७ वैशाख २०८१ शुक्रबार
खेल

शीर्ष खेलाडीहरुको जित

मेलबर्न- एन्डी मरेले ६ पटकका च्याम्पियन नोभाक जोकोभिच वाहिरिएको भोलीपल्ट शुक्रबार जायन्ट किलर साम क्वेरीको चुनौती सोझो सेटमा पन्छाउँदै पहिलो पटक अस्ट्रेलियन ओपन जित्ने आश जीवित राखेका छन्।

मेलबर्नमा अपेक्षित नतिजामात्र निस्किएको दिन विश्व पुरुष र महिला दुवैतर्फका शीर्ष खेलाडीले सहज जितका साथ चौथो चरणमा स्थान पक्का गरे। पुरुषतर्फका विश्व नम्बर एक मरेले अघिल्लो दिन दोस्रो वरियताका जोकोभिच १ सय १७ औं वरियताका डेनिस इस्टोमिनसँग पराजित भएको खेल हेरेका थिए। क्वेरीले गतवर्ष विम्बल्डनमा जोकोभिचलाई पनि स्तव्ध पारेका थिए।

तर जोकोभिचसँग मेलबर्नमा पछिल्ला चार फाइनलमा पराजित भएका मरेले भने शुक्रबार त्यस्तो स्तव्धतापूर्ण नतिजा सामना गर्नु परेन। उनले ३१ औं वरियताका अमेरिकी खेलाडी क्वेरीमाथि ६–४, ६–२, ६–४ को सहज नतिजा निकालेका थिए। बेलायती खेलाडी मरेमा दोस्रो चरणमा आन्द्रेई रुब्लेभमाथि विजय हासिल गर्दा दायाँ कुर्कुच्चामा लागेको चोटको शुक्रबारसम्म कुनै असर थिएन।

'कुर्कुच्चा थोरै सुन्निएको छ। तर यसपाली मलाई प्रत्येक खेलमा सुधार महशुष भइरहेको छ। यो चोटले खासै सताएको छैन। प्रत्येक दिन फिटनेसमा सुधार छ र म अहिले राम्रो फर्ममा छु,' मरेले भने।

चौथो चरणमा मरेले जर्मनीका मिस्का जिभेरेभसँग खेल्नेछन्। त्यो खेलको विजेताले भने रोजर फेडेरर वा टोमस बर्डिचमध्ये एकसँग खेल्नुपर्नेछ। जिभेरेभले शुक्रबार ट्युनिसियाका मालेक जाजिरीमाथि ६–१, ४–६, ६–३, ६–० को जित हासिल गरेका थिए।

चौथो वरियताका स्विस खेलाडी स्टान वावरिन्काले सर्वियाका भिक्टर ट्रोइक्चीमाथि ३–६, ६–२, ६–२, ७–६ (९/७) को जित हासिल गर्दै चौथो चरणमा पाइला राखे। उनले अव इटालीका आन्द्रियास सेपीसँग खेल्नेछन्। सेपीले शुक्रबार तेस्रो चरणमा बेल्जियमका स्टिभ डार्सिसलाई चार सेटको भिडन्तमा पराजित गरेका थिए।

यसैगरी पूर्व उपविजेता फ्रान्सका १२ औं वरियताप्राप्त खेलाडी जो विल्पि्र्कड सोंगाले अमेरिकाका ज्याक सोकमाथि विजय हासिल गर्दै बेलायतका डान इभानसविरुद्धको भिडन्त पक्का गरे। इभान्सले शुक्रबार तेस्रो चरणमा बर्नार्ड टोमिकलाई सोझो सेटमा पराजित गरेका थिए।

पुरुषतर्फ शुक्रबारै ढिलोगरी सम्पन्न खेलमा पाँचौं वरियताप्राप्त जापानका केई निशिकोरीले लुकास लाक्कोमाथि सोझो सेटमा विजय हासिल गर्दै चौथो चरणमा स्थान पक्का गरे। २ घन्टा ११ मिनेटको प्रतिस्पर्धामा निशिकोरीले ६–४, ६–४, ६–४ को विजय हासिल गरेका थिए।

