८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीमाथि गोली हान्नेलाई सार्वजनिक मुद्दा !

काठमाडौं- प्रहरीले आफ्नै अधिकारीमाथि गोली प्रहार गर्ने र चोरी घटनाका एक आरोपितलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ। महानगरीय अपराध महाशाखाले भदौ २३ गते मातातीर्थमा प्रहरीलाई लक्षित गरी भएको गोली प्रहार घटनाका आरोपित कुमार भनिने निङ्मा लामालाई माघ १ यता दुईपटक गरी सात दिन म्याद लिएको हो। प्रहरीले अदालतमा बुझाएको प्रतिवेदनमा लामाले प्रहरीलाई गालीगलौज गरेको र हातपात गर्न खोजेको उल्लेख छ।

महाशाखाका एसपी प्रकाशजंग कार्कीले घटना अनुसन्धान र प्रमाणका लागि पक्राउ आरोपितलाई न्यायिक हिरासतमा राख्न केही सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद लिएको बताए। उनका अनुसार निङ्माको घटनामा संलग्नता रहेको प्रमाण जुटाउन तत्कालका लागि हिरासतमा राख्न केही सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद लिनुपरेको हो। प्रहरीले घटनामा संलग्न आरोपितलाई हिरासतमा राख्न केही घटनामा सुरुमा केही सार्वजनिक अपराधमा म्याद लिने गरेको छ।

'घटनामा संलग्नता रहेको सूचना मात्र थियो, पुष्टि हुने आधार थिएन, न्यायिक हिरासतका लागि म्याद लिएका हौं,' एसपी कार्कीले भने। उनका अनुसार निङ्मा उक्त घटनाका गाडी चालक हुन्। निङ्माले नै चोरीका लागि हाल फरार अन्य दुईलाई फोन गरी ललितपुर बज्रबाराही बोलाएका थिए।

महाशाखाले दिएको जानकारीअनुसार भदौ २३ गते राति ललितपुर बज्रबाराहीमा रहेको श्री सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी सेफ तथा अन्य कागतपत्रसहित चोरी गरी फरार हुनेमा निङ्मा संलग्न थिए। प्रहरीले मातातीर्थमा  ना१ज ३९४८ को टाटा सुमो गाडी जाँच गर्न खोज्दा गाडीमा रहेका व्यक्तिले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेका थिए।

प्रहरीले जबाफी कारबाही गरेपछि समूहमा रहेका चार जना जंगलमा भागेका थिए। त्यसयता काठमाडौं प्रहरी, महाशाखा तथा ललितपुर प्रहरीले उनीहरूको खोजी तीव्र बनाएको थियो।

महाशाखाले बुधबार उनकै सूचनाका आधारमा घटनामा संलग्न उनका सहोदर भाइ पेमा लामालाई पक्राउ गरी चापागाउँ प्रहरीको जिम्मा लगाएको छ। निङ्मालाई भने महानगरीय प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएको छ।

प्रहरी अनुसन्धानमा 'घटना भएको दिन हाल पक्राउमा परेका कुमार भनिने निङ्मा लामा र आकाश भनिने पेमा लामाले चोरी गर्ने मनसायले हाल फरार रहेका दुईजनालाई फोन गरी ललितपुरस्थित सन्तानेश्वर मन्दिर नजिक गई सेफसहितका कागजपत्रसमेत चोरी गरी सेफ टाटा सुमोमा राखी ललितपुर सातदोबाटो हँुदै मातातीर्थतर्फ गएको' उल्लेख छ।

महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी श्याम राईले महाशाखाले घटना अनुसन्धानका लागि पेमालाई पठाएको जानकारी दिए। उनले बिहीबार पेमाविरुद्ध चोरीडाँका मुद्दामा अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतले पाँच दिनको म्याद दिएको बताए।

