coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मासुमा आत्मनिर्भर हुन बाख्रा स्रोत केन्द्र

संगम घर्तीमगर

बाग्लुङ- जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन रायडाँडा गाविसमा बाख्रा स्रोत तथा नश्ल सुधार केन्द्र स्थापना गरिएको छ। जिल्लामा हुने खसी–बोका मासुको आयातलाई शून्यमा झार्न केन्द्र स्थापना गरिएको पशु प्राविधिक चिरञ्जीवी केसीले बताए। अहिले यहाँका एक सय बाख्रापालकलाई पाँच समूहमा विभाजन गरेर तालिम र आवश्यक सीप सिकाउने काम भइरहेको केसीले बताए। ‘यो कार्यक्रम भर्खर सुरु भएको छ, एक किसानले कम्तीमा १० माउ बाख्रा पाल्नेछन्,’ उनले भने, ‘पछि वृद्धि गर्दै लैजानेछौँ।’

रायडाँडामा एक हजार बाख्राबाट कार्यक्रम सुरु भएको हो। यहाँका किसानले पालेको स्थानीय खरी जातको बाख्रामा क्रस गराएर उत्पादनमा वृद्धि गर्न वयर जातको बोका वितरण गर्ने तयारी रहेको जिल्ला पशु सेवा कार्यालय बाग्लुङ पशु विकास अधिकृत नीलकण्ठ शर्माले बताए।

‘नश्ल सुधारका लागि करिब १५ वटा उन्नत बयर जातका बोका वितरण गर्ने तयारीमा छौँ,’ अधिकृत शर्माले भने।

 अबको पाँच वर्षभित्र कम्तीमा ६ हजार माउ बाख्राको संख्या पुर्‍याउने गरी कार्यक्रम सुरु गरिएको जिल्ला पशु सेवा कार्यालय बाग्लुङका प्रमुख डा. गोपाल गिरीले बताए। ‘बाख्रापालक किसानलाई प्रेरित गर्न स्रोत केन्द्र स्थापना गरेका छौँ,’ डा. गिरीले भने, ‘स्रोत केन्द्रमार्फत अब पाँच वर्षभित्र कम्तीमा ६ हजार माउ बाख्राको संख्या पुर्‍याउने योजना छ।’

यहाँ उत्पादित बोकालाई नश्ल सुधारका लागि अन्य ठाउँका किसानलाई समेत वितरण गर्ने योजना कार्यालयले बनाएको छ। ‘राम्रा किसिमका पाठी र बोकालाई थप उत्पादनका लागि किसानले पाल्नेछन् भने उत्पादन दिन नसक्ने खालकालाई मासुको रुपमा प्रयोग गर्छौं,’ गिरीले भने, ‘यसले गर्दा मासुमा रहेको हाम्रो परनिर्भरता पनि कम हुन्छ।’ किसानलाई बाख्राको खोर सुधारका लागि अनुदान र आवश्यक औषधि समेत वितरण गरिने कार्यालयले जनाएको छ।

उत्पादित खसीबोकाको बजार व्यवस्थापनका लागि संकलन केन्द्र समेत स्थापना गर्ने कार्यालयले तयारी गरेको छ। ‘हामीले संकलन केन्द्र समेत स्थापना गर्ने तयारीमा छौँ,’ डा. गिरीले भने, ‘बिक्री गर्नुपर्ने खसीबोका संकलन केन्द्रमा जम्मा हुन्छ।’ बाहिरबाट जाने व्यापारीले संकलन केन्द्रबाट खसीबोका किन्ने गिरीले बताए। संकलन केन्द्र स्थापनाका लागि यो वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरिएको गिरीको भनाइ छ। ‘संकलन केन्द्रका लागि बजेट विनियोजन भइसकेको छ। स्थानीयसँग छलफल गरेर ठाउँको टुंगो लागेपछि काम सुरु गर्छौं,’ उनले भने।

बाख्राको स्रोत केन्द्रसँगै संकलन केन्द्र समेत स्थापना हुने भएपछि यहाँका बाख्रापालक उत्साहित बनेका छन्। ‘स्रोत केन्द्रसँगै संकलन केन्द्र समेत बनेपछि हामीले उत्पादन गरेको खसीबोकाले सहज रुपमा बजार पाउने आशा छ,’ स्थानीय किसान दलबहादुर थापाले भने, ‘विगतमा जस्तो बजार खोज्दै हिँड्नुनपर्ने भो।’

स्रोत केन्द्र स्थापना भएसँगै किसानले बाख्राको संख्या बढाउन सुुरु गरेको रायडाँडा बाख्रा स्रोत तथा नश्ल सुधार समिति अध्यक्ष घनश्याम आचार्यले बताए। अहिले बाग्लुङमा वार्षिक नौ हजार क्विन्टलभन्दा बढी मासु बाहिरी जिल्लाबाट आयात हुने गरेको छ।   

प्रकाशित: ८ माघ २०७३ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App