८ वैशाख २०८१ शनिबार
खेल

जोकोभिच र राडवान्स्का स्तब्ध

मेलबर्न- नोभाक जोकोभिचले करियरको सबैभन्दा स्तब्धतापूर्ण नतिजा सामना गर्ने क्रममा बिहीबार अस्ट्रेलियन ओपनको दोस्रो चरणमा १ सय १७ औं वरियताका उज्बेक खेलाडी डेनिस इस्टोमिनसँग पराजित भएका छन्।

मेलबर्न पार्कमा कीर्तिमानी सातौं उपाधि जित्ने जोकोभिचको लक्ष्य इस्टोमिनले पाँच सेटसम्म संघर्ष गर्दै ७–६ (१०/८), ५–७, २–६, ७–६ (७/५), ६–४ को नतिजामा अन्त्य गरे।

महिलातर्फ सेरेना विलियम्सले लुसी साफारोभालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान सुरक्षित गरेको दिन तेस्रो वरियताकी एग्निस्का राड्वान्स्काले जोकोभिचजस्तै स्तब्धतापूर्ण नतिजा सामना गरिन्। उनलाई क्रोएसियाकी भेट्रान मिर्जना लुसिक बारोनीले ६–३, ६–२ को सोझो सेटमा पराजित गरेकी थिइन्।

एक दशकभन्दा लामो समयदेखि जोकोभिचले अस्ट्रेलियन ओपनबाट यति चाँडै बाहिरिनु परेको थिएन। २००८ को विम्बल्डनपछि उनी कुनै पनि ग्रान्ड स्लामको दोस्रो चरणबाटै बाहिरिएको यो पहिलो पटक हो। पछिल्ला सात वर्षमा जोकोभिचले विश्व वरियताको शीर्ष १ सयभन्दा तलको खेलाडीसँग पराजित भएको यो दोस्रो पटक हो। यसअघि उनी रियो ओलम्पिकमा १ सय ४५ औं वरियताका हुँवा मार्टिन डेल पोर्टोसँग पराजित भएका थिए। तर बिहीबारको हारपछि ६ पटकका पूर्व विजेताको जनवरी २९ मा हुने फाइनल पुग्ने सम्भावना समाप्त भएको छ। गतवर्ष फ्रेन्च ओपनमा करियरको १२ औं मुख्य उपाधि जितेका जोकोभिचको पराजयले जारी प्रतियोगिताको उपाधि दौड थप खुला बनाएको छ। साथमा विश्व वरियताक्रममा उनले कब्जा जमाउँदै आएको दोस्रो स्थान पनि धर्मराउने छ।

'यो खेल हो। यहाँ जे पनि सम्भव हुन्छ। आफू कोर्टमा राम्ररी जम्न नसक्दा, लय समाउन नसक्दा र विपक्षीले बललाई राम्ररी जान्दा यस्तो नतिजा स्विकार्नुपर्छ,' हारपछि निराश जोकोभिचले भने।

जोकोभिचका लागि करियरकै सम्भवतः अत्यन्तै निराशाजनक दिन इस्टोमिनका लागि भने उत्साहजनक थियो। 'आज मैले निकै राम्रो खेलेको थिएँ। नोभाकका लागि मलाई पनि दुःख लागेको छ। तर आज आफ्नै प्रदर्शन र नतिजाबाट म आफैं आश्चर्यचकित भएको छु,' आमाको प्रशिक्षणमा खेलिरहेका इस्टोमिनले भने।

इस्टोमिनले यसअघि ११ पटक मेलबर्न पार्कको भ्रमण गरे पनि यात्रा तेस्रो चरणभन्दा माथि लम्बाउन सकेका थिएनन्।

इस्टोमिनको जितले विश्व वरियताक्रमको तेस्रो स्थानमा रहेका क्यानेडियन खेलाडी मिलोस राओनिकलाई फाइदा पुग्न सक्छ। दुवैले जित्दै गएको भए सेमिफाइनलमा उनको भेट जोकोभिचसँग हुन सक्थ्यो।

