८ वैशाख २०८१ शनिबार
राजनीति

सम्धी महामन्त्री, सम्धिनी सांसद

काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नवलपरासी, रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन्। यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई संविधानसभा सदस्य (हाल सांसद) बनाएका अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्य सम्पादन समितिको बैठकमार्फत पार्टी महामन्त्री नियुक्त गरेका हुन। अध्यक्ष ठाकुरकी छोरीको विवाह केही वर्षपहिले झाका छोरासँग भएको थियो।

बैठकको निर्णयअनुसार पछि संशोधन गर्ने प्रावधान राखेर महामन्त्री र सहमहामन्त्रीहरु चयन गरिएको प्रवक्ता विमल श्रीवास्तवले बताए। 'पछि विधान संशोधन गर्ने भन्ने प्रावधान राखेर नयाँ महामन्त्री र सहमहामन्त्री चयन गरेका हौं,' प्रवक्ता श्रीवास्तवले नागरिकसँग भने, 'त्यसै क्रममा उहाँहरुलाई कार्यसम्पादन समिति बैठकले जिम्मेवारी दिएको हो।' उनका अनुसार पार्टीमा आकर्षण बढ्दै गएका कारण नेताहरुलाई थप जिम्मेवारी दिइएको हो, त्यो क्रम अझै बढ्नेछ।

झासँगै महामन्त्रीमा विजय सिंह, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा सुरेन्द्र झा, समिम मियाँ अन्सारी  र रामप्रवेश बैठा थपिएका छन्। तमलोपामा अब सात महामन्त्री र ६ सहमहामन्त्री भएका छन्। यसअघि महामन्त्रीमा जितेन्द्र सोनाल, बृजेशकुमार गुप्ता र जंगीलाल तथा जयप्रकाश ठाकुर, पशुपतिदयाल मिश्र र राकेश मिश्र सहमहामन्त्री कार्यरत छन्।

असारमा सम्पन्न नवलपरासी महाधिवेशनले दुई निर्वाचित र एक मनोनीत भन्दै महामन्त्री र सहमहामन्त्री चयन गर्ने निर्देशन दिएको थियो। तर, त्यसलाई उल्लंघन गरे पनि अध्यक्ष ठाकुरले विधानको २६ (३) अनुसार उक्त नियुक्ति गरिएको दाबी गरेका छन्।

यसअघि २ गते अध्यक्ष ठाकुरले २४ जनाको कार्य समिति सम्पादन (सचिवालय) गठन गरिएको घोषणा गरेका थिए। जनसंख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था नभएको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने तमलोपाको केन्द्रीय कार्य सम्पादन समितिमा केन्द्रीय समितिमा जस्तै तराई–मधेसका उच्च जात मानिएका ब्राह्मण र भूमिहार समुदायको वर्चश्व रहन पुगेको छ।

कार्य सम्पादन समितिमा चन्दा चौधरी र पुष्पा ठाकुर मात्रै महिला छन् भने २–२ जना थारु र मुस्लिम समुदायबाट परेका छन। थारु समुदायवाट चन्दा र शंकर चौधरी छन् भने मुस्लिमबाट अकवल अहमद शाह र समिम मियाँ अन्सारी परेका छन। समितिमा लगभग ७० प्रतिशत ब्राह्मण, भूमिहारलगायतका 'उच्च' जात रहेको तथ्यांकले देखाएको छ।

प्रकाशित: ८ माघ २०७३ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App