७ वैशाख २०८१ शुक्रबार
खेल

कर्णको ह्याट्रिकमा झापाको सहज जित

पोखरा- कर्ण सुब्बाको ह्याट्रिकमा झापा–११ ले पाहुना टोली एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)माथि सहज जित निकाल्दै आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीबार झापा–११ ले एएनएमाथि ४–१ ले विजयी भएको हो।

सुरुदेखि नै एएनएमाथि हाबी भएको झापा–११ लाई कर्णले २४ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। पुजन उपरकोटीको लामो पासमा पेनाल्टी बक्सबाट हेड गर्दै कर्णले गोल गरेका थिए। यसको ६ मिनेटपछि कर्णले नै अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए। रजिन धिमालको पासमा कर्णले एएनएका तीन रक्षकलाई छक्काएर गोल गरेका थिए।

२–० ले एएनएलाई पछि पारेको झापाले ७४ औं मिनेटमा बुद्ध चेम्जोङले कर्णको पासमा पेनाल्टी बक्सबाट गोल गरेर अग्रता अझै बढाए। ३–० ले पछि परेको एएनएका शिशिर विश्वकर्माले गोल गरेर अन्तर घटाए। ७९ औं मिनेटमा प्रलय राजभण्डारीको साटो मैदान प्रवेश गरेका शिशिरले झापाका पिटर सेगुनलाई छक्याउँदै खेल सकिन ५ मिनेट बाँकी छँदा गोल गरेका थिए।

खेलको अन्तिम मिनेटमा कर्णले नै व्यक्तिगत तेस्रो तथा झापाका लागि चौथो गोल गरेर जित निश्चित पारेका थिए। कर्ण नै बिहीबारको खेलमा म्यान अफ दि म्याच बने। झापा–११ अब अन्तिम चारमा पुग्नका लागि विभागीय टोली आर्मीसँग खेल्नेछ। आर्मी गतवर्षको उपविजेता हो।

झापा–११ को यसपल्ट समेत आहा–रारामा चौथो सहभागिता हो। अघिल्लो संस्करणमा झापा–११ सेमिफाइनलमा लक्ष्मीहुन्डाई मनाङमर्स्याङदीसँग ४–० को अन्तरमा पराजित भएको थियो। १३ औं संस्करणको क्वार्टरफाइनलमा थ्रीस्टार क्लबसँग पराजित भएको थियो।

एएनएको आहा–रारामा पहिलो सहभागिता हो। एएनएका अनुसार उनीहरूको टोलीमा अमेरिकाका विभिन्न ६ राज्यमा बस्ने नेपाली युवा सम्मिलित छन्। कलेजमा अध्ययनरतदेखि क्लबमा खेलेका र व्यावसायिक फुटबलर समेत एएनएको टोलीमा छन्। कप्तान प्रलय राजभण्डारी अमेरिका जानुअघि थ्रीस्टारबाट खेलेका थिए। ६० जना खेलाडीमध्ये छनोट गरी अमेरिकी टोली पोखरामा खेल्न आएको थियो। टोलीमा २ जना मात्र विदेशी खेलाडी थिए।

बिहीबार दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेर फालेका थिए। झापा–११ का रञ्जित श्रेष्ठ खेलको १४ मिनेटमा वन–भर्सेज–वनमा गोल गर्न चुके। १७ औं मिनेटमा बुद्धको सशक्त प्रहार एएनएका गोलरक्षक एलन न्यौपानेले कठिनाइपूर्वक जोगाएका थिए। २९ औं मिनेटमा विशाल राईको प्रहार एएनएका प्याटि्रक सिंहले गोललाइनबाट क्लियर गरेका थिए। ६२ औं मिनेटमा रवि थापामगरको पासमा कर्णको प्रहार एएनएका गोलरक्षक एलनले पञ्च गर्दै बाहिर पठाए।

झापा–११ का प्रशिक्षक सञ्जय राईले पाएका केही अवसर गुमाउँदा अन्तर बढाउन नसकेको बताए। उनले मिडफिल्डर योगेश गुुरुङलाई अर्काे खेलमा मैदानमा उतार्ने बताए। 'मिडफिल्ड केही कमजोर भयो। पाएका अवसर गुमाउँदा अन्तर बढाउन सकेनौं,' उनले भने।

एएनएका रोशन देवकोटाको पासमा ५८ औं मिनेटमा सौरन राउतले गरेको प्रहार झापा–११ का गोलरक्षक किशोर गिरीले गोल हुन दिएनन्। एएनएका प्रशिक्षक सुरज थापाले टिम सेट भएर खेलेको नै पहिलो पटक भएकाले केही समस्या भएको बताए।

'हामीले ७० प्रतिशत मात्र खेल्न सक्यौं। एक त सेट नभएको टिम त्यसमाथि नयाँ मैदानमा खेल्दा केही कमजोरी भइहाल्छ,' थापाले भने, 'खेलाडी युवा र अनुभवी नभएकाले पनि दबाब परेको हो। मेहनत गर्दागर्दै पनि पराजित भयौं।' थापाले संयोग मिलेमा आगामी संस्करणमा पनि प्रतियोगितामा खेल्न आउने बताए।

अमेरिकामा बस्ने नेपालीको यो टोलीको उद्देश्य नेपाल आउनु, खेल्नु र जित्नुमात्र नभएर विदेशमा बस्ने नेपाली र स्वदेशबीच समन्वय गर्न सहभागिता जनाएको एएनएका अध्यक्ष मेदिनी अधिकारीले बताए। 'हुन त हामी अमेरिकामा बस्छौं। तर अहिलेको सहभागिता हाम्रो देशप्रतिको मायाले हो,' अधिकारीले भने, 'अमेरिकामा बसे पनि हाम्रो मन नेपालमै अडिएको छ। ट्रफी जित्नभन्दा पनि त्यही भावना साट्न पोखरा आएका हौं।' शुक्रबार नेपाल पुलिस क्लब र राजधानीको संकटा क्लबबीच खेल हुनेछ।

दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाउनेछन्। यो दौड सैनिक मञ्चबाट सुरु भएर भद्रकाली हुँदै थापाथली, माइतीघर, भद्रकाली (सेना मुख्यालय र नेपाल टेलिकमबीचको बाटो) हुँदै मुख्यालय भित्रको बाटोबाट महानगरपालिकाको मूलद्वार हुँदै सहिदगेट सैनिक मञ्चको पश्चिम द्वारमा पुगेर सकिनेछ।

प्रकाशित: ७ माघ २०७३ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App