निशिकोरीले अब १७ औं वरियता प्राप्त स्विजरल्यान्डका रोजर फेडेररसँगप्रतिस्पर्धा गर्नेछन्। फेडेररले शुक्रबार दशौं वरियाता प्राप्त चेक रिपब्लिकका टोमस बार्डेचलाई सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेका हुन्।

१७ पल्ट ग्रान्डस्लामको उपाधि जितेका फेडेरर गत सिजन चोका कारण ६ महिना कोर्ट बाहिर रहेपछि वरियातामा तल परेका थिए। ९० मिनेट कोर्टमा विताएका फेडेररले ६–२, ६–४, ६–४ को सेटमा विजय हासिल गरेका थिए।

महिलातर्फ शीर्ष वरियताकी केर्बेरले लय समाएको प्रमाण दिने क्रममा चेक गणतन्त्रकी ५८ औं वरियताप्राप्त क्रिस्टिना प्लिस्कोभामाथि ६–०, ६–४ को सोझो सेटमा विजय हासिल गरिन्। यसअघिका दुई वार्मअप प्रतियोगितामा पराजय भोगेकी जर्मन स्टार केर्बेरले अस्ट्रेलियन ओपनमा पनि पहिलो र दोस्रो चरणमा जित हासिल गर्न संघर्ष गर्नुपरेको थियो। तर साबिक विजेताले अमेरिकाकी कोको भान्डेवेघेविरुद्धको अन्तिम १६ भिडन्त पक्का गर्ने क्रममा शुक्रबार प्लिस्कोभाको चुनौती ५५ मिनेटमै समाप्त पारिन्। भान्डेवेघेले क्यानेडियाकी स्टार इयुगेनी बुचार्डलाई ६–४, ३–६, ७–५ को नतिजामा हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेकी थिइन्।

'मैले प्रतियोगितामा भर्खर लय समाउन थालेकी छु। म अर्को उपाधिको प्रतिक्षामा छु,' केर्बेरले भनिन, 'सही समयमा फर्ममा आएकी छु। त्यसैले यसलाई निरन्तरता दिँदै उपाधि रक्षा गर्नु मेरो लक्ष्य हो। आजको प्रदर्शनबाट मलाई त्यसका लागि आत्मविश्वास बढेको छ।'

आठौ वरियताकी रुसी भेट्रान स्येटलाना कुज्नेतसोभाले सर्वियाकी आफूजस्तै अनुभवी जेलेना यान्कोभिचको प्रतियोगितायात्रामा पूर्णविराम लगाउँदै चौथो चरणमा स्थान सुरक्षित गरिन्। यान्कोभिचमाथि ६–४, ५–७, ९–७ को जित हासिल गरेकी कुज्नेतसोभाले आगामी चरणमा आफ्नै देशकी एनास्तासिया पाभ्लुचेन्कोभासँग प्रतिस्पर्धा गर्नेछिन्।  २४ औं वरियताकी पाभ्लुचेन्कोभाले शुक्रबार विश्व वरियताको ११ औं स्थानमा रहेकी युक्रेनी इलिना स्यिटोलिनालाई ७–५, ४–६, ६–३ को नतिजामा हराएकी थिइन्।

यसैगरी अमेरिकी स्टार भेनस विलियम्सले चीनकी डुआन यिङयिङलार्य ६–१, ६–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा जर्मन छनोट खेलाडी मोना बार्थेलविरुद्धको भिडन्त पक्का गरिन्। बार्थेलले अस्ट्रेलियाकी एश्लिघ बार्टीलाई तीन सेटको प्रतिस्पर्धामा पराजित गरेकी थिइन्।

प्रकाशित: ८ माघ २०७३ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App