'महाशाखाले घटनामा संलग्न एकजनालाई पठाएको हो, अर्का एकजनाबाट पक्राउ पर्न बाँकी थप आरोपित र प्रमाण जुटाउने काम भइरहेको छ, अनुसन्धान सकिएपछि यतै पठाउँछ,' राईले भने। निङ्मालाई अनुसन्धानका लागि अदालतबाट लिएको म्याद शुक्रबार सकिँदैछ।

प्रहरीले मातातीर्थ चिहानडाँडामा भएको गोलीकाण्डपछि बरामद गरेको सेफ र गाडी।

घटना यस्तो थियो

प्रहरीका अनुसार चार जनाको समूह एकाबिहानै मातातीर्थबाट चितलाङ हुँदै मकवानपुर जाँदै थियो। निकै पातलो सवारी आवागमन रहने बाटोमा अचानक टाटासुमो जिप हुइँकिएर आएको देखेपछि मातातीर्थ प्रहरी एकाइका कमान्डर प्रहरी सहायक निरीक्षक देउबहादुर चन्दको टोली चनाखो भयो।

असई चन्दसहितको टोली निकै पछ्याएपछि अर्को बाटो नजिक गाडी रोकिएको भेटियो। मातातीर्थ, च्यानडाँडा जंगलनजिक  ना१ज ३९४८ नम्बरको जिप रोकिएको थियो। प्रहरीटोली नजिक गएर सोध्दा चारमध्ये एक जनाले बिरामी लिन आएको बताए। प्रहरीलाई उनीहरूको गतिविधि शंकास्पद लागिरहेकै थियो। गाडीमा के छ भनी हेर्न खोज्दा चारै जना ढोका खोलेर भाग्न थाले।

'भाग्न थालेपछि प्रहरीले रोक्न खोज्यो, उनीहरू चेतावनी दिँदासमेत रोकिएनन्, एक जनाले अत्याधुनिक पेस्तोल निकाले,' एसपी प्रद्युम्न कार्कीले भनेका थिए, 'उताबाट दुई राउन्ड फायर भएपछि हामीले पनि दुई राउन्ड फायर गर्‍यौं, त्यसपछि जंगलतिर भागेका उनीहरू पक्राउ  परेका छैनन्।'

घटनास्थलमा सेतो रङको टाटासुमो, मकवानपुर, फाखेल–५ स्थायी ठेगाना भएका हर्कबहादुर तामाङका नाममा जारी भएको सवारीचालक अनुमतिपत्रको प्रतिलिपि र रामेछाप, सुकाजोर–६ की गंगा तामाङको नागरिकता प्रतिलिपि फेला परेको थियो। प्रहरीले गाडीबाट गह्रांै सेफ पनि बरामद गरेको थियो।

पछि उक्त सेफ चापागाउँ वृत्तअन्तर्गत बज्रबाराही नजिक रहेको एउटा सहकारी चोरी भएको खुलेको थियो। सहकारीका कर्मचारीले बोकेको चाबी उक्त सेफमा ठ्याक्कै मिल्यो। तर जब सय केजी वजनको सेफ खुल्यो, प्रहरी अचम्मित भए। त्यहाँ सात सय रुपैयाँ र केही कागजपत्र मात्र थिए। उक्त सेफ बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको थियो। काठमाडौं प्रहरीले मुचुल्कासहित घटना ललितपुर प्रहरीलाई बुझाएको थियो। प्रहरीका अनुसार चोर समूहले अत्याधुनिक हतियार र आधुनिक सवारीसाधन प्रयोग गरेको थियो।

प्रहरीले काठमाडौं–सर्लाही चल्ने उक्त गाडीधनी अनिता लामालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि उनीबाट चालकका विषयमा थोरै जानकारीबाहेक केही खुल्न सकेको थिएन। चोर समूहले साताअघि बल्खुस्थित मामा ग्यारेजमा बनाउन छाडिएको गाडी प्रयोग गरेको पाइएको छ। उनीहरूले बुधबार राति गुराँस सुमो सेवाबाट टिकट काटेर गाडी भाडामा लिएका थिए।

प्रकाशित: ७ माघ २०७३ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App