coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दर्ता नगरी सहकारीको नाममा करोडौंको कारोबार

बाजुरा- अवैध सहकारी संस्थाको नाममा लाखौंको कारोवार सञ्चालन गरेको रहस्य खुलासा भएको छ। मार्तडी स्थित केही व्यापारी र प्रतिष्ठीत व्यक्तिहरु मिलेर सहकारीका नाममा लाखौंको रकम संकलन गर्ने गरेको रहस्य बाहिर आएको हो।

                सहकारी संस्था दर्ता नगरी कुनै कारोबार गर्न नमिल्ने प्रावधान भएपनि बिगत १० महिनादेखि लाखौं रकम संकलन गर्ने गरेको शेयर सदस्यले बताएका छन्। सुन्दर बडिमालिका बहुदेश्यीय र बडिमालिका बहुदेश्यीय सहकारीका नाममा रकम संकलन गरिएको पाईएको छ। यी दुबै नामका सहकारी सहकारी डिभिजन कार्यालयमा दर्ता नै छैनन्।

बडिमालिका बहुदेश्यीय सहकारी संस्था २०३१ सालमा दर्ता भएको देखिएपनि खारेज भईसकेकोले ती नभएको डिभिजन सहकारी कार्यालय डोटीका प्रमुख गोविन्द्र प्रसाद पाण्डेले बताए। दर्ता नगरी सहकारीले पास बुक र छाप सहीत कारोबार गरिरहेको छ । दुबै सहकारीका नाममा दैनिक बचत गर्ने गरिएको छ।

स्रोतका अनुसार करिब २ सय बढी शेयर सदस्यले दैनिक बचत गरेको देखिन्छ। दुई वटै सहकारीका नाममा दैनिक १ देखि ३ लाख रुपैयाँ नियमित बचत गर्ने गरिएको छ।

बचत कार्य २०७२ चैत्र १ गतेबाट भएको खुल्नमा आएको छ । १० महिनादेखि अवैध रुपमा रकम संकलन गर्दै आएको समूहले यही माघ ३ गते सहकारी दर्ता गरेको छ। त्यो पनि फरक नाममा । बहुदेश्यीय सहकारी दर्ता गर्न प्रावधान नै नभएपछि उनीहरुले सुन्दर बडिमालिका उपभोक्ता सहकारी संस्थाका नाममा दर्ता गरेका छन्।

                संकलन भएको रकम पनि सहकारी संस्थाका अध्यक्ष पदम बडुवाल र कोषाध्यक्ष अमृता सिंहका नाममा जम्मा गर्ने गरिएको पाईएको छ। हाल ३ करोड बढी रकम संकलन भएको बुझ्नमा आएको छ। तर सहकारी संस्थाका प्रतिनिधिले भने त्यस बारे जानकारी दिन मानेनन ।

                 सहकारी जिल्लामा १ सय ७० बढी छन्। सहकारी अवैध रहेको पनि जिल्लामा पुस २८ देखि माघ २३ गतेसम्म चलेको सहकारी शिविरबाट थाह भएको हो।

सञ्चालक समिति अध्यक्ष पदम बडुवालले हिसाब किताब हुबहु छ, जतिबेला पनि हेर्न सकिने बताए। उनले राम्रो काम गर्न खोज्दा फसाउन खोजेको आरोप लगाए।

तर डिभिजन सहकारी कार्यालय प्रमुख गोविन्द्र पोखरेलले भने यो गलत कार्य भएकोले सम्बन्धीत निकायले कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताए। दर्ता नभएको सहकारीलाई नियमन र अनुगमन गर्ने काम डिभिजन सहकारीको नहुने भएकोले त्यसमा स्थानीय प्रशासन लगायतका निकायले अनुसन्धान सुरु गर्नु पर्ने उनले थपे।

सहकारीमा तत्कालिन वाणिज्य बैंक बाजुरामा कार्यरत जितजंग सिंह उपाध्यक्ष, शिक्षक समेत रहेका विपिन विष्ट सचिव रहेका छन्। दर्ता प्रक्रियाका लागि शेयर पुजी संकलन गर्न पाईने भएपनि कारोकार नै सञ्चालन गर्नु गलत भएको जिल्ला सहकारी संघका अध्यक्ष नीरबहादुर शाहीले बताए।

यता प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने प्रक्रिया बुझेर मात्र बोल्ने बताएका छन्।

प्रकाशित: ७ माघ २०७३ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App