बिहीबार ज्वरो आउँदाआउँदै पनि राओनिकले लक्जेम्बर्गका जाइल्स मुलरलाई ६–३, ६–४, ७–६ (७/४) को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान पक्का गरेका थिए। तेस्रो चरणमा उनले फ्रान्सका जाइल्स सिमोनसँग प्रतिस्पर्धा गर्नेछन्। २५ औं वरियताप्राप्त सिमोन्सले ब्राजिलका रोजेरियो डुट्रा सिल्भालाई ६–४, ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका थिए।

क्रोएसियाका इभो कार्लोभिचले होरासियो जेबालोसमाथि लगातार जितको कीर्तिमानी यात्रा ८४ औं खेलसम्म लम्ब्याएको दुई दिनपछि अस्ट्रेलियाका एन्ड्रयु ह्विटिङगनलाई ६–४, ६–४, ६–४ को सोझो सेटमा हराउँदै तेस्रो चरण प्रवेश गरे। ६ फिट ११ इन्च अग्ला विश्व वरियताक्रमको २० औं स्थानमा रहेका कार्लोभिचले तेस्रो चरणमा बेल्जियमका डेविड गोफिनसँग खेल्नेछन्। ११ औं वरियताका गोफिनले चेक गणतन्त्रका राडेक स्टेपानेकमाथि ६–४, ६–०, ६–३ को जित हासिल गरेका थिए।

यसै महिना सिडनी ओपनको उपाधि जितेका ग्रिजोर डिमित्रोभले दक्षिण कोरियाका चुङ हेई ओनलाई चार सेटसम्म संघर्ष गर्दै हराएर फ्रान्सका रिचार्ड ग्यास्क्वेटविरुद्धको तेस्रो चरण भिडन्त पक्का गरे। ग्यास्क्वेटले अर्जेन्टिनाका कार्लोस बेर्लकलाई सोझो सेटमा पराजित गर्दै तेस्रो चरण प्रवेश गरेका थिए।

३४ वर्षे लुसी बारोनीविरुद्धको खेलमा राडवान्स्कालाई मुख्य दाबेदारका रुपमा लिइएको थियो। तर कडा सटका लागि माहिर राडवान्स्का त्यही विशेषतामा चुक्दा २००९ यता पहिलो पटक कुनै पनि ग्रान्ड स्लामबाट यति चाँडै बाहिरिइन्।

बेलायतकी योहाना कोन्टाले उच्च फर्मलाई निरन्तरता दिने क्रममा जापानकी नाओमी ओसाकामाथि ६–४, ६–२ को नतिजा निकाल्दै तेस्रो चरणमा पूर्व विश्व नम्बर एक क्यारोलिन वोज्नियाकीविरुद्धको भिडन्त पक्का गरिन्। १७ औं वरियताकी डेनिस स्टार वोज्नियाकीले क्रोएसियाकी डोना भेकिकलाई सोझो सेटमा हराउँदै तेस्रो चरणको टिकट काटेकी थिइन्।

युएस ओपनकी उपविजेता पाँचौं वरियताकी चेक खेलाडी क्यारोलिना प्लिसकोभाले रुसकी अना ब्लिन्कोभामाथि ६–०, ६–२ को सहज नतिजा निकाल्दै यो वर्षको अपराजित यात्रालाई निरन्तरता दिइन्। अस्ट्रेलियन ओपनको महिलातर्फ दोस्रो चरणका अन्य खेलमा बिहीबार छैटौं वरियताकी स्लोभाक खेलाडी डोमिनिका सिबुल्कोभा, रुसकी १४ औं वरियताप्राप्त इलिना भेस्निना, चेक गणतन्त्रकी बार्बोरा स्ट्रिकोभा, फ्रान्सकी क्यारोलिन गार्सियालगायत शीर्ष खेलाडीले जित हासिल गर्दै अघिल्लो चरणको यात्रा तय गरे।   

प्रकाशित: ७ माघ २०७३ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App