८ वैशाख २०८१ शनिबार
खेल

नयाँ च्याम्पियन खोज्दै ढोरपाटन

काठमाडौं- उपाधिमा दावेदारी प्रस्तुत गर्दै रिड मोडलले १२औं ब्लु स्काई ढोरपाटन डबल लिग महिला भलिबलको अन्तिम दिन शनिबार साबिक विजेता एपिएफ र न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

अन्तिम दिन दुई मध्ये एक खेल सोझो सेटमा जिते च्याम्पियन बन्ने स्वयम्भुको रिड मोडलले विहान गत वर्षको उपविजेता न्यु डायमन्डसँग खेल्नेछ भने र दिउँसो एपिएफको सामना गर्नेछ। शनिबार रिड मोडलले उदेश्य प्राप्ती गरे ढोरपाटन भलिबलले नयाँ च्याम्पियन पाउनेछ।

एपिएफलाई च्याम्पियन बन्न आफ्नो खेलमात्र जितेर पुग्दैन। एपिएफले रिड मोडललाई सोझो सेट हराएको अवस्थामा रिड मोडल र न्यु डायमन्डबीचको खेल पाँच सेट सम्म पुगेमात्र साबिक विजेताले उपाधि रक्षा गर्न सक्नेछ। अर्को दावेदार न्यु डायमन्ड उपाधि दौडबाट वाहिरिइसकेको छ।

एपिएफ व्यवस्थापक विजय केसी शनिबार रिड मोडलविरुद्व प्रतिष्ठाका लागि खेल्ने बताउँछन। 'उपाधि जित्ने गणितीय सम्भावनामात्र बाँकी छ। हामीलाई आफ्नो खेल जितेरमात्र पुग्दैन, अरुको खेलमा पनि आफू अनुकुल नतिजा आवस्यक छ,' केसीले भने, 'रिड मोडललाई हराउने हाम्रो लक्ष्य हो।'

प्रतियोगिताको पहिलो चरणमा एपिएफले पश्चिमाञ्चल र पुलिसविरुद्ध १/१ सेट गुमाएको थियो। दोस्रो चरणमा एपिएफले डायमन्डविरुद्व पनि एउटा सेट गुमाएको थियो। रिड मोडलले भने एपिएफविरुद्ध पहिलो चरणमा एक सेटमात्र गुमाएको छ।

स्वयम्भुको रिड मोडल शुक्रबार दोहोरो जित हासिल गर्दै प्रतियोगिताको शीर्ष स्थानमा पुगेको थियो। एपिएफसँग समान ३९ अंक भए पनि रिड मोडल हेड टु हेडमा राम्रो नतिजा तथा एक खेल कम खेलेको आधारमा शीर्ष स्थानमा छ। न्यु डायमन्ड ३० अंक सहित तेस्रो स्थानमा छ भने चौथो स्थानको पुलिससँग २७ अंक छ।

रिड मोडलले आयोजक ढोरपाटन स्पोर्टस टे्रनिङ सेन्टर र पश्चिमाञ्चललाई सोझो सेटमा हरायो। ढोरपाटनलाई २५–८, २५–१२, २५–७ ले हराएको रिड मोडलले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको टोलीलाई २५–१४, २५– १२, २५–८ को सेटमा निराश पार्‍यो।

रिड मोडलमा भारतीय खेलाडीको बाहुल्य छ। भारतीय राष्ट्रिय टोलीको जर्सी लगाइसकेकी तीनसहित ७ खेलाडीलाई रिड मोडलले प्रतियोगिताको लागि अनुबन्ध गरेको थियो। त्यसमध्ये तीन खेलाडी माल्दिभ्समा हुने विश्व महिला च्याम्पियनसिपको लागी बन्द प्रशिक्षणका लागि नाम परेका खेलाडी हुन।

शनिबार घर फर्किनुपर्ने भएकाले रिड मोडलको टेालीमा अन्तिम दिन सेटर तेरिनको पूर्ण साथ रहने छैन। १२ बजे विमानस्थल जानुअघि भएका खेलमामात्र उनी कोर्ट उत्रिने बताइएको छ। उनको अनुपस्थितीमा प्रिंयका खेडकरले सेटरको भुमिका निर्वाह गर्नेछिन।

रिड मोडलका प्रशिक्षक खुम गाउँलेले शनिबार ढोरपाटन भलिबलले एक दशक पछि नयाँ च्याम्पियन पाउने दावी गरे। उनले भने, 'हामी च्याम्पियन हुने करिव पक्का छ। टोलीले आत्मविश्वास जारी राखे हामी दुवै खेल सोझो सेटमा जित्नेछौं।' 

शुक्रबारै भएका अन्य खेलमा न्यु डायमन्ड एपिएफसँग २५–१३, २५–२७, २५–१५, २५–२१ ले पराजित भयो भने नेपाल पुलिसले त्रिभुवन आर्मीलाई २५–१८, २५–२२, २५–२० ले हरायो।

प्रकाशित: ८ माघ २०७३ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App