएको छ। समितिले सामान्य हेरफेर गरेर सहमति दिएलगत्तैदेखि लागू हुने स्वास्थ्यमन्त्री गगन थापाले बताए। स्रोतका अनुसार मन्त्रालयले शतप्रतिशतसम्म सुविधा दिने प्रस्ताव गरे पनि अर्थले ५० प्रतिशत मात्र दिने सहमति दिएको थियो।

पछिल्लोपटक माघ ३ मा अर्थमा सहमतिका लागि प्रस्ताव गएकोमा ५ गते नै अर्थमन्त्रीस्तरीय निर्णयपछि ६ गते मन्त्री थापाले ठाडो प्रस्ताव मन्त्रिपरिषद् लगेका थिए।

स्वास्थ्यमन्त्री थापाले मन्त्रिपरिषद्ले पास गरेको कार्यविधिपछि १० देखि ५ बजेसम्म स्वास्थ्य संस्था खोल्ने सरकारी निर्णय कार्यान्वयनमा कुनै बाधा नहुने विश्वास व्यक्त गरे।

'विशेषज्ञ प्रकृतिको सेवा भएकाले सोहीअनुसार सेवाप्रवाहका लागि यो कार्यविधि ल्याइएको हो,' थापाले नागरिकसँग भने। स्वास्थ्य अधिकारीले सुविधा थप गरेसँगै अनेक बहाना गरेर दिउँसै सरकारी अस्पतालबाट भाग्ने चिकित्सकको प्रवृत्ति रोक्न सहज हुने विश्वास लिएका छन्।

सरकारको यो निर्णय लागू हुँदा देशभरका २ हजार ८ सय स्वास्थ्यचौकीसहित ४ हजारभन्दा बढी स्वास्थ्य संस्थामा २ बजेको नियमित र ५ बजेसम्म अतिरिक्त सेवा स्वरुपमा सेवा प्रवाह हुनेछ।

ठूला सरकारी अस्पतालमा नियमित निजीमा भन्दा न्यून शुल्कमा विशेषज्ञ चिकित्सकको सेवा पाउने अवसर बढ्नेछ। अहिले दिउँसै स्वास्थ्य संस्था बन्द हुँदा बिरामी मर्कामा पर्ने र वरिष्ठ चिकित्सक खोज्न निजी अस्पताल तथा क्लिनिक धाउनुपर्ने बाध्यता छ।

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ४७ मा ऐनको दफा ५२ र निजामती सेवा ऐन, २०४९ को दफा ४१ एवं सोही ऐनको नियमावलीको नियम ५५मा को व्यवस्था अनुसार १० देखि ५ बजेसम्म कार्यलय समय भए पनि स्वास्थ्य सेवा ९ बजेदेखि नै सञ्चालन गर्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको उल्लेख छ।

अतिरिक्त सेवाबापतको सुविधा कार्यालयसमय बाहेकमा बोलाएर आउने चिकित्सक प्रत्येक अनकल ड्युटीलाई आधा दिनबराबरको अतिरिक्त सुविधा दिने र कुल रकम कुल तलबको ५० प्रतिशतभन्दा बढी नहुने गरी भत्ता दिन प्रस्ताव गरिएको छ।

कार्यविधिअनुसार नियमित सेवा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको हुने र ३ देखि ५ बजेसम्म  विस्तारित स्वास्थ्य सेवा वा अतिरिक्त समय गणना गरिनेछ। तीबाहेक राति वा तोकिएको बाहेकमा सेवा दिँदा पनि भत्ता दिइनेछ।

तोकिएको समयमा कुन समयमा के काम गर्ने भन्ने पनि कार्यविधिमा औँल्याइएको छ। स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्यचौकी एवं अन्तरंग विभाग सञ्चालन भएका प्राथमिक स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा १० देखि ५ बजेसम्म सञ्चालनमा ल्याउनुपर्नेछ। 'बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्यचौकी एवं अन्तरंग विभाग सञ्चालन भएका पिएचसीमा पनि पूरै समय खुल्नुपर्छ,' लामिछानेले भने, 'अतिरिक्त समय काम गर्दा अतिरिक्त सेवा हुन्छ।'

निजी प्राक्टिसमा कडाइ

सरकारले कार्यविधिमार्फत् नै पूर्वस्वीकृतिबिना अस्पताल खोल्न, अस्पतालमा काम गर्नसमेत नपाइने व्यवस्था छ। यसअघि स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९ मा यसतो व्यवस्था छ। सो दफाको उपदफा (१) मा कर्मचारीले नेपाल सरकारको पूर्वस्वीकृति नलिई कुनै पनि अस्पतालमा काम गर्न नपाइने व्यवस्था गरिएको लामिछानेले जानकारी दिए। मन्त्री थापाले दुई वर्षदेखि स्वास्थ्य मन्त्रालयले कुनै स्वीकृति नदिए पनि काम गरिरहेको पाइएकाले अब कडाइ गर्ने बताए।

'अब पुराना अनुमति रद्द हुन्छ र नयाँ अनुमति लिनुपर्छ,' उनले भने, 'अनुमति लिँदा पनि १०–५ को अनुमति दिइन्न र अनुमति लिएकालाई काम लगाउने निजी अस्पतालमाथि समेत कारबाही हुन्छ,' मन्त्री थापाले भने।

कार्यविधिअनुसार कार्यालय समयबाहिरको समयमा आफू कार्यरत स्वास्थ्य संस्थाको काममा बाधा नपुग्ने गरी निजी 'प्राक्टिस' गर्न इच्छुक चिकित्सक तथा स्वास्थ्यकर्मीले २०७३ फागुनभित्र नेपाल सरकारको स्वीकृति लिन स्वास्थ्य मन्त्रालयमा निवेदन दिई अनुमति लिइसक्नुपर्ने व्यवस्थासमेत गरेको छ।

मन्त्रालयले स्वास्थ्य संस्थामा काम गर्दा समयसँगै नाम, अनिवार्य रुपमा पोसाक र एप्रोन लगाउनुपर्ने र बिरामी एवं कुरुवासँग शिष्ट व्यवहार गर्नुपर्नेछ। त्यसैगरी स्वास्थ्य संस्थाले पनि ओपिडी टिकट काउन्टरअगाडि सबैले देख्ने गरी ओपिडीमा रहने डाक्टरको नामसमेत टाँस र टिकटमा डिजिटल क्यु मेनेजमेन्ट सिस्टम लागू गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। त्यसैगरी, अस्पताल परिसर, ट्वाइलेट, खानेपानीको धारासमेत सरसफाइ व्यवस्था मिलाउनुपर्ने व्यवस्था कार्यविधिमै तोकिएको छ।

प्रकाशित: ७ माघ २०७३